coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

निलम्बन फुकुवापछि राबाडा उपलब्ध

पोर्ट एलिजावेथ – दक्षिण अफ्रिकाका कागिसो राबाडालाई दुई टेस्टका लागि गरिएको निलम्बल मंगलबार फुकुवा भएको छ । यससँगै विश्व नम्बर एक बलर राबाडा अस्ट्रेलियाविरुद्धको बाँकी टेस्टका लागि टोलीमा उपलब्ध हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले राबाडालाई अस्ट्रेलियाविरुद्धको तेस्रो र चौथो टेस्टका लागि निलम्बन गरेको थियो । पोर्ट एलिजावेथमा सम्पन्न दोस्रो टेस्टमा राबाडाले खेलभावनाविपरीत कार्य गरेको आरोपमा आइसिसीलाई उनलाई प्रतिबन्ध गरेको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले चार खेलको शृंखलामा १–१ को बराबरी गरेको थियो।

पहिलो इनिङमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथको विकेट लिएपछि राबाडाले उनलाई चाँडो क्रिज छाड्नका लागि दबाब दिएका थिए । त्यसमा राबाडालाई अनुशासनमा ३ ऋणात्मक अंक पाएका थिए भने त्यही आरोपमा उनलाई दुई टेस्टका लािग प्रतिबन्ध लगाइएको थियो।

स्मिथमाथि खेलभावनाविपरीतको कुनै कार्य नगरेको भन्दै २२ वर्षे राबाडा र दक्षिण अफ्रिका क्रिकेट बोर्डले अपिल गरेका थिए । सोमबार केप टाउनमा भएको सुनुवाइले राबाडाको निलम्बन फुकुवा भएको थियो।

‘स्मिथलाई शारीरिक रूपमा अवरोध गरेको भन्ने मुख्य मुद्दा थियो,’ न्यायालयका अधिकृत माइक हेरोनले भने, ‘राबाडाविरुद्ध लगाइएको अरोपमा पुष्टि हुन सकेन । त्यसैले उनी दोषी देखिँदैनन्।’

तेस्रो टेस्ट सुरु हुनु दुई दिनअघि राबाडाको निलम्बन फुकुवा भएको हो । आइसिसीले गरेको कारबाहीविरुद्ध अपिल गरेर सफलता पाउनु दुर्लभ हो । क्रिकेटको सर्वोच्च निकायविरुद्ध कानुनी लडाइँमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो हो । न्यायालयको उक्त निर्णयलाई दक्षिण अफ्रिका क्रिकेटले स्वागत गरेको छ।

यससँगै बिहीबार केप टाउनमा हुने तेस्रो टेस्टका लागि दक्षिण अफ्रिकाको मनोबल बढेको छ । दोस्रो टेस्टमा म्यान अफ दी म्याच भएका राबाडाले ११ विकेट लिएका थिए । स्मिथविरुद्ध नियतवश कुनै कार्य नगरेको भन्दै सफाइ दिइएको थियो । तथापि उनको ऋणात्मक अंक १ र खेल रकमको २५ प्रतिशत रकम जरिवाना गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App