८ वैशाख २०८१ शनिबार
विचार

कांंग्रेसको सकस

निर्वाचन परिणामको आँधीबेहरीपछि संभवतः मूल्यांकन गर्न पर्सिदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी सार्वजनिक भएको छ। प्रदेश र संघीय राजनीतिको नीति निर्माण र कार्यान्वयनमा समेत भूमिकाबिहीन भएको कांग्रेसले यस विषयमा मन्थन गर्नुपर्छ। केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ र वडा तहसम्म विस्तारित विभाजनका रेखालाई कसरी निमिट्यान्न पार्न सकिन्छ भन्ने रणनीति बन्नुपर्ने देखिन्छ। आसन्न बैठकमा प्रस्तुत हुने अजेन्डा सार्वजनिक भएका छैनन्। तर अजेन्डामा मात्र सीमित रहेर बैठक सञ्चालन गर्ने प्रयास भएमा त्योसार्थक हुन सक्दैन। 

यतिखेर कांग्रेसका शुभेच्छुकमात्र होइन, नेपालमा प्रजातन्त्रको भविष्य सुनिश्चित हुनुपर्छ भन्ने सबैमा कांग्रेसका हरेक कदममाथि दृष्टि छ । ५ वर्ष एकछत्र शासनको जिम्मा पाएका वामपन्थीले माक्र्सवाद र लेनिनवादको आदर्शलाई निरन्तरता दिइरहेकाले लोकतन्त्र सदा सन्देहको घेरामा परिरहेको छ। यद्यपि वाम गठबन्धनमा एमालेको प्रभाव र नियन्त्रण रहेसम्म सन्देहले त्यति आकार लिने देखिँदैन। एमाले तीन दशकदेखि लोकतान्त्रिक मूल्य सवल गराउनै क्रियाशील देखिन्छ। उसको नाम जे भए पनि कामले लोकतान्त्रिक अनुशासनभित्र खेलिरहेको स्पष्ट छ। हिजोका दिनमा खासगरी सशस्त्र माओवादी हिंसाको सशक्त विरोध र आलोचना गर्नेमा नेपाली कांग्रेसभन्दा पनि चर्को स्वरमा एमाले अगाडि थियो। एमालेसँग रुष्ट माले र एमालेकै पनि अनेक कार्यकर्ता माओवादी हिंसामा समर्पित भएका थिए। तैपनि एमालेले शान्ति र लोकतन्त्रको बाटो परित्याग गरेन। उसले  विद्यमान पद्धति संरक्षणमै भूमिका खेलिरह्यो।

तर २०७४ को प्रदेश र संघीय निर्वाचनमा नाटकीय निर्णय गर्दै एमाले माओवादीसँग एकतामा आबद्ध भएपछि लोकतान्त्रिक मूल्यलाई कुनरूपमा वरण गर्ने हो भन्ने तय भएको छैन। जनताको बहुदलीय जनवादलाई जुन शब्दमा अथ्र्याइए पनि प्रकारान्तरले त्यो सिद्धान्त लोकतन्त्रका मूल्यप्रति पूर्णरूपमा प्रतिबद्ध र समर्पित छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको प्रारम्भिक चिन्तनसँग मेल खाने गरी स्वतन्त्रता र समाजवादको फ्युजन खोज्ने गरी जनताको बहुदलीय जनवाद परिभाषित छ। मदन भण्डारी यसैकारण नेपाली राजनीतिमा चीरस्मरणीय भएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि एक कालखण्डमा हिंसाको आहालबाट आफूलाई अलग राख्दै लोकतन्त्रका पक्षमा आफू र आफ्ना समर्थकलाई उभ्याएको सन्दर्भ निरन्तर हुनसके उनलाई पनि आयामिक नेताका रूपमा स्मरण गरिनेछ। तर उनीसँग काम गरेको ठूलो पंक्ति अहिले पनि सशस्त्र हिंसाको पदचिह्नमा अग्रसर भइरहेकाले दाहालमा विचलन आउने हो कि भन्ने शंका उठिरहेको छ। जुन सान्दर्भिक छ।

‘चोर्नेको एक पाप, चोरिनेको सय पाप’ भनेजस्तै पराजयका सय शंका जन्म लिँदैछन् । एकले अर्कोलाई चोर साबित गर्ने कसरत उत्तिकै छ।

यसैकारण वाम गठबन्धनले माओवादी धारलाई सवल बनाउनेतिर दिशान्तर ग-यो भने जे पनि हुनसक्ने शंका सबैमाछ। खासगरी नेत्रविक्रम चन्द वाम गठबन्धनको वाम विकल्पमा उदाएका छन्। मोहन वैद्य र केही दिनपहिले माओवादीबाट पृथक केही नेतासमेत चन्दसँग सहकार्य गर्ने सम्भावना छ। माओवादीमा लागेर परिवार गुमाएका, युवा वय सपनाका लागि खर्चेका कतिपय सदस्य वा शुभेच्छुक माओवादी–एमाले एकीकरणका विपक्षमा मत प्रकट गरिरहेका छन्। यो शक्ति गोलबद्ध हुँदै गएउनीहरूको समवेत शक्ति वाम गठबन्धनका लागि चुनौती हुँदेैन भन्न सकिँदेैन। यसैकारण समानधर्मी वामपन्थीहरूको चुनौतीसामना गर्नुभन्दा दुवैलाई मान्य हुने गरी वर्तमान वाम गठबन्धनबाट राजनीतिक र आर्थिक नीतिमा परिवर्तन हुनसक्छ कि भनी प्रश्न गर्नु गैरतार्किक हुने छैन।

यस अवस्थामा सात दशकदेखिको लोकतान्त्रिक अभियन्ता नेपाली कांग्रेस भूमिकाबिहीन हुँदै अझ विभाजित मानसिकताको सिकार हुँदैछ। यो शक्ति यस शताव्दीका लागि निर्णायक अग्निपरीक्षामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। नेपाली कांग्रेसमा मतभेद र ध्रुवीकरणका नयाँ सूत्रहरू विकास भइरहेका देखिन्छ। सबैका मुखमा कांग्रेसमा एकताको कुरा झुण्डिएको छ। कांग्रेसलाई सुदृढीकरण कसरी गर्ने भनी सडकदेखि घरका कोठाचोटा सबैतिर आवाज सुनिन्छ। अनेक कोठे बैठक चलिरहेका छन्। युवाका समूहको सक्रियतापछि अब महाधिवेशन प्रतिनिधिले पनि कांग्रेसलाई सुदृढ बनाउने सूत्र खोज्न लागेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ। ‘चोर्नेको एक पाप, चोरिनेको सय पाप’ भनेजस्तै पराजयका सय शंका जन्म लिँदैछन्। एकले अर्कोलाई चोर सावित गर्ने कसरत उत्तिकै छ। वस्तुनिष्ठ मूल्यांकन गर्ने आदत नेपाली कांग्रेसका सदस्यमा देखिँदैन। 

निर्वाचन परिणामका तीन महिना बितिसक्दा पनि पराजयको कारण संकलन भएको छैन। जबकि परिणाम आएलगत्तै यो हुनुपथ्र्यो। अनि त्यसमाथि समीक्षा गर्दै आत्ममूल्यांकन हुनुपथ्र्यो। राजनीतिशास्त्रका विद्वान्, समीक्षक र स्वतन्त्र पर्यवेक्षकले औल्याएका कांग्रेस पराजयका कारणसँग आफ्ना सूचना तुलना गर्नुपथ्र्यो। प्रतिपक्षले ठह-याएका विजयका आधारको विवेचना हुनुपथ्र्यो। कांग्रेस मुख्यालय देख्दा करोडौँको छ तर त्यसभित्र बसेर सूक्ष्म अध्ययन, विश्लेषण गर्ने प्रचलन भने शून्यप्रायः छ। त्यो गुफामा केन्द्रीय पदाधिकारी बैठकबाहेक कहिल्यै पुग्दैनन्। २०३६ सालदेखि २०३९ सम्म कसैको सानो घरमा स्थापित पार्टी कार्यालयमा बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद नियमित पुग्थे। र, प्राप्त सूचना, समाचार तथा अन्य विषयमा चर्चा गरिरहेका भेटिन्थे।

सात दशकदेखिको लोकतान्त्रिक अभियन्ता नेपाली कांग्रेस भूमिकाविहीन हुँदै अझ विभाजित मानसिकताको सिकार हुँदैछ। यो शक्ति यस शताब्दीका लागि निर्णायक अग्निपरीक्षामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

पीको पार्थिव अवशान २०३९ पछि पनि यो क्रम निरन्तर रह्यो। सिंह, भट्टराई र कोइराला निरन्तर पार्टी कार्यालय पुग्दै पहिले एकान्त र त्यसपछि खुला बहस गर्थे। समस्या, पार्टीको अवस्था, मतभेद सबैमा गहिरो छलफल हुन्थ्यो। तर आजको कांग्रेस नेतृत्वमा त्यो जाँगर देखिँदेैन। सभापति, महामन्त्रीका कोठाका टेबलमा धुलो जमिरहेका भेटिन्छ। सदस्य वा वरिष्ठ नेताहरूको पार्टी कार्यालय औपचारिकतामा सीमित छ। आफ्नाबीच उठेका मतभेदबारे पार्टी कार्यालयपुगेर एकापसमा छलफल गर्ने, देशभरबाट आएका सूचना विश्लेषण गर्ने, पार्टीका सदस्यलाई कार्यालयमै भेट्ने भन्ने त कल्पनामात्र हुनेछ। निजी निवासहरूमा आगन्तुकको लस्कर देख्न बानी परेको नेतृत्व लस्करमै जुट्ने आफन्तका सूचनामा निर्भर हुने गर्छ। आफ्ना समर्थकले गर्ने प्रशंसालाई अन्तिम सत्य मानिरहेकै कारण नेताहरू एकापसमा प्रतिदिन टाढा गइरहेको प्रतीत हुन्छ। नेताहरू जति टाढा हुन्छन् त्यति समूह विस्तार हुँदै विभाजनको शृंखला निर्माण हुनेछ। यो दयनीय अवस्था एक्काइसौं शताब्दीमा लोकतन्त्रका चुनौतीहरू सामना गर्नैपर्ने राजनीतिक दलको नियति हो कि बाध्यता? बुझ्न कठिन भएको छ।

अहिले हुन लागेको कांग्रेस बैठकमा केही विषय बहसका लागि उपयुक्त हुने देखिन्छ। पहिलो कांग्रेसले बेहोरेको पराजयका कारण, दोस्रो कांग्रेसमा विस्तार हुँदै गएको विभाजन मानसिकता र यसले पारिरहेको प्रभाव, तेस्रो पार्टीलाई एकरूपतामा कसरी ल्याउने भन्ने सिद्धान्त र सूत्र, चौथो पार्टीले आगामी दिनमा लिनुपर्ने सिद्धान्तगतधार, पाँचौँ देशको मूल कानुनलाई आधार मानी संशोधन गर्नुपर्ने पार्टी विधान, छैटौँ पार्टीका भातृ र शुभेच्छुक संस्थाहरूको भूमिका र पार्टीका सहयोगीशक्ति पहिचान आदि ।यस अतिरिक्त पार्टीको मूल अजेन्डा हुनुपर्छ–आफ्नो घर सुधार गर्न नसकेमा संसद्मा सशक्त र प्रभावकारी प्रतिपक्ष हुन सम्भव हुँदैन। कमजोर पार्टी जतिसुकै वर्ष प्रतिपक्षमा बसे पनि त्यसको अर्थहुँदैन। सत्ताको सिँढी तय गर्नु त चमत्कार नै हुनेछ।

आजकै कांग्रेसले पाँच वर्षपछि सत्ताको बाग्डोर समात्ने सपना देख्नुमा मात्र सीमित हुनेछ। संगठनको आन्तरिक अवस्था सुधार गरी आमनागरिकमा पुग्ने रणनीति, कार्यक्रम, कार्ययोजनाउसले निश्चित नगरी हुँदेैन। पाँच वर्षसम्म गाउँदेखि केन्द्रसम्मका सदस्यलाई जनतामा पुग्ने कुनै न कुनै बिज्नेस दिन सकेन भने संगठन र सदस्यमा खिया पर्छ। सत्तामा रहेमात्र जनताको घर, पीर मर्का, विकास भन्ने होइन। प्रतिपक्षमा रहँदा जनताको घरमा पुग्ने, पीरमर्का समाधान गर्ने र विकासका काम गर्ने रणनीति हुनुपर्छ। संघीय र प्रदेश सरकारका काममा देखिने त्रुटिलाई आफ्नो शक्तिका रूपमा स्थापित गर्दै संसद्मा सक्रिय हुनु त छंँदैछ। आफ्नो पक्षमा विजयी स्थानीय सरकारका पदाधिकारीलाई जनतामा केन्द्रित गराउनु पनि उत्तिकै महत्वपूर्ण हुनेछ। लोकतन्त्रका पक्षमा जनमत बढाउनु नेपाली कांग्रेसको किन मुख्य दायित्व हो भने अहिलेसम्म कुनै भरपर्दो लोकतान्त्रिक विकल्प पार्टी स्थापना भएको छैन। साना दल सतहमा आउन सकेका छैनन्। मधेसकेन्द्रित दुई दल मधेसको भूमिभन्दा माथि उठ्न सकेका छैनन्। वाम गठबन्धनको विकल्प नेपाली कांग्रेस नै भएको हुनाले यो दल निरीह, निस्तेज र विभाजित मानसिकतामा रहनु दुर्भाग्यपूर्ण हुनेछ।

प्रकाशित: ७ चैत्र २०७४ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App