coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पार्टी एकता बैशाख अगाडि: अध्यक्ष दाहाल

मकवानपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चाँडै हुने बताएका छन्। अन्तरिम राजनीतिक र अन्तरिम बिधान तथा संगठनको सेटिङ्ग सम्बन्धी २ वटा कार्यदलले गरिरहेको काम अन्तिम चरणमा पुगाएकाले उनीहरुले प्रतिबेदन बुझाउने बित्तिकै पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र पार्टी एकताको औपचारिक घोषणा हुने बताए। 

३ नम्बर प्रदेश राजधानी हेटौंडामा बुधबार बिहान पत्रकार भेटघाटमा उनले एकता घोषणा गर्न कार्यदलको सुझाव २२ अप्रिल (बैशाख ९) पार्टी स्थापना दिवस अर्थात् लेनिन जयन्तीका दिन आएपनि एकता त्यसअघि हुने दाबी गरे। जनताले चाँडै एकता र समृद्धी चाहेको भन्दै उनले बैशाख ९ अघि नै एकता घोषणा गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमती भएको बताए। 

नेपाली जनताले सरकारहरुबाट परिणाम खोजेको भन्दै उनले स्थानिय, प्रदेश र संघीय सरकारबाट धेरै कुरा मात्र भन्दापनि क्षेत्र अधिकारभित्र बसेर जनतालाई प्रत्यक्ष लाभ हुने काम चाहेको बताए। उनले परिणाम निकाल्न राष्ट्रिय एकता र संकल्पको खाँचो रहेको औल्याए।

केन्द्र र ६ वटा प्रदेशमा बामगठबन्धनको सरकार रहेको तथा २ नम्बर प्रदेशको सत्तारुढ दलहरुले समेत केन्द्र सरकारलाई समर्थन गरेकाले विकास र समृद्धी ल्याउन कसैले रोक्न नसक्ने उनले बताए।

२ नम्बर प्रदेशको सत्तारुढ मधेश केन्द्रित दुबै दलले संघीय सरकारलाई विश्वासको मत दिएको भन्दै अव राजनीति सहज ढंगले अगाडी बढ्छ भन्ने विश्वासको आधार खडा भएको दाहालको भनाई छ। ‘बाम गठबन्धनको सरकारसँग झण्डै २ तिहाई बहुमत छ, त्यसमाथि मधेश केन्द्रित दलहरुको पनि समर्थन भईसकेपछि अव विकासलाई गती दिने कुरामा कुनै व्यवधान छैन।’ ‘अव प्रदेशहरुमा सरकारहरुलाई गतिशील बनाउँनका लागि छिटो भन्दा छिटो ऐनहरु डाफ्ट गरेर पारित गर्नुपर्ने आवश्यक्ता छ,’ उनले भने, ‘ऐनको अभावमा प्रदेश सरकार सञ्चालनमा जटिलता भएको कुरालाई हामीले गम्भीर रुपमा लिदै प्राथमिकता दिनेछौं।’

‘यो बर्षलाई हामीले निर्वाचन वर्षको रुपमा मनायौं, घनिभूत रुपमा निर्वाचनका चक्रहरु पार गर्न सफल भयौ,’ उनले भने, ‘उपराष्ट्रपतिको सपथ ग्रहणसम्म आउँदा एउटा अध्याय सकिएको छ।’ ‘हामीले निर्वाचनमा सुशासन, स्थायीत्व, विकास र समृद्धीलाई मुख्य एजेण्डा बनाएका थियौ, अवको चुनौती र जिम्मेवारी भनेको सुशासन, स्थायीत्व र विकासलाई गती दिने नै हो,’ दाहालले भने, ‘केन्द्र सरकार र हाम्रो गठबन्धन त्यसैमा केन्द्रीत छ ।’

सरकारले विकास प्रकृया र समृद्धीको यात्रालाई कति गती दिन सक्छ भन्ने कुराले समाजवादको यात्रालाई टुङ्गो लगाउने भन्दै उनले आफुहरु गम्भीर रुपले त्यसमा लागिपरेको बताए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट पनि सहयोगको अपेक्षा गरिएको बताउँदै दाहालले राष्ट्रिय मुद्धाहरुमा सत्तापक्ष र प्रतिपक्षबीचमा समझदारी बनोस् भन्ने आफुहरुको चाहना रहेको बताए। हुलाकी राजमार्गको सिराहामा मंगलबार शिलान्यास र शुभारम्भ गरेर हेटौंडा आएको बताउँदै उनले धेरै बर्षदेखि रोकिएको निर्माण प्रक्रियालाई आफु प्रधानमन्त्री हुँदा भारत जाँदा गम्भीर रुपले उठाएको बताए। तराईका लागि हुलाकी राजमार्ग लाईफलाईन हुने भन्दै उनले भारत सरकारले राजमार्ग निर्माण गर्न अनुदान दिने समझदारी, सहमती भईसकेकाले निर्माणमा आफुले बिशेष पहल गरेको दाबी गरे।

प्रकाशित: ७ चैत्र २०७४ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App