खोटाङ – सम्पत्ती कमाउने सपनामा मलेसिया पुगेका एक नेपाली दुई हप्तामै स्वदेश फर्काइएका छन्। मलेसिया पुगेको ६ दिनमै बेपत्ता बनेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका माझगाउँका बमप्रसाद राईलाई उद्धार गरेर मंगलबार राती नेपाल फर्काइएको हो।
रोजगारीका सिलसिलामा काठमाण्डौंको सनलाईट ह्युमन रिसोर्स प्रालि मेनपावरबाट फागुन २३ गते मलेसिया पुगेका राई फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए। मलेसियाको व्याङगुनान एसआरआइ लयाङ जलन थाम्बी बव्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सेक्यूरिटी गार्डका रुपमा गएका बमप्रसादलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए।
बेलुकाको खाना खाएपछि सुत्न गएको र राती नै सम्पर्क बिहिन बनेको बमप्रसादलाई १५–१६ घण्टापछि फेला पारिएको थियो। आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउपालिका वडा.नं. ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्क बिहिन बनेका बमप्रसादको खोजी तिब्र पारेका थिए। खोजीकैक्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर उनको तस्बिर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उनलाई भेट्टाउन सहज भएको हो। मलेसियास्थित नेपाली दुताबासमा समेत सूचना पुगेपछि दुताबासले खोजेर सुरक्षित राखेका बमप्रसादलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काइएको हो।
सम्पत्ती कमाउनका लागि ऋण काढेर बिदेसिएको १४ दिनमै रित्तो हात फर्कनुपर्दा बमप्रसाद परिवारको सपना भताभुंग भएको छ। उनी मेनपावरलाई ९० हजार शुल्क तिरेर मलेसिया गएका हुन्। ९० हजार बुझाए पनि मेनपावरले भने २० हजारको मात्र भपाई गरिदिएको पाइएको आफन्तले बताएका छन्।
प्रकाशित: ७ चैत्र २०७४ ०८:११ बुधबार