१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भरोसामा टिकेको मजबुत सम्बन्ध

प्रदेश नं २ का मुख्यमन्त्री ५१ वर्षीय लालबाबु राउत तराई मधेसको राजनीतिमा सालिन र बौद्धिक नेताको रूपमा चिनिन्छन् । २०४६ सालमा त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति सुरु गरेका उनी बीचका दिनमा नोकरी पेसामा थिए । २०६२÷०६३ को जनआन्दोलनपछि सुरु भएको मधेस आन्दोलनताका एक अन्तरालपछि पुनः राजनीतिमा सक्रिय भएर मधेसी जनाधिकार फोरम नेपाल (हाल संघीय समाजवादी फोरम नेपाल) को केन्द्रीय सदस्य र पछि केन्द्रीय उपाध्यक्ष भएर काम गरे । पार्टीको तर्फबाट दोस्रो संविधानसभामा सदस्य बन्ने मौका पनि पाए । मधेस आन्दोलनको तर्फबाट हुने वार्ता र संवादमा आफ्नो पार्टी र आन्दोलनरत मोर्चाको तर्फबाट धेरै पटक भाग लिएका उनी मधेस मुद्दाका जानकार राजनीतिज्ञमा गनिन्छन् । अहिले संघीय समाजवादी पार्टीको तर्फबाट पर्सा जिल्लाबाट प्रदेश सभा सदस्य निर्वाचित भई मुख्यमन्त्री बन्न सफल भएका छन् । 

राउतकी श्रीमती जलेखालाई छोराछोरीलाई खुवाएर विद्यालय पठाउन र घर व्यवहार गर्नमै समय कट्छ । श्रीमान् प्रदेशको मुख्यमन्त्री भएपछि उनलाई खुसी लागेको छ । आफ्नो दैनिक जीवनमा भने खासै परिवर्तन आएको छैन । 

पार्टीको केन्द्रीय उपाध्यक्ष र संविधानसभा सदस्य हुँदा नेता राउत सञ्चारमाध्यममा आइराख्ने नाम नै हो । स्थानीय स्तरमा उनको पहिचान अलिक फरक शैलीका कारण छ । संविधानसभा सदस्य बनेर नामको अगाडि माननीय जोडिएपछि दौतरी, टोल समाज र गाउँ–नगरमा आफूलाई अलिक पदवाला भएको भन्ने पार्नेमा उनी परेनन् । सहज र सरलरूपमा सधैँ एक समान उनी मानिसहरुमाझ घुलमिल भइरहन्छन् । सालिन प्रवृत्ति भएका कारण बढी गफिने वा तुरुन्तै प्रतिक्रिया दिइहाल्ने बानी छैन उनको । कुराकानीलाई विश्लेषणात्मक ढंगले गर्न रुचाउने उनले साधारण बोलचालका भाषामा भाषण गर्ने राम्रो वक्ता पनि हुन् । 

मधेसले उठाउँदै आएका सवालका बारेमा स्पष्ट हुनु छ भने नेता गद्दीसँग जिज्ञासा राखे पुग्छ । औपचारिक शिक्षामा अंग्रेजी विषयमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) गरेका उनलाई साधारण शब्दमा राजनीतिका गम्भीर विषयलाई पस्किने शैलीले समकालीन नेतामा अलिक फरक पार्ने गरेको छ । पर्साको जगरनाथपुरमा बाबु दशरथ राउत र आमा राधिका खातुनबाट जन्मेका राउतका पिता त्यहाँका जत्थाजमिन भएका किसान हुन् । मुख्यमन्त्री राउत आफूलाई किसानको छोरा भन्न गर्व गर्छन् ।

२४ वर्षमा बिहे
अंग्रेजीमा स्नातकोत्तर गरेर गाउँ फर्किँदा राउत लक्का जवान थिए । हेर्नमा फिल्मी हिरो जस्तो ‘पर्सनालिटी’ । हेयर स्टाइलमा बलिउड नायक मिथुन चक्रवर्तीलाई जस्ता छन् । पढाइमा  गतिला भएकाले मन पराउने साथीमा केटीहरु पनि थिए । युवा जोस र उमंगले आफ्नो दिशा तय गर्नुअगाडि बाजेले छिमेकी गाउँको केटीसँग बिहे तय गरिदिए । मदरसामा पढेर साधारण लेखपढ गर्न मात्र जानेकी जलेखा खातुनसँग राउतको २४ वर्षको उमेरमा विवाह सम्पन्न भयो । बीचमा चन्द्रावती नदी, वारि घर पारि बिजबनियाको खलुचडीमा उनको ससुराली पर्छ । 

‘पढेलेखेको, आधुनिक दुनियाँ देखेको केटोले नपढेकी श्रीमतीलाई राख्ने हो कि छोडी दिने हो ?’ धेरैलाई सन्देह थियो । वैवाहिक सम्बन्ध टिक्ने छैन अधिकांशको आँकलन रह्यो । ‘ठेट ग्रामीण केटीसँगको वैवाहिक सम्बन्ध टिक्दैन भन्ने मेरो बारेमा सोच्नेहरुको गाइँगुइँ थियो, मैले भने त्यस्तो सोचेको थिइनँ,’ राउतले भने, ‘जीवन यस्तै हो, सबै कुरा आफूअनुकूल पाइन्छ भन्ने छैन, जे प्राप्त भएको छ, त्यसैलाई आफूअनुकूल पार्नुपर्छ, म अब यसै सम्बन्धमा बाँच्नु छ, निर्वाह गर्नु छ र स्विकार गर्नु छ अठोट गरेँ । मेरो वैवाहिक जीवन सुरु भयो ।’

त्रिभुवन विश्व विद्यालय कीर्तिपुरबाट पढाइ सकिएर बिहे भएपछि राउतलाई जागिर गर्ने सुर थियो । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा उनले अंग्रेजी अध्यापन गराउने जागिर पाए । क्याम्पसमा कम समयमै उनी राम्रो शिक्षकमा गनिन थालेका थिए । ‘राउत सरको विद्यार्थी हुँ’ भन्ने गर्व गर्ने उनका विद्यार्थी अहिले विभिन्न पेसामा भेटिन्छन् । क्याम्पसको जागिरसँगै विभिन्न कार्यक्रममा उनी सक्रिय देखिन्थे । वीरगञ्जमा उनलाई चिन्नेको संख्यामा वृद्धि भइरहेको थियो । 
यसैबीचमा वीरगञ्ज नगरपालिकामा अधिकृतको भर्ना खुल्यो । राउतले त्यतातिर प्रयास गरे र जागिर लिन सफल भए । वीरगञ्ज नगरपालिकाको जनसम्पर्क अधिकृतको रूपमा २०५३ सालमा उनको दरबन्दी भयो । नगरपालिकामा निकै जमेका उनले कर्मचारीहरुबीचको आन्तरिक राजनीतिको सामना गर्नु पर्यो।

सक्रिय राजनीति 
२०६३ सालमा मधेसी जनाधिकार फोरमको आन्दोलन सुरु हुँदा उनी केन्द्रीय सदस्यको रूपमा वीरगञ्जमा त्यसको अगुवाइ गर्नेमा थिए । आन्दोलनपछि पार्टी चुनावमा जाँदा निर्वाचित सभासद भए र कोही सरकारमा पनि पुगे त्यसकै कारण फोरमबाट निस्किने र बेग्लै दल बनाउने क्रममा फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक पार्टी खडा भयो । राउतले भने पार्टीभित्र संगठनको काम गर्ने मौका पाए । र, परिणामस्वरूप केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पनि पाए । 
जागिरबाट राजीनामा गरेर उनी दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक सूचीमा रहेर पार्टीका लागि प्रचारमा जुटे । र, पछि संविधानसभा सदस्य बन्ने मौका पाए । राजनीतिमा अनिश्चितता हुन्छ भनेर उनलाई जागिर नछोड्न सल्लाह दिने पनि भेटिए । प्रत्यक्षमा टिकट पाउन गाह्रो र समानुपातिकको सिट योगदान, योग्यता र निष्ठाभन्दा पैसावाला व्यक्तिले पाउँदो रहेछन् भन्ने अघिल्लो संविधानसभाले देखाएको यथार्थ छँदै थियो । राजनीति दलका प्रमुख नेताहरुको गतिविधि सबैले देखेकै थिए । सरकारी अधिकृतको जागिर छोड्दा लागेको संसय उनले त्यागेर अठोट निर्णय लिए, ‘अब राजनीति नै गर्नु छ ।’ 

त्रिभुवन विश्व विद्यालय कीर्तिपुरबाट पढाइ सकिएर बिहे भएपछि राउतलाई जागिर गर्ने सुर थियो । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा उनले अंग्रेजी अध्यापन गराउने जागिर पाए ।

घरपरिवारका अरूलाई यसमा कुनै विशेष प्रतिक्रिया थिएन बरु बुवा दशरथ राउत खुसी थिए । मानिसले जीवनमा ठोस निर्णयहरु लिनुपर्छ, परिणामपछिको पो कुरा हो भनेर उनले हौस्याए । ‘बुवा खुसी नै हुनुहुन्थ्यो, छोराले समझदारी प्रयोग गरेरै निर्णय लिएको हुनुपर्छ भन्ने उनलाई लागेको थियो, मैले पनि मधेस मुद्दामा काम गर्न जागिरलाई बाधक बन्न नदिन उक्त निर्णय लिएको थिएँ, चुनाव पनि आउनै लागेको थियो,’ राउतले भने, ‘त्यसपछिको समय त सबैको अगाडि नै छ ।’
त्यसपछि उनले संविधानसभामा मधेस मुद्दाको आवाज बुलन्द गर्ने भूमिका खेले । पार्टी आन्दोलनमा हुँदा सरकारमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेतासँग उनी पार्टीको तर्फबाट आन्दोलनको प्रतिनिधित्व गर्दै कयौं पटक वार्ताको टेबुलमा बसे । उता वार्ता यता आन्दोलनको मोर्चा दुईतिर सक्रिय देखिने नेता थिए लालबाबु राउत । 
राउत आन्दोलनमा घरबाट निस्किँदा बेलैमा खाना बनाएर पस्किदिने काम गर्थिन् उनकी जीवन संगिनी जलेखा खातुन । कुनै हस्तक्षेप थिएन । अबेर गरेर फर्किँदा वा कुनै दिन घरै फर्किन नसकी अर्को दिन आउँदा उनले कहिले पनि कारण सोध्ने प्रयास गरिनन् । ‘सहयोगी भावना छ, श्रीमतीको । एक प्रकारले पुरुषप्रधान वा पितृसत्तात्मक व्यवस्थामा हामी बाँचिरहेको पनि भन्न सकिन्छ,’ मुख्यमन्त्री राउत सहजतापूर्वक स्वीकार गर्छन्, ‘निर्णहरुमा महिला सहभागी नहुने वा सहभागी नगराइने पितृसत्तात्मक व्यवहार समाजमा भएजस्तै सुरुदेखि नै व्यवहारमा आयो, स्विकार्नै पर्छ यथार्थ हो यो ।’
राउतले आगामी पुस्ताका लागि भने परिवर्तनको जग बसाल्न थालेका छन् । छोरी फातिमाको नामांकन गराएका पिरामिड उच्च माविमा छन् । फातिमा कक्षा ११ मा पढ्छिन । छोराहरु सरह व्यवहार पाएकी छिन् । बरु राउतले छोरीको कुरा अलिक बढी नै सुन्छन् । जेठो छोरा महमद कक्षा १२ मा र कान्छो सजाद कक्षा ८ मा पढ्छन् । राउतकी श्रीमती जलेखालाई छोराछोरीलाई खुवाएर विद्यालय पठाउन र घर व्यवहार गर्नमै समय कट्छ । श्रीमान् प्रदेशको मुख्यमन्त्री भएपछि उनलाई खुसी लागेको छ । आफ्नो दैनिक जीवनमा भने खासै परिवर्तन आएको छैन । 
अरूले बधाई दिँदा उनले श्रीमान् उच्च पदमा पुगेको भान पाउँछिन् । मुख्यमन्त्रीमा राउत घोषणा भएपछि टोलवासीले दिपावली नै मनाएपछि उनलाई खुसी लागेको थियो । वीरगञ्जमा श्रीमान् बसेको बेला अहिले पहिलेभन्दा धेरै पटक उनको भान्छामा चिया पाक्ने गर्छ । घरमा चहलपहल बढेको छ । वीरगञ्जको तेजारथ टोलस्थित अढाई तल्ले घरमा माथिल्लो तल्लामा कार्यालय वा भेटघाट कक्ष छ । भुइँतल्लामा परिवार बस्छ । बीचको तल्ला बहालमा थियो, अहिले भने खाली गराइएको छ । भेटघाटका लागि आउने मानिस बढ्दै गएपछि त्यसको व्यवस्थापनका लागि यो तल्ला प्रयोगमा ल्याउने तयारीमा छ । 

राउतले भाइ रामबाबु राउतका छोराछोरीलाई पनि आफूसँगै राखेर पढाइलेखाइ गराउँदै आएका छन् । करिब ८ बिघा रहेको खेतमा कृषि गर्ने जिम्मा भाइलाई छ । यसरी एउटा संयुक्त परिवारमा राउत बस्ने गरेका छन् । 
महिलाले पुरुषसरह परिवार र समाजमा अवसर र सम्मान पाउनु पर्छ भन्ने राउतको अनुभवले होला आउँदो पुस्तामा आफ्ना र भाइका छोराछोरीलाई समानरूपमा शिक्षादिक्षा लागिपरेका छन् । शिक्षा नभएको श्रीमतीको समस्या उनले देखेका छन् । श्रीमती जलेखाले भरोसा गरेर श्रीमान्को हरेक निर्णयलाई सहर्ष स्विकारेकी छिन् भने राउतले श्रीमतीको भरोसामा कहिले पनि आघात नगरी हरेक सुख सुविधा पु¥याएका छन् । उनको दाम्पत्य जीवन विश्वासिलो हुनुका साथै सुख र खुसियालीमा बितेको छ ।  

प्रकाशित: ७ चैत्र २०७४ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App