coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रसुवामा लगाइएको गोलभेँडामा टुटा प्रकोप

जिबजिबेमा लगाइएको गोलभेँडामा देखिएको टुटाको प्रकोप । तस्बिर : नागरिक

रसुवा – रसुवाको तीन वटा गाउँपालिकामा व्यावसायिक रुपमा लगाइएको गोलभेँडा खेतीमा टुटा एब्सोलुटा प्रकोप देखिएको छ। 

जिल्लाको कालिका, उत्तरगया र नौकुण्डको विभिन्न स्थानमा कृषकले लगाएका गोलभेँडामा पात तथा फल जोतुवा किराको प्रकोप फैलिएको हो। टुटाको कारण गोलभेँडाको बोट सुक्दै जान थालेपछि कृषक चिन्तित बनेका छन्। 

‘उत्पादन हुने समयमा गोलभेँडाको बोट मर्न थाल्यो, कालिका गाउँपालिका–५ का अगुवा कृषक भवनाथ पौडेलले भने, अब एक साताभित्र जिबजिबे क्षेत्रमा रहेका गोलभेँडाको अवस्थाको बारेमा तथ्याङ्क सङ्कलन गर्छौं।’ अन्य क्षेत्रमा पनि तथ्याङ्क सङ्कलनका लागि समन्वय गर्ने उनले बताए। 

टुटाको प्रकोप फैलिँदा २५ प्रतिशतदेखि शत प्रतिशतसम्म क्षति हुने जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ। प्रकोप फैलिँदै जाँदा यसको नियन्त्रणका लागि कार्यालयले अभियान सञ्चालनको तयारी गरेको छ। 

पहिलो चरणमा गोलभेँडा खेतीको अवस्थाको बारेमा कृषक समुह र कृषि सहकारीमार्फत तथ्याङ्क संकलन गरिने वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले जानकारी दिए। तथ्याङ्क सङ्कलन गरेपछि कार्यालयबाट प्राविधिक प्याकेज दिने तिवारीको भनाई छ। 

राहत कार्यक्रम अन्तरगत आकस्मिक बाली संरक्षण सेवाबाट आएको रकम प्रकोप नियन्त्रणको लागि खर्च गरिने छ। ‘राहत कार्यक्रमबाट दुई लाख आएको छ, अधिकृत तिवारीले भने, कार्यक्रमबाट आएको रकमले अपुग भएमा कृषक र स्थानीय तहले बेहोर्न पर्ने छ।’

टुटाले गोलभेँडा, भण्टा, खुर्सानी र आलुमा समेत क्षति पु-याउने कृषि प्राविधिक बताउँछन। यसको समयमा नै रोकथाम गर्न नसके जिल्लामा यी बाली लगाउन नसकिने कार्यालयले जनाएको छ। 

चैत अन्तिम साताबाट टुटा नियन्त्रण अभियान जिल्लाभरि नै सञ्चालन गर्ने तिवारीले बताए। कार्यालयले अभियान सञ्चालन गर्न लाग्दै जाँदा कार्यालय भने चैत २८ गतेपछि नरहने गरि खारेज हुन लागेको छ। 

जिल्लामा गोलभेँडा खेतीको अवस्था 

रसुवामा पछिल्लो समय गोलभेँडा खेतीको उत्पादन बढ्दै गएको देखिन्छ। २०७२ सालमा चार सय मेट्रिक टन गोलभेँडा उत्पादन भएकोमा २०७३ मा एक हजार ८ गोलभेँडा उत्पादन भएको थियो। जिल्लामा अहिले ६० हेक्टर क्षेत्रफलमा गोलभेडा खेती हुन थालेको छ। 

कार्यालयले गरेको सर्वेक्षण अनुसार जिल्लामा अहिले एक हजार ६ सय ८० वटा प्लाष्टिक घरमा गोलभेँडा उत्पादन भएको छ। प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार ८ मेट्रिक टन गोलभेडा उत्पादन भएको कार्यालयका वागबानी अधिकृत सन्ताेष पाठकले बताए। 

उनले भने, ‘जिल्लामा टमाटरको लागि पर्याप्त बजार रहेको र राम्रो मूल्य पाउने कारण कृषकले उत्पादन बढाउँदै लगेका छन्।’ गोलभेडा खेतीबाट कृषकले वार्षिक तीन करोड ५२ लाख ८० हजार आम्दानी गर्न सफल भएको उनले बताए। प्रकोपको कारण यो वर्ष उत्पादन घट्ने सम्भावना उच्च रहेको उनको भनाई छ। 

२०६८ सालमा व्यवसायीक गोलभेडा खेतीको थालनी हुँदा जिल्लामा साढे १ हेक्टर क्षेत्रफलमा गोलभेँडा खेती गरिएको थियो। जिल्लाको उच्च हिमाली भागमा गोलभेँडा उत्पादन गर्नका लागि तापक्रम बृद्धि गरि गुमोज आकारका घरहरुको समेत निर्माण गरिएको छ। 

जिल्लामा प्लाष्टिक घरमा गोलभेडा कार्यक्रम मार्फत २०६८ सालमा पहिलो पटक २० ओटा प्लाष्टिक घरमा गोलभेडा खेतीको सुरुवात गरिएको थियो। जिल्लामा उत्पादन भएको गोलभेंडा करिब ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्दछ। 

बेमौसममा काठमाण्डौ र त्रिशुलीबाट जिल्लामा भित्रने र मौसमी सिजनमा जिल्लाबाट त्रिशुली तथा काठमाडौं लैजाने गरिएको छ। 

प्रकाशित: ७ चैत्र २०७४ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App