coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिलवाल ‘टप हन्ड्रेड टुर गाइड’को सूचीमा

काठमाडौं – मूलधारको सक्रिय पत्रकारिताबाट टुर गाइड बनेका अशोक सिलवाल संसारका ‘टप हन्ड्रेड टुर गाइड’को सूचीमा समेटिएका छन्। 

संसारभरिका यात्री र टुर गाइडलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ। सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवाललाई उक्त अवार्ड प्रदान गरेको हो। उक्त पोर्टलले संसारभरका २६ हजारभन्दा बढी सक्रिय टुर गाइडमध्येबाट उत्कृष्ट १०० को सूची तयार गरेको जनाएको छ।

‘२६ हजारभन्दा बढी गाइडहरुले यो सफल यात्रामा योगदान गरेका छन्, तपाईं जस्तै केही गाइडले बृहत् ज्ञान, अतुलनीय सेवा र विनम्र व्यवहारका कारण उत्कृष्टता हासिल गरेका छन्,’ टुरएचक्यूले भनेको छ।

टुरएचक्यूले गाइड लिएर घुम्ने पर्यटकहरुले दिएको फिडब्याकका आधारमा उत्कृष्ट गाइडको सूची बनाएको हो।

आधा दशक अघिसम्म पत्रकारितामा सक्रिय सिलवाल पछिल्लो समय गाइडिङ र लेखनमा सक्रिय छन्। उनले भूकम्पपछि मानवविहीन बनेको लाङटाङमा पत्रकारको रुपमा सबैभन्दा पहिले पैदलै पुगेर त्यहाँको अवस्था समेटिएका दुई वृत्तचित्र–– घर फर्किरहेका मान्छे र वेकिङ एन्ड वाकिङ–– तयार गरेका थिए। उनी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का गाइडिङ इन्सट्रक्चर पनि हुन्।

पछिल्लो तीन वर्षको गाइडिङ करिअरमा ६० भन्दा बढी देशका पर्यटकलाई घुमाएको सिलवाल बताउँछन्। सिलवालले आफूले घुमाएका पर्यटकहरुलाई विषय बनाएर विभिन्न सञ्चार माध्यममा नियमित लेखिरहेका पनि छन्।

गत फागुन तेस्रो साता नेपाल पर्यटन व्यवसायी संघ (निट)ले सिलवाललाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो। निटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सिलवाललाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरेका थिए।

भूकम्पले थिलथिलो भएको लाङटाङको वास्ताविकता जनसमक्ष ल्याउन भूमिका खेलेबापत सिलवाललाई लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूत बनाएको छ। मुलुकको पर्यटकीय क्षेत्रको उत्थान र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले पनि सिलवाललाई सम्मान गरिसकेको छ। टानले ३० हजार नगदसहित सम्मान गरेको थियो।

प्रकाशित: ८ चैत्र २०७४ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App