८ वैशाख २०८१ शनिबार
अर्थ

सिजी फुड्सले चकलेट उत्पादन गर्ने

काठमाडौं – सिजी फुड्स (नेपाल) प्रालिले चालू आर्थिक वर्षभित्र चकलेटका विभिन्न उत्पादन बजारमा ल्याउने तयारी अगाडि बढाएको छ। तयारी खाजा (स्न्याक्स) उद्योगमा साढे तीन दशकदेखि अग्रणी स्थान ओगट्दै आएको सिजी फुड्सले चकलेटका नयाँ उत्पादन ल्याउन लागेको हो।

क्विक्स ब्रान्डको पोटाटो चिप्स नेपालमा उत्पादन गर्दै आएको सिजी फुड्सले आलु चिप्स वर्गतर्फको बजार हिस्सामा प्रमुख स्थान ओगटेको छ। ‘लेज जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्दै आफ्नो छुट्टै बजार बनाइसकेका छौं,’ सिजी फुड्सका सहायक महाप्रबन्धक लालबाबु चौधरीले भने, ‘हाम्रा उत्पादनमा विश्वस्तरीय गुणस्तर कायम राख्न गुणस्तर नियन्त्रण प्रणाली, अनुसन्धान र विकासका लागि चौबीसै घन्टा काम भइरहेको हुन्छ।’

कम्पनीका अनुसार पछिल्लो पटक चिज स्टिक्स बजारमा ल्याइएको छ। यो चिजको स्वादमा रहेको यो नेपालमै पहिलो पटक उत्पादन गरिएको हो। यो २० र ३० रुपैयाँ प्याकेटमा उपलब्ध गराइएको छ जसभित्र एकथान चकलेट निःशुल्क राखिएका छन्। 

त्यसैगरी कम्पनीले चिज बल्स/रिङ्स ५, १०, २० र ३० रुपैयाँ प्याकेट, क्विक्स–मसला १०, २०  र ३० रुपैयाँ प्याकेट, चिकेन क्रेकर्स, पोटाटो क्र्याक्स, प्याज र अदुवाको स्वादमा मसला क्रेकर्स १० र २० रुपैयाँ प्योकट, चिज पोटाटो चिप्स १०, २०, ३० र ४० रुपैयाँ प्याकेटमा उपलब्ध गराइरहेको छ। यसका ट्यांगी मसला, सावर क्रिम, प्याज र भेज पिज्जा गरी चार स्वाद उपलब्ध छन्।

सिजी फुड्सका तीन प्रमुख उत्पादन एकाई छन्। ललितपुर भैंसेपटीमा सिजी फुड पार्क, नवलपरासीमा सिजी इन्डस्ट्रियल पार्क र बर्दियामा सिजी फुड्स इन्टरप्राइजेज छन् । यी तीनले चाउचाउ, भुजिया, स्न्याक्स, फ्राइड स्न्याक्स, पोटाटो चिप्स, चकलेट वेफर, फ्रुट जुुस, मिनरल वाटर, बियरलगायत उत्पादन गर्दै आएका छन्। सिजी फुड्सको स्न्याक्स शाखामा क्विक्स प्रमुख ब्रान्ड हो। यो शाखा सन् १९८९ मा स्थापना भएको थियो।

सिजी फुड्सले नेपाल र भारतका कारखानामा उत्पादित विभिन्न स्न्याक्स हाल ३० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ। हालै युरोपको सर्बियामा वाइवाई चाउचाउ कारखाना सञ्चालनमा ल्याएको सिजीले निकट भविष्यमा बंगलादेश, मध्यपूर्व र अफ्रिकामा कारखाना सञ्चालन गर्ने योजना बनाएको छ।

‘हाम्रा उत्पादनलाई विभिन्न खाले सञ्चारमाध्यमबाट बजार प्रवद्र्धन पनि गरिरहेका छौं। पत्रपत्रिका, टेलिभिजन, रेडियो, सिनेस्क्रिन, होर्डिङ बोर्ड, डिजिटल मिडियातर्फ वेबसाइट, सामाजिक सञ्जालतर्फ फेसबुक, युट्युब, इन्स्टाग्रामबाट पनि प्रवद्र्धन गरिरहेका छौं,’ सहायक महाप्रबन्धक चौधरीले भने, ‘यी माध्यमबाट ग्राहकको स्वाद, रोजाइ र धारणा बुझ्न पनि मद्दत पुग्छ।’

प्रकाशित: ८ चैत्र २०७४ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App