८ वैशाख २०८१ शनिबार
खेल

कान्टे फ्रान्स नफर्कने खबर निराधार

लन्डन – चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले स्पाम्फोर्ड ब्रिजमा आफूले घरेलु वातावरण पाएको भन्दै फ्रान्स फर्कने खबर निराधार भएको बताएका छन्।

२०१५–१६ सिजनमा लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कान्टे २०१६–१७ सिजनमा चेल्सीमा आबद्ध भएका थिए। चेल्सीमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिएका कान्टेले गत सिजन क्लबलाई प्रिमियर लिगको उपाधि जिताउन उल्लेख्य योगदान गरेका थिए।

‘म घरमा छु । यो मेरो क्लब हो। म चेल्सीको खेलाडी हुँ,’ फ्रान्सेली लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने तयारीमा रहेको भनिएका कान्टेले भने, ‘चेल्सीमा यो मेरो दोस्रो सिजन हो। गत वर्ष हाम्रा लागि सुखद बन्यो। यहाँ दोस्रो सिजन मैले च्याम्पियन्स लिग खेल्ने अवसर पाएँ । हामी यसपालि उपाधि होडबाट बाहिरिए पनि सिजनको अन्त्यसम्म शीर्ष ४ का लागि लड्दै आगामी सिजन च्याम्पिन्स लिगमा स्थान पक्का गर्नेछाै‌।’

अर्को महिना एफए कपको सेमिफाइनलमा साउथह्याम्पटनको सामना गर्ने तयारीमा भएको चेल्सी प्रिमियर लिगको ८ खेल खेल्न बाँकी हुँदा ५६ अंकका साथ पाँचौं स्थानमा छ। टोली चौथो स्थानको टोटेनह्यामभन्दा ५ अंकले पछि छ।

‘हामी प्रिमियर लिग र च्याम्पिन्स लिगको उपाधि होडबाट बाहिरिए पनि हामीसँग एफए कप बाँकी छ,’ कान्टेले भने, ‘हामी गत सिजन फाइनलमा भोगेको हारलाई बिर्साउँदै एफए कपको उपाधि भित्र्याउन चाहन्छौं। किनभने यो सिजन हामीलाई सन्तुष्टि दिन  सक्ने त्यो नै एक मात्र उपाधि हो।’

प्रकाशित: ८ चैत्र २०७४ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App