coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले पुटिनलाई चाडै भेट्ने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः निर्वाचित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चाँडै भेट्ने बताएका छन्। 

गत आइतबार सम्पन्न भएको रुसी निर्वाचनमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित पुटिनलाई भेट्न ढिला नगर्ने ट्रम्पले मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग बताए। 

अमेरिका भ्रमणमा रहेका साउदी अरबका युवराज मोहम्मद विन सलमान अल साउदसँगको भेट अघि ट्रम्पले भने, ‘मैले नवनिर्वाचित राष्ट्रपति पुटिनलाई फोन गरेर बधाई दिएको छु।’

अब हुने भेटमा आफूहरुले वासिङ्टन र मस्कोकोबीचमा भइरहेको हातहतियारको होडबाजीका साथै युक्रेन, सिरिया र कोरिया प्रायद्वीपको बारेमा छलफल गर्ने उनले जानकारी दिए।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीका अनुसार टेलिफोन वार्ताका क्रममा ट्रम्प र पुटिनले द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेका छन्।  

मंगलबार सबेरै भएको फोनवार्तामा दुई राष्ट्रपतिले बहुराष्ट्रिय सुरक्षा प्राथमिकता र चुनौतीका बारेमा पनि चर्चा गरेका थिए। 

ट्रम्पले कोरिया प्रायद्वीपको बारेमा पुटिनसँग बढी जोड दिएर कुराकानी गरेको अधिकारीले जनाएका छन्। 

रुसको राष्ट्रपति पदमा चौथो पटक पुटिन गत आइतबार निर्वाचित भएका थिए। ७६ प्रतिशतभन्दा बढी मत ल्याएर पुटिन अर्को छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

प्रकाशित: ८ चैत्र २०७४ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App