coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कामु प्रन्याद्वारा वाणिज्य इजलास सञ्चालनको निर्णय

काठमाण्डौं– उच्च अदालतको वाणिज्य इजलास हेर्न तोकिएका न्यायाधीहरुमध्ये कम्तिमा एकजना अदालतमा रहने गरी मात्र विदा स्वीकृत वा काजको व्यवस्था मिलाउन कामु प्रधान न्यायाधीश दीपकराज जोशीले निर्णय गरेका छन् । 

जोशीले कतिपय अवस्थामा त्यस्तो व्यवस्थापन हुन नसकेको कारण काम कारबाही प्रभावित हुने गरेको गुनासो आउने गरेको भन्दै उक्त निर्णय गरेको सर्वाेच्च अदालतले जनाएको छ ।

‘वाणिज्य इजलासमा तोकिएका न्यायाधीशहरु मध्ये कम्तिमा १ जना पनि उपस्थित नरहँदा इजलासको थुनछेक लगाएतका अति आवश्यक र गम्भीर काम कारबाही समेत प्रभावित हुन जान्छ । त्यसैले कम्तिमा १ जना न्यायाधीश रहने गरी विदा वा काजको स्वीकृत गर्न निर्णय गर्नुभएको हो,’ सर्वाेच्चका सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीद्धारा जारी वक्तव्यमा भनिएको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २८ (१) ले न्यायाधीश आफैले गर्नुपर्ने कामको सम्बधमा भएको व्यवस्थाका सन्दर्भमा मुद्दामा बयान वा बकपत्र गराउने वा फैसला गर्ने विषयमा उपदफा (२) ले न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदारले वकपत्र गराउने र पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने लगायतको कार्य गर्ने व्यवस्था गरेको छ । 

सर्वाेच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कुमार कालाखेतीद्धारा जारी वक्तव्यमा उच्च अदालत नियमावलीको नियम ६६ मा वाणिज्य सम्बन्धी विवादहरुको कारबाही किनारा गर्न उच्च अदालतमा रहने वाणिज्य इजलासका न्यायाधीशहरु तकिने व्यवस्था उल्लेख गर्दै कामु प्रधान न्यायाधीश जोशीद्धारा उक्त निर्णय भएको जानकारी दिइएको छ  ।

एकजना मात्र न्यायाधीश रहेको जिल्ला अदालतमा न्यायाधीश वा श्रेस्तेदार मध्ये एकजना अदालतमा रहने गरि विदा वा काज स्वीकृत हुने व्यवस्था मिलाउन पनि उक्त निर्णयमा उल्लेख छ ।

प्रकाशित: ८ चैत्र २०७४ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App