८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमै ११ दिन बन्धक बनाएर सामूहिक बलात्कार

काठमाडौं– गत फागुन १७ गते साँझ बल्खुबाट हराएकी कीर्तिपुरकी १५ वर्षीया एक किशोरी ११ दिनसम्म सामूहिक बलात्कारमा परेर मुक्त भएको खुलेको छ। बलात्कारको शिकार भएको भनिएकी किशोरी बौद्धिक अपांग हुन्।

हराएको १२ दिनपछि स्वयम्भूमा भेटिएकी उनलाई काठमाडौंको रिंग रोडमा चल्ने बस चालकहरूले ११ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए। बन्धक बनाएको ११ औं दिनमा उनीहरूले किशोरीलाई स्वयम्भू ल्याएर छाडिदिएका थिए।
किशोरी हराएकै दिन साँझपख कीर्तिपुरमा रहेको घरबाट बल्खुतर्फ आएकी थिइन्। बल्खुबाट उनी रिङरोडमा चल्ने बा ४ ख ३८५१ नम्बरको बसमा चढिन्। बसमा रहेका सबै यात्रु झरेपनि ती किशोरी भने बसमै थिइन्। किशोरीलाई बसमा एक्लै देखेपछि चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर किशोरीलाई जबर्जस्ती गरे।

भोलिपल्ट साँझ घिमिरेले किशोरीलाई ललितपुरको हरिसिद्धीस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरे। चालक घिमिरेको कोठामा ६ दिनसम्म बन्धक बनेकी किशोरी २४ गते कोठाबाट भागेकी थिइन्। तर, उनलाई अर्को बसका सहचालक सुदीप बजगार्इंले नियन्त्रणमा लिएर जबर्जस्ती गरे। फागुन २५ गते बा ४ ख ३८५१ नम्बरको बसका सहचालक दिवस गड्तौलाले किशोरीलाई चालक सन्तोष घिमिरेको जिम्मा लगाएपछि घिमिरेले किशोरीलाई पुनः कोठामा लगी जबर्जस्ती गरे।

फागुन २७ गते घिमिरेले किशोरीलाई सातदोबाटोबाट रिङरोड चल्ने बा.२ ख. ४१९५ नं. को गाडीमा स्वयम्भू लगे। त्यहाँ अर्का चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटासमेतले युवतीलाई जबर्जस्ती गरे। फागुन २८ गते  पीडित किशोरीको स्वास्थ्यअवस्था बिगँ्रदै गएपछि उनलाई गर्भनिरोधक औषधि खुवाई दुई सय ५० रुपैयाँ दिएर छाडिदिए।

प्रहरीले शरीर बन्धक बनाएर किशोरीमाथि बलात्कार गर्ने भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईंलार्ई पक्राउ गरेको छ।

किशोरीलाई बन्धक अवस्थामा शौचालयसमेत जान नदिइएको खुलेको छ। ‘किशोरीलाई ६ दिनसम्म दिसापिसाब गर्न पनि नदिइएको अनुसन्धानबाट खुलेको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले भने। ‘अरूले थाहा पाउलान् भनेर किशोरीलाई ट्वाइलेट पनि जान नदिइएको देखिन्छ,’ उनले भने। पीडकहरूले मानवीय संवेदनालाई समेत बेवास्ता गर्दै किशोरीमाथि निरन्तर बलात्कार गरेको प्रहरीले जनाएको छ। ११ दिनसम्म सामूहिक बलात्कारको शिकार भएकी किशोरीको कीर्तिपुरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ८ चैत्र २०७४ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App