coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौं– अर्को हप्ता हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न ललितपुर उच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गरेको छ। 

भक्तपुर जिल्ला फुटबल संघको अपिलका आधारमा न्यायाधिश राजकुमार बनको एकल इजलासले तत्कालका लागि निर्वाचन रोक्दै १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ। भक्तपुरसँगै मकवानपुर जिल्ला फुटबल संघले पनि आफूलाई सहभागी नगराई साधारणसभा गर्न लागेको भन्दै उजुरी दिएका थिए। 

भक्तपुरमा चुनाव भएको तथा मकवानपुरको चुनाव निर्वाचन निर्देशिकाअनुसार नभएको भन्दै एन्फाले दुई जिल्लालाई समावेश नगरी मतदाता सुची सार्वजनिक गरेको थियो। 

भक्तपुरमा स्थानीय क्लबहरुले आफूहरुलाई समावेश नगरी नेतृत्वले कोठे निर्वाचन गर्न खोजेको भन्दै मुद्धा दायर गरेपछि जिल्ला अदालतले सबैलाई समावेश गरेरमात्र चुनाव गर्नु भन्दै अन्तरिम आदेश जारी गरेको थियो। जसका कारण पुस १७ मा हुने तय भएको भक्तपुर जिल्ला फुटबल संघको चुनाव हुन सकेको छैन। पुस १७ को चुनावलाई संघ आफैले माघ ५ का लागि सारेको थियो। तर क्लबहरुको उजुरीका आधारमा जिल्ला अदालतले माघ ३ गते अन्तरिम आदेश जारी गरेपछि चुनाव प्रभावित भएको थियो।

यसैगरी एन्फाका केन्द्रिय प्रतिनिधिको अनुपस्थितीमा भएको भन्दै मकवानपुरको निर्वाचनलाई एन्फाले मान्यता दिएको थिएन। माघ ४ मा निर्वाचनको मिति तय भएकोमा मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष राजेन्द्र श्रेष्ठले सुचना टाँस गरी निर्वाचन हुन नसक्ने भनेर साधारणसभा रद्ध गरेका थिए। केन्द्रिय प्रतिनिधि एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर फर्किएपछि निर्वाचन भएको भन्दै श्रेष्ठले टिका लामाको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको भन्दै एन्फाले मकवानपुरलाई मान्यता दिएको थिएन। 

‘भक्तपुरको हकमा अदालतले चुनाव रोक्नु भनेपछि हामीले गराउन सकेनौं। मकवानपुरमा चाँही अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूखुसी निर्णय गर्दै केन्द्रिय प्रतिनिधिको अनुपस्थितीमा प्राविधिक निर्वाचन गरेकाले मान्यता दिन सकिएन। जिल्ला निर्वाचन निर्देशिका अनुसार कुनै पनि जिल्लाको निर्वाचन हुन केन्द्रिय प्रतिनिधिको उपस्थिती अनिवार्य हुन्छ,’ एन्फाका प्रवक्ता सञ्जिव मिश्रले भने। 

आगामी चार वर्षे कार्यकालका लागि चैत १४ गते हुने तय भएको निर्वाचनमा संस्थापन पक्षबाट कुँवर तथा विद्रोही पक्षका तर्फबाट कर्माछिरिङ शेर्पाको नेतृत्वमा प्यानल घोषणा गरेर उम्मेदवारी दिइएको थियो। 

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु कुँवर पक्षका हुन् भने मकवानपुरका लामा शेर्पा पक्षका हुन्।
भक्तपुरका अध्यक्ष सुखजुले केन्द्रमा मतदान गर्न पाउने अधिकारबाट आफूलाई बञ्चित गरिएपछि अदालतको शरण परेको बताए। ‘मलाई केन्द्रमा भोट हाल्न नदिने षणयन्त्र भयो। त्यसैको विरुद्ध अदालत गएको हुँ,’ सुखजुले भने, ‘नियमावलीअनुसार क्राइटेरियामा नपर्ने तीनवटा क्लबले भक्तपुर जिल्ला अदालतमा मुद्धा हाल्यो। अदालतले राम्रो निर्णय गर्न खोजे पनि क्लबका भाइहरुले तारिक लिन नआउने गरेर मुघा लम्बाउन खोज्नुभयो। उहाँहरुमा मलाई केन्द्रमा जानबाट रोक्नेमात्र उद्देश्य देखियो। त्यसकारण मैले मुद्धा हालेको हो।’

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले शुक्रबार कानुनी सल्लाहकारहरुसँगको छलफलपछिमात्र आसन्न निर्वाचनवारे प्रतिक्रिया दिन सक्ने बताए। ‘अदालतबाट अन्तरिम आदेश भएको सुनेँ। मैले मेरा वकिलसँग कुरा गर्दा भोली निर्णयको लिखित कपी आउँछ रे। त्यसपछि उहाँहरुसँग सल्लाह गरेर उचित निर्णय लिनेछौं,’ श्रेष्ठले भने।

यसैगरी आ–आफ्नो प्यानलका साथ निर्वाचनमा उत्रिएका उम्मेदवारहरुले पनि निर्णय हेरेपछिमात्र प्रतिक्रिया दिन सकिने बताए।

वर्तमान वरिष्ठ उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार कुँवरले फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ), एएफसी (एसियाली फुटबल महासंघ) र राखेप (राष्ट्रिय खेलकुद परिषद) को निर्देशनअनुसार चल्ने बताए। ‘अदालतको निर्णय मैले हेर्न पाएको छैन। निर्णय हेरौं, त्यसपछि फिफा, एएफसी, राखेप र वकिलहरुले के भन्छन् त्यहीअनुसार एन्फाले निर्णय गर्नुपर्छ,’ कुँवरले भने, ‘उम्मेदवारको नाताले भन्दा चाँही निर्धारित समयमा निर्वाचन भएन भने झन अन्योल हुन्छ। समयमा भएको भए त्यसले एउटा निकास दिन्थ्यो।’

अध्यक्ष पदका अर्का उम्मेदवार शेर्पाले भने, ‘मैले पनि उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको भन्ने सुने। तर त्यसवारेमा मलाई केही पनि थाहा छैन। कागजपत्र मैले देखेको पनि छैन। फेसबुकमा आएको भरमा थाहा पाएको हो। भोली निर्णय हेरेपछि प्रतिक्रिया दिन सकिने भयो।’  

प्रकाशित: ८ चैत्र २०७४ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App