coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोइराला परिवारमा एकपछि अर्को शोक

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाई विजय ।

नेपालगन्ज– कोइराला परिवारको काइलो छोरा अरुणको २०७१ मंसिर २ गते निधन भयो। त्यसको पीडा सेलाउन नपाउँदै २०७२ माघ २६ गते साइलो छोरा सुशील कोइरालाको निधन भयो। दुई दाजुभाईको निधनले शोकमा डुबेका कोइराला परिवारलाई त्यसपछि पनि एकपछि अर्को पीडा थपिदै आएको छ। 

परिवारका सबैभन्दा कान्छा छोरा विजयको बिहीबार निधन भएपछि कोइराला परिवार झनै शोकमा डुबेको छ। पारिवारीक स्रोतका अनुसार दुई हप्तादेखी निमोनियाबाट पीडित रहेका नेपालगन्ज–१० निवासी ७४ बर्षीय विजयको बिहीबार बिहान ८ बजेतिर काठमाडौंस्थित मेडीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनका एक छोरा एक छोरी छन्।

विजय पूर्वप्रधानमन्त्री स्वर्गीय सुशीलका सहोदर कान्छो भाई हुन्। उनको निधनले कोइराला परिवार मात्र नभएर नेपालगन्जबासी समेत शोकमा डुबेका छन्। बाँकेका राजनीतिक दल, इन्जिनियर,  ब्यापारी, सर्वसाधारण लगायतले सामाजिक सञ्जालमार्फत स्वर्गिय विजयप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन्। कोइराला परिवारका सदस्य, आफन्त, इष्टमित्र अन्त्यष्टीका लागि काठमाडौं पुगेका छन्। विजयका भतिज एवम् नेपाली कांग्रेस बाँकेका कार्यसमिति सदस्य सुधाम्सु कोइरालाले काकाको निधन पश्चात आफन्त, इष्टमित्र काठमाडौंमा जम्मा भएको बताए। 
 
उनका अनुसार बिहीबार दिउँसो विजयको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। बाबु बोदप्रसाद उपाध्याय र आमा कुमुदेनी देवीको कोखबाट बिराटनगरमा जन्मिएपनि सुशील, अरुण र विजयले कर्मथलो नेपालगन्जलाई नै बनाएका थिए। परिवारका ६ दाजु भाईमध्ये कोइराला परिवारका केही सदस्य बिराटनगरमा बस्दै आएका छन्।

आफ्ना दुई दाजुहरु जिल्लादेखी केन्द्रिय राजनीतिमा स्थापित भए। सुशील दाई मुलुकको प्रधानमन्त्री समेत भए। तर, विजयले शक्तिको दुरुपयोग कहिल्यै गरेनन् र कुनैपनि लाभ लिएनन्। पेशाले सिभिल इन्जिनियरिङमा आवद्ध रहेका स्वर्गिय विजयले पार्टीको बुथ सभापति लगायत भातृ तथा शुभेच्छु संगठन रहेर काम गरे।  

स्वर्गीय सुशील कोइराला गृहनगर नेपालगन्ज आउँदा प्रायःजसो भाई विजय र अरुणको घरमा बास बस्थ्ये। ‘विजय दाईले अरु जस्तो नाता जोडेर कहिल्यै लाभ लिन खोज्नु भएन, विजय दाईको आफ्नो छुट्टै जीवन शैली थियो,’ नेपाली काँग्रेस बाँकेका कार्यसमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि हेमन्त कर्माचार्यले भने। इन्जिनियरिङलाई आफ्नो पहिलो पेशा बनाएपनि लोकतन्त्र, प्रजातन्त्र प्राप्तिको आन्दोलनमा विजय सक्रिय रहेको कमाचार्य सम्झन्छन्।

प्रकाशित: ८ चैत्र २०७४ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App