८ वैशाख २०८१ शनिबार
अर्थ

ड्रिमल्यान्ड रिसोर्टमा २० करोड लगानी थप

रुपन्देही तिलोत्तमा नगरपालिका–५ मा रहेको ड्रिमल्यान्ड गोल्ड रिसोर्ट । तस्बिर : नागरिक

रुपन्देही – स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरेर यहाँको ड्रिमल्यान्ड गोल्ड रिसोर्टले लगानी बढाउँदै सुविधा विस्तार गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा रहेको ड्रिमल्यान्डले २० करोड रुपैयाँ लगानी थपेर पूर्वाधारसहित सेवा विस्तार गरेको हो।

लुम्बिनीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेसँगै विदेशी पर्यटक आगमन बढ्ने अपेक्षामा २० करोड रुपैयाँ लगानी थपेको रिसोर्टका अध्यक्ष गोपाल रानाले बताए। ‘पर्यटकको चाप बढ्ने अपेक्षाले सुविधा थप गरिएको छ,’ रानाले भने, ‘पर्यटन विकासमा टेवा पु-याउन जोखिम मोलेर लगानी बढाएका हौं।’

२४ कोठा सञ्चालनमा रहेको रिसोर्टले २७ कोठा थपेर ५१ पु¥याएको छ। ‘पर्यटकको हैसियत अनुसार बस्ने व्यवस्था मिलाउन डिलक्स, सुपर डिलक्स र सुइट रुम निर्माण गरेका छौं,’ रानाले भने, ‘यसले रुपन्देहीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं।’

पाँच बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, स्टिम सावर, बाल उद्यान, रेस्टुरेन्ट, भिआइपी लन्च कक्ष छ। रिसोर्टमा अहिलेसम्म करिब ४० करोड रुपैयाँ लगानी पुगेको छ। ‘लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्ष्य गरेर पूर्वाधार विस्तार गरेका हौं,’ रानाले भने, ‘पर्यटकलाई सबै प्रकारका सेवा दिन्छौं।’

रिसोर्टले १५ सयजना अट्ने सुविधासम्पन्न हल पनि निर्माण गरेको छ। बुटवल प्रदेश ५ को राजधानी भएकाले राष्ट्रियस्तरका कार्यक्रम सम्पन्न गर्न हलको अभाव रहेकाले ठूलो हल बनाएको रानाले बताए। ‘हलसहित सयौं गाडी पार्किङ गर्ने क्षमता छ,’ उनले भने, ‘तारे होटलकै सेवा दिने उद्देश्यले लगानी गरेका छौं।’ 

बास बस्न र खानको लागि स्तरीय सेवा दिएको रिसोर्टका मेनेजर सुविन थापाले बताए। ‘पर्यटकलाई आत्मीय सत्कारसहित आवश्यक सबै सेवा दिइरहेका छौं,’ थापाले भने।

रिसोर्टमा अहिले स्वदेशी, विदेशी दुवै थरी पर्यटक आउने गरेका छन्। ‘आन्तरिक पर्यटकको पहुँच पनि रहोस् भन्ने हाम्रो चाहना हो,’ थापाले भने, ‘लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरे यस क्षेत्रको विकासमा टेवा पुग्छ।’ यो तीनतारे स्तरको रिसोर्ट हो।

निजी क्षेत्रले जोखिम मोलेर लगानी गरे पनि सरकारी निकायबािट पूर्वाधार निर्माण र प्रचारप्रसार पर्याप्त मात्रामा हुन नसकेको अध्यक्ष रानाले बताए। ‘भैरहवामा निर्माणाधीन विमानस्थल समयमा सम्पन्न गर्नुपर्छ,’ रानाले भने, ‘बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्न सके मुलुककै आर्थिक समृद्धिमा टेवा पुग्छ।’ 

रुपन्देहीमा करिब सवा पाँच अर्ब रुपैयाँको लगानीमा तयार भएको टाइगर रिसोर्टले तीन महिनाअघि सेवा सुरु गरेको थियो। उक्त रिसोर्टले विदेशी पर्यटकलाई लक्ष्य गरेर क्यासिनो पनि सञ्चालन गरेको छ।

प्रसिद्ध धार्मिकस्थल लुम्बिनीलगायत अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्ष्य गरेर बुटवलमा धमाधम होटल खुल्ने र क्षमता बढाउने प्रतिस्पर्धा चलेको छ।

विश्वभर करोडौं बौद्ध धर्मावलम्बी रहेकाले तिनलाई आकर्षित गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन्। पछिल्ला वर्षमा लुम्बिनी र तिलौराकोटमा पर्यटकको आगमन बढेको छ। सन् २०१७ मा लुम्बिनीमा १२ लाख पाँच हजार पर्यटकले भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। 

रुपन्देहीमा लुम्बिनी, तिलौराकोट, रामग्राम जस्ता बुद्धस्थलको प्रचार गर्न सके विदेशी पर्यटक बढ्ने सिद्धार्थ होटल एसोसियसन, रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए। ‘बुद्धस्थलको अझै अपेक्षित प्रचार हुन सकेन,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रले पर्यटन क्षेत्रमा लगानी गरेरमात्र भएन सरकारले पनि प्राथमिकतामा राख्नु प-यो।’

बुटवललाई केन्द्र बनाएर आसपासको क्षेत्रमा पर्यटन विकास टेवा पु-याउन यहाँका होटलहरुले योगदान गर्ने श्रेष्ठले बताए। रुपन्देहीमा आउने विदेशीलाई विभिन्न प्याकेज बनाएर पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्वारी लगायत पर्यटकीय स्थलमा पनि लैजान सकिने बताए। ‘लुम्बिनीभित्रका विभिन्न पक्षको उजागर गर्न सके विदेशीले बसाई एक सातासम्म लम्ब्याउन सक्छन्,’ श्रेष्ठले भने, ‘यसका अतिरिक्त छिमेकी जिल्लाको पनि पर्यटन विकासमा पनि सहयोग गर्न सकिन्छ।’

निजी क्षेत्रले पर्यटनको विकास गर्न लगानी बढाउँदै गए पनि यहाँको पूर्वाधार निर्माणमा ढिलासुस्ती भएको व्यवसायीको गुनासो छ। भैरहवा–बुटवल जोड्ने सडक ६ लेनको बन्दैछ। भैरहवा–लुम्बिनी र लुम्बिनीदेखि कपिलवस्तुको तौलिहवासम्मको सडकलाई चार लेनमा स्तरोन्नति गरिँदै छ। बेलबास–बेथरी, लुम्बिनी सडक, नवलपरासी रुपन्देही र कपिलवस्तुका बुद्धस्थलहरुलाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यको बुद्ध परिपथ निर्माणाधीन छ। यी पूर्वाधार समयमै सम्पन्न भए पर्यटनको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App