coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

‘दर्शकले सुनकेसरीलाई नतर्साऊन्’

काठमाडौं – फिल्म ‘मुखौटा’बाट निर्देशनमा आएका कलाकार अर्पण थापाले सो फिल्मबाट राम्रो निर्देशकका रुपमा आफूलाई स्थापित गर्न सकेनन्। उनले निर्देशन गरेको दोस्रो फिल्म ‘आधा लभ’को अवस्था पनि उस्तै रह्यो। यी दुई फिल्मको व्यापार र दर्शक प्रतिक्रियाबाट तर्सिएका अर्पण आगामी जेठ ११ गतेबाट नयाँ फिल्म ‘सुनकेशरी’ लिएर दर्शकमाझ आउँदैछन्।

राजधानीमा बिहीबार एक कार्यक्रमबीच थ्रिलर फ्लेबरको यो फिल्मको ट्रेलर सार्वजनिक गरियो। कार्यक्रममा निर्देशक अर्पणले फिल्मले दर्शक तर्साए पनि दर्शकले आफूलाई नतर्साउने दाबी गरे। ‘फिल्मको ट्रेलर हेर्दा सबैजना तर्सिनुभयो। फिल्म हेर्दा पनि दर्शक यसरी नै तर्सिउन्। तर दर्शकले सुनकेसरीलाई चाहीँ नतर्साउन्,’ उनले भने, ‘फिल्म बनाउन निकै मेहनत गरेका छौं। नयाँ फ्लेबरको फिल्म भएकाले दर्शकलाई रुचिकर बन्नेछ।’

फिल्मकी नायिका तथा निर्माता ऋचा शर्माले आफूले स्तरीय हरर फिल्म बनाएको दाबी गरिन्। ‘अब सेतो साडी लगाएर दर्शक तर्सिने अवस्था छैन। त्यसकारण फिल्म बनाउँदा हरेक कुरालाई वास्तविक बनाउनुपर्छ,’ उनले भनिन्, ‘हामीले अस्ट्रेलियामा सबैभन्दा पुरानो घरमा फिल्म खिचेका छौं। यो वास्तविक कथाको फिल्म नभए पनि फिल्म हेर्दा दर्शकलाई त्यस्तै लाग्न सक्छ।’

फिल्मका निर्माता भीम न्यौपानेले हरर फिल्मको निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले त्यो चुनौतीको सामना गरेको बताए। नेपालको सन्दर्भमा आफ्नो फिल्मको हरर शैली अन्य फिल्मको भन्दा फरक रहेको उनको दाबी थियो।

फिल्ममा ऋचा र भीमसहित रविन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारको अभिनय छ। फिल्ममा अष्ट्रलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको विषयलाई प्रस्तुत गरिएको छ।

फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा छन् भने मनोज अधिकारी कार्यकारी निर्माता छन्। फिल्ममा कालीप्रसाद बास्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ।

प्रकाशित: ९ चैत्र २०७४ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App