coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टासीको उत्कृष्ट पुनरागमन

काठमाडौं – साबिक विजेता टासी छिरिङले गोकर्ण गल्फ क्लबमा बिहीबार दोस्रो दिन ९ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा अग्रता लिएका छन्।

३६ होलको खेल समाप्तिपछि समग्रमा १० अन्डर १ सय ३४ स्कोर गरेका टासी अघिल्लो दिन अग्रस्थानमा रहेका टंकबहादुर कार्कीभन्दा ४ स्ट्रोकले अघि लागेका छन् । बिहीबार दोस्रो दिन ४ अन्डर ६८ को कार्ड बनाएका टंकबहादुरको समग्र स्कोर ६ अन्डर १ सय ३८ छ।  

दोस्रो दिन २ अन्डर ७० खेलेका शुक्रबहादुर राई १ ओभर १ सय ४५ स्कोरसहित तेस्रो स्थानमा रहँदा सुवास तामाङ ३ ओभर १ सय ४७ स्कोरसहित चौथो स्थानमा छन् । सुवासले बिहीबार १ अन्डर ७१ खेलेका थिए । यसै गरी ४ अन्डर ६८ स्कोर गरेका पृथ्वी मल्ल (४ ओभर १ सय ४८) पाँचौं तथा वाङचेन धेन्दुप (६ ओभर १ सय ५०) छैटौं स्थानमा छन् । वाङचेनले बिहीबार ६ ओभर ७८ को स्कोर गरेका थिए । सुमन परियार समग्रमा ९ ओभर १ सय ५३ स्कोरसहित सातौं स्थानमा रहँदा अजित विक, नीरज तामाङ र विजय श्रेष्ठ इनहाउस समान १० ओभर १ सय ५४ स्कोरका साथ संयुक्त रूपमा आठौं स्थानमा छन्।

शुक्रबारसम्म चल्ने प्रतियोगितामा नेपालसहित बंगलादेश र भुटानका ४९ एमेच्योर गल्फरले उपाधिका लागि ५४ होलको प्रतिस्पर्धा गर्नेछन् । बिहीबार दोस्रो दिन ३६ होलको खेल समाप्तिपछि अन्तिम दिनका लागि शीर्ष ३० खेलाडी छनोट भएका छन्।

टिममा नेपालको वर्चस्व
टिम स्पर्धातर्फ टंकबहादुर र शुक्रबहादुर रहेको नेपाल ‘ए’ ले समग्रमा २ सय ८३ स्कोरका साथ उपाधिमा कब्जा जमाएको छ । टंकले पहिलो दिन ७० र दोस्रो दिन ६८ स्कोर  गरेका थिए भने शुक्रले पहिलो दिन ७५ र दोस्रो दिन ७० स्कोर गरेका थिए।

युवराज भुजेल (७८ र ८०) र नीरज तामाङ (८० र ७७) रहेको नेपाल ‘सी’ समग्रमा ३ सय १२ स्कोरसहित दोस्रो हुँदा सुरेश तामाङ र अजित बिके सम्मिलित नेपाल ‘बी’ ले ३ सय १५ स्कोरका साथ तेस्रो स्थान हासिल गर्यो।

प्रकाशित: ९ चैत्र २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App