७ वैशाख २०८१ शुक्रबार
खेल

धेरै अवसरका लागि सान्चेज आशावादी

लन्डन – जनवरी सरुवामा इङ्लिस प्रिमियर लिग क्लब आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित स्ट्राइकर एलेक्सिस सान्चेजले क्लबमा धेरैभन्दा धेरै अवसर पाउनेमा आशावादी भएको बताएका छन् ।

युनाइटेड आबद्ध भएपछि १० खेलमा सहभागिता जनाएका सान्चेजले एक गोल मात्र गरेका छन् ।सान्चेजले इमिरेट्सबाट ओल्ड ट्राफोर्डमा भित्रँदा सुरुआती दिनमा स्वाभाविक लय समात्न केही कठिन भए पनि अहिले आफू युनाइटेडको लयसँग अभ्यस्त भइसकेको बताएका छन्।

‘क्लबमा धेरैभन्दा धेरै अवसरको माग गर्दा मैले थप सुधारिएको प्रदर्शन गर्दै आफूलाई प्रमाणितसमेत गर्न सक्नुपर्छ,’ सान्चेजले भने, ‘युनाइटेडमा आबद्ध भएसँगै धेरैले म छिट्टै स्वाभाविक लयमा फर्किएको हेर्न चाहन्थे तर त्यो त्यति सहज थिएन।’

२९ वर्षे चिलीका स्ट्राइकर सान्चेजले युनाइटेडमा थप मिहिनेत गर्ने उद्देश्यले आफूले यसै साताका लागि घोषित दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीमा उपलब्ध नहुने निर्णय लिए पनि कप्तान क्लाउडियो ब्राभोसँगको छलफलबाट भने उक्त निर्णय परिवर्तन गरेको बताए।

‘मैले मैत्रीपूर्ण खेल नखेल्ने निर्णय गरेको थिएँ । तर यस विषयमा एकल निर्णय लिनुभन्दा ब्राभोसँगको छलफलपछि सही निर्णय निस्कने निष्कर्षका साथ मैले उनीसँग भेटें,’ सान्चेजले भने, ‘उनले राष्ट्रिय टोलीलाई अझै मेरो आवश्यकता भएको बताए । त्यसैले म निर्णय परिवर्तन गर्न बाध्य भएँ ।’ सन् २०१८ को रूस विश्वकपमा छनोट हुन असफल भएको चिलीले शनिबार स्विडेन र मंगलबार डेनमार्कसँग खेल्दै छ।

प्रकाशित: ९ चैत्र २०७४ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App