८ वैशाख २०८१ शनिबार
समाज

पराजुलीविरुद्धका मुद्दा विवरण इजलासले माग्यो

काठमाडौं – सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अवहेलना मुद्दा दरपीठविरुद्ध दर्ता गरिएको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले पराजुलीविरुद्ध दर्ता हुन लगिएको मुद्दाको पूर्ण विवरण पेश गर्न सर्वोच्च प्रशासनलाई आदेश गरेको हो। 

मनोज अधिकारीले प्रधानन्यायाधीश पराजुली पदमै रहँदा मुद्दा प्रभावितको प्रयास गरेको भन्दै अवहेलना निवेदन पेश गरेका थिए। तर, सर्वोच्च प्रशासनले पराजुलीविरुद्धको निवेदन दर्ता गर्ने प्रमाण नपुगेको भन्दै दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको थियो। 

न्यायपरिषद्ले सात महिनाअघि नै समयावधि सकिएको पत्रपछि राजिनामा दिएर बाहिरिएका प्रधानन्यायाधीश पराजुली विरुद्ध दर्ता अवहेलना मुद्दा गर्न खोजिएको हो । कैफियत प्रतिवेदनपछि पराजुलीविरुद्ध मानहानीको मुद्दा दर्ता हुने नहुने भन्ने विषयमा निक्र्यौल हुनेछ। 

रिट निवेदक अधिकारीले दरपीठ गरेपछि त्यसविरुद्ध फागुन २५ मा निवेदन दिएका थिए। दरपीठ विरुद्धको मुद्दामा बिहीबार कार्कीको एकल इजलासबाट सर्वोच्च प्रशासनलाई कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ।

सर्वोच्च प्रशासनले पराजुलीको विषयमा के कारणले मुद्दा दर्ता नगरिएको भन्ने बारे पूर्ण विवरण इजलासलमा पेश गर्नुपर्ने भएको छ । मुद्दाको पूर्ण विवरण हेरेपछि पराजुलीविरुद्ध मानहानीको मुद्दा दर्ता हुने, नहुने विषयमा सर्वोच्चले निर्णय गर्नेछ। 

पराजुलीको कुन काम अवहेलना हो भन्ने पुष्टि हुने आधिकारिक प्रमाण नभएको भन्दै सर्वोच्च प्रशासनले निवेदन दरपीठ गरेका थिए। सञ्चारमाध्यममा आएका समाचारका आधारमा अवहेलना मुद्दा नलाग्ने दरपीठ आदेशमा उल्लेख गरिएको थियो । पराजुली पदमै रहेका बेला डाक्टर केसीका कानुन व्यवसायी सुरेन्द्र भण्डारीलाई धम्की दिएको निवेदकले दाबी गरेका थिए। 

पराजुलीका फरक जन्ममिति सहितका नागरिकता, शैक्षिक प्रमाणपत्रका आधारमा न्यायाधीश भई कार्यसम्पादन गरेकाले अदालतको अवहेलना भएको निवेदनमा जिकिर गरिएको छ। 

केसीले पेश गरे लिखित जवाफ 
डाक्टर गोविन्द केसीले सर्वोच्चको आदेशअनुसार लिखित जवाफ पेश गरेका छन् । प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा सार्वजनिक रुपमा प्रश्न उठाइरहेका डा. केसीविरुद्ध गोविन्द बोहोराले अदालतको मानहानी गरेको मुद्दा दर्ता गरेका थिए। 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले केसी विरुद्ध परेको चौथो अवहेलना मुद्दामा कारण सहित उपस्थित हुन आदेश दिएको थियो ।डा. केसीले अदालतलाई होच्याएको र प्रधानन्यायाधीशलाई विभिन्न शब्द प्रयोग गरी अदालतको अवहेलना गरेको दाबी गर्दै बोहोराले फागुन १६ मा अवहेलना मुद्दा दर्ता गराएका थिए। 

डाक्टर केसीले पराजुलीले इजलासले गरेको आदेश मान्य नहुने भन्दै लिखित जवाफ पेश गरेका थिएनन् । पराजुली बाहिरिएपछि केसीलेसर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन्। 

प्रकाशित: ९ चैत्र २०७४ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App