७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेशको प्राथमिकतामा खेलकुद प्रतिष्ठान : मुख्यमन्त्री

मकवानपुर – हेटौंडामा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेको भन्दै उनले हेटौंडा उपमहानगरपालिका–१६, गौरीटारमा रहेको प्रतिष्ठानको बिहीबार अवलोकन गर्दै यस्तो बताएका हुन्। ‘प्रतिष्ठान निर्माणपछि मकवानपुरसहित प्रदेशकै खेल पर्यटनमा महत्वपूर्ण उपलब्धि हासिल हुन्छ,’ उनले भने, ‘प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्न हामी तयार छौं।’

प्रदेश सरकारले प्रतिष्ठान निर्माणलाई उच्च प्राथमिकतामा राखेपछि खेलाडी, प्रशिक्षक, खेलप्रेमीले खुसी व्यक्त गरेका छन् । नेपालमा खेलक्षेत्रको विकासको लागि रंगशाला नहुनु प्रमुख समस्याको रूपमा रहेको भन्दै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले प्रतिष्ठान निर्माणमा प्रदेश सरकारले देखाएको चासोले धेरै खुसी लागेको बताए।

प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माण अन्तिम चरणमा रहेको छ। फुटबल रंगशाला, क्रिकेट रंगशालासहित विभिन्न प्रतियोगिता खेल्ने स्थलहरू निर्माण गर्ने योजना रहे पनि सरकारी बेवास्ताका कारण निर्माणस्थलमा झाडी बढ्दै गएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रतिष्ठानको ८ वर्षअघि शिलान्यास गरेका थिए। नेपाल नेतृत्वको सरकारपछिका केन्द्रीय सरकारले प्राथमिकता नदिएपछि प्रतिष्ठान निर्माण अन्योलग्रस्त बनेको थियो।

२३ बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान निर्माणका लागि करिब ३ अर्ब लाग्ने अनुमान छ । प्रतिष्ठानमा फुटबल, भलिबल, क्रिकेट, मार्सलआर्ट, दौड, पौडी, ब्याडमिन्टन, टेनिसलगायत दुई दर्जनभन्दा बढी खेलका लागि पूर्वाधार निर्माण गर्न सकिने जनाइएको छ।

प्रकाशित: ९ चैत्र २०७४ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App