पेरिस – निर्वाचन अभियानका लागि लिबियाली नेता मोहम्मर गद्दाफीसँग सहयोग पाएको भन्ने आरोपका कारण आफ्नो जीवन नर्क बनिरहेको फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीले बताएका छन्।
‘कुनै भौतिक प्रमाण बिना मलाई आरोप लगाइयो,’ म्याजिस्ट्रेटसँग पूर्वराष्ट्रपति सार्कोजीले बताएको ली फिगारो पत्रिकाले जनाएको छ।
सन् २००७ मा भएको राष्ट्रपतीय निर्वाचनमा लिबियाको सार्वजनिक कोषको गलत प्रयोगद्वारा गैरकानुनी रूपमा आएको सहयोग लिएको भन्ने आरोपअन्तर्गत सार्कोजीमाथि औपचारिक अनुसन्धान भइरहेको छ। ६३ वर्षे पूर्वराष्ट्रपति सार्कोजीले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन्।
प्रहरी हिरासतमा रहेका मध्यदक्षिणपन्थी राजनीतिज्ञ सार्कोजीलाई यस साता मात्रै दुई पटक सोधपुछ भएको छ। मोहम्मर गद्दाफीबाट आफूले निर्वाचन अभियानका लागि सहयोग लिएको भनेर आरोप लगाइरहेको लिबियाली आरोपकर्ताले सन् २०११ मा गद्दाफीको शासन अन्त्य गर्नका लागि भएको आन्दोलनमा आफूले फ्रान्सेली सेना खटाउनेबारे गरेको निर्णयको बदला लिइरहेको सोधपुछका क्रममा सार्कोजीले बताए।
बिहीबार फ्रान्सबाट प्रकाशित हुने ली फिगारो पत्रिकाले सार्कोजीले अनुसन्धानका क्रममा अदालतसमक्ष दिएको बयानको पूर्ण पाठ प्रकाशित गरेको छ।
उक्त विवरणमा सार्कोजीले आफूमाथि लागेको आरोप अत्यन्तै जटिल रहेको विषयमा आफू सचेत रहेको भएपनि यस विषयले आफ्नो मानहानि गरेको र सन् २०११ को मार्च महिनामा गद्दाफीले फ्रान्सेली निर्वाचनमा आफूले सार्कोजीलाई सहयोग गरेको पहिलो पटक दाबी गरेदेखि नै आफ्नो जीवन नर्क बनेको बताएका छन्।
लिबिया मुद्दा के हो?
सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा सोसलिस्ट उम्मेद्वार फ्रान्सिस होलान्दसँग पराजित भएपछि सार्कोजीले मोहम्मर गद्दाफीबाट आफ्नो निर्वाचन अभियानका लागि करोडौं युरो गैरकानुनी रूपमा लिएको भन्ने आरोपबारे सन् २०१३ बाट औपचारिक रूपमा अनुसन्धानको थालनी भएको थियो। फ्रान्सेली–लेबनानी व्यापारी जियाद ताकिदेनी र गद्दाफी शासनका केही पदाधिकारीले सार्कोजीले निर्वाचन अभियानमा आर्थिक सहायता लिएको दाबी गरेका थिए। सन् २०१६ को नोभेम्बरमा ताकिदेनीले फ्रान्सेली समाचार वेबसाइट मिडियापार्टलाई दिएको अन्तर्वार्तामा सन् २००६/२००७ मा आफूले दुई सय र पाँच सय युरोले भरिएका तीनवटा सुटकेस सार्कोजी र उनका चिफ अफ स्टाफ क्लाउड गुयन्टलाई हस्तान्तरण गरेको बताएका थिए। उनले उक्त रकम लिबियाका तत्कालीन शासक कर्णेल मोहम्मर गद्दाफीबाट आएको र करिब ६२ लाख अमेरिकी डलर बराबर रहेको बताएका थिए। पूर्व राष्ट्रपति सार्कोजीलाई निर्वाचन अभियानमा सहयोग लिएको आरोपमा भएको छुट्टै अनुसन्धान अन्तर्गत सन् २०१४ मा पक्राउ गरिएको थियो। फ्रान्सका पूर्व राष्ट्रपति पक्राउ परेको त्यो पहिलो घटना पनि थियो।
प्रकाशित: ९ चैत्र २०७४ ०५:२५ शुक्रबार