८ वैशाख २०८१ शनिबार
विचार

रन वेको शून्य दुई र दुई शून्य

युएस–बंग्ला एयरको दुखद् दुर्घटनाले संसार हल्लायो। तर नेपाली र बंग्लादेशीहरूको निधनले गर्दा नेपाल र बंग्लादेशलाई भने भित्रसम्म हल्लायो। यस्तो बेला मृतकका परिवारलाई ढाडस प्रदान र घाइतेहरूको स्वास्थ्य चिन्तामा सबै साथ लाग्नुपर्ने थियो तर स्थिति अर्कै देखियो। धमाधम रेस्क्यु भइरहेको थियो। आगो बढिरहेको थियो। जीवितहरू जलिरहेका थिए। अनियन्त्रित रमितेहरू रेक्स्युमा बाधा दिँदै लाइभ मोबाइलिङमा व्यस्त थिए भने मुख्य जिम्मेवार हवाई विभागका हाकिम स्वयं प्रेसलाई आपूmहरूबाट कुनै गल्ती नभएको र पाइलटको अटेरीपनले नै दुर्घटना घटेको भनी प्रमाणित गर्दै थिए। दुई शून्यबाट आइज भनेको पाइलटले जबर्जस्ती शून्य दुईबाट ल्यान्ड गर्न खोजेकाले यस्तो भएको हो। पाइलट दोषी हो। हामी निर्दोष छौँ आदि। उद्धार कार्य हुँदाहुुँदै एयर ट्राफिक कन्ट्रोलको पाइलट र एटिसीको संवाद सामाजिक सञ्जालमा हाली भाइरल बनाउने काम भइरहेको थियो। 

दुर्घटनाको चार मिनेटभित्रमा नजिकैका सैनिक र सात मिनेटभित्रमा उत्तरछेउको ब्यारेकका कालिप्रसाद गण र सैनिक विमान सेवाका गरी सात सय सैनिक जुटिसकेका थिए। यस्तो शीघ्र उद्धारको उदाहरण कतै छैन होला सायद। तत्पश्चात् पुगेका दमकललगायत पुलिस र एपिफ तथा अन्य सिभिलहरूका सक्रियताबाट यति धेरै ज्यान जोगिएको विषयले सामाजिक सञ्जाल तथा मिडियामा प्रशंसाको त के कुरा चर्चासम्म पनि पाएन। 

हाम्रो रन वे उत्तरबाट दक्षिण फर्किएको छ, ठीक १८० डिग्रीमा। हरेक रन वे जुन दिशामा परे पनि एकअर्का बीच १८० डिग्री हुनैपर्छ। दुवै किनारको नाम हुन्छ, आआफ्नो मेग्नेटिक नर्थ अर्थात चुम्बकीय उत्तरका आधारमा। चुम्बकले जहिले पनि चुम्बकीय उत्तरलाई ताकिरहेको हुनाले त्यसै आधारमा अन्य डिग्री निर्धारण हुन्छ। जहाजका उडानका सबै नेभिगेसन प्रणाली, नक्सा तथा रेफरेन्स वार्ताहरू यही मेग्नेटिक नर्थकै आधारमा बनेको र उपयोग भइरहेको हुन्छ।

हाम्रो विमानस्थलको रनवेको उत्तरी भाग मेग्नेटिक नर्थलाई जिरो डिग्री मानेर हेर्दा २० डिग्री र दक्षिण भाग ठीक त्यसको १८० डिग्री फरक अर्थात् २०० डिग्रीमा पर्छ। दश दशको ब्राकेटमा मात्र गरिन्छ। बीचको हिसाब हुन्न। हरेक दश भित्रलाई दश, बीस, तीस आदिको मात्र हिसाब गरिन्छ। एक सर्कलमा हुने ३६० डिग्री तीन अंक भएकाले सबैलाई तीन अंक बनाइन्छ। जस्तै कि, ९० डिग्रीसम्मलाई पहिले नै शून्य थपिन्छ। ०१०, ०२०, ०३० देखि ०९० सम्म। ०९० सम्म भने पहिलेको शून्य र १०० पछाडिको भने पछाडिको जिरो हटाइन्छ। तसर्थ हाम्रो विमानस्थलको ०२ भनेको २० डिग्री र २० भनेको २०० डिग्री मेग्नेटिक नर्थ हो। दक्षिणमा ०२ (जिरो टु) र उत्तरमा २०(टु जिरो) नाम दिई त्यही नै ल्यान्ड गर्दा पाइलटले बुझ्ने गरी सुल्टोमा लेखिएको हुन्छ। अर्थात् दक्षिणबाट ल्यान्ड गर्नेले बुझ्छ कि रनवे दक्षिणबाट उत्तरतिर २० डिग्रीमा र उत्तरबाट ल्यान्ड गर्नेले बुझ्छ कि उत्तरबाट दक्षिणतिर २०० डिग्रीमा लम्पसार छ। जहाजको आफ्नो नेभिगेसनल उपकरणलाई पनि यही डिग्रीमा फिक्स गरेर सीधा रेखामा पहिलो पटक आउने पाइलटले पनि अवतरण गराउन कठिन हुँदैन। एकै यएरपोर्टमा समानान्तर रेखामा हालसम्म सिकागोमा तीन रन वे छ। एल २८, सि २८ र आर २८ (अर्थात् लेफ्ट, सेन्टर र राइट)। तर अर्को दिशाबाट आउँदा भने त्यही एल २८ को रनवेलाई आर १० भनिएको छ, अवतरण गर्दाको जहाजको आँखाबाट।

तर यो नाम एभिएसनले राख्ने होइन। संसारमै यही लागु हुने हुँदा कसरी नाम कन्फ्युजन भएर दुर्घटना भएको भन्ने कुरालाई सामाजिक सन्जालमा भाइरल बनाइयो। हुँदाहुँदा आफ्नो मूर्खतालाई प्रमाणित गर्न बंग्ला हवाई विभागदेखि बंगाली पाइलटले पनि यही भने। कसैले थप तर्क दिए, एकातिरको नाम रामहरि लेखेपछि किन अर्कातिर हरिराम लेखेको? 

वास्तवमा पृथ्वीमा तीन किसिमका नर्थ हुन्छन्। एक, ठीक उत्तरी ध्रुव जो सधैँ स्थिर छ। जसलाई जियोग्राफिकल ध्रुव या पोल भनिन्छ। ध्रुव ताराले सीधा जियोग्राफिकल नर्थ देखाउँछ। तर यो ब्रह्माण्डै गतिमा दौडिरहेकाले केही लाख वर्ष पहिले अर्कै ध्रुव तारा थियो भने अरू केही लाख वर्षपछि अर्कै ध्रुव तारा उक्त स्थानमा आउनेछ। हाम्रो गेलेक्सी अर्थात् आकाश गंगा एक घन्टामा करिब ७८ हजार किमीको गतिमा दगुरिरहकोले सूर्य पनि त्यही गतिमा दौडिरहेको र साथमा पृथ्वी लगायत यो सौर्यमण्डल पूरै सोही गतिमा गइरहेकाले अरू कुनै गेलेक्सीको उक्त पोल स्टार आफ्नो गेलेक्सीसाथ हाम्रो गेलेक्सीबाट पर गइसकेको हुनेछ। केही लाखपछि हामीले आकाशमा देख्ने गरेका दृश्य तथा सबै राशिहरू कता पुग्नेछन् कता?

अर्को नर्थ हो हाम्रो विषयको नर्थ अर्थात् मेग्नेटले देखाउने नर्थ अर्थात् मेग्नेटिक नर्थ। हाल यो नर्थ उत्तरी क्यानाडामा पर्छ । पृथ्वीको कोर अर्थात् गर्भविन्दुमा हुने तरल धातुको हर्कतमा आउने परिवर्तनले पृथ्वीको मेग्नेटिक फिल्डमा परिवर्तन आइरहन्छ। यही परिवर्तनले म्याग्नेटिक नर्थमा परिवर्तन भइरहने हुँदा अन्तर्राष्ट्रिय हवाइ उडान एफएए संस्थाले हरेक पाँच वर्षमा संसारभरका हरेक अन्तर्राष्ट्रिय विमान रन वे तथा हवाई नक्सामा अपडेट गरिरहन्छ । २००१ मा उत्तर क्यानाडको एलिजमेर् टापु ८१.३ नर्थमा थियो भने २००५ मा ८३.१ र २००९ मा ८४.९ मा पुगेको थियो। पृथ्वीको कोरमा परिवर्तनको अनुपातमा मेग्नेटिक अर्थ परिवर्तन हुने हुँदा यसको मात्रा पनि कम या बढी हुनसक्छ। त्यस हिसाबले काठमाडाँैको विमानस्थलको मेग्नेटिक नर्थ पनि परिवर्तन भइरहेकाले हालको ०२ र २० नाम पनि कुनै दिन ०३ र ३० नाममा परिवर्तन हुन सक्नेछ। हुन त तत्कालै परिवर्तन गर्नुपर्दैन किनभने दश दश डिग्रीको ब्राकेटमा लेखिएको हुन्छ। घुमिरहेको पृथ्वीको एक्सिसको स्थायित्वका कारणले जिओग्रफिकल नर्थ र साउथ सदैव उही स्थानमा रहे पनि मेग्नेटिक नर्थ सर्दै जाँदा कुनै दिन साउथ पोलतिर मेग्नेटिक नर्थ तथा नर्थतिर मेग्नेटिक साउथ देखाउनेछन् मेग्नेटले, तर लाखौँ वर्ष लाग्नेछ। र त्यसबेलाका मानवलाई त्यही स्वाभाविक लाग्नेछ। 
  
जोग्राफिकल पोलार नर्थ र पोलार साउथको महत्व नभएर मेग्नेटिक नर्थ साउथको महत्व एभिएसनलाई बढी हुन्छ। किनभने, आजकालका जहाजहरू सबै अटो हुन् अर्थात् अटोमेटिक नेभिगेसन गरेर उड्ने हो। पाइलटले तल जमिन हेरेर चिनेको ल्यान्डमार्कको आधारमा जेटहरू उडाइने होइन। मेग्नेटले नै नेभिगेसन गर्ने हुनाले नै मेग्नेटिक नर्थ र मेग्नेटिक साउथलाई नै पूर्ण आधार मानिन्छ। तसर्थ कुनै पनि नयाँ पाइलटले कुनै पनि नयाँ ठाउँमा यिनैका अध्ययन र तथ्यांकका आधरामा पुग्ने र ल्यान्ड गर्ने तथा टेकअफ गरेर फर्कने हो। पूरा नेभिगेसन सिस्टमले नै विमान एक्कैचोटि लाखौँका संख्यामा आकाशमा उडिरहेका हुन्छन् एकअर्काबाट जोगिएर। हुन त मानिसले चुम्बकको शक्ति बुझेदेखि नै मेग्नेटिक चुम्बककै आधारमा पानी जहाजहरूको नेभिगसन गर्न जानेका तथा अमेरिगो जस्ता स्पेनिस नेभिगेटरहरूले कोलम्बसभन्दा धेरै वर्ष पहिले अमेरिका पुगेर त्यसको डाइरेक्सनल नक्सा बनाउन सकेका हुन्। जसका आधारमा कोलम्बस पुगे पनि अमेरिगोकै नाममा अमेरिका बन्यो। तर मेग्नेटिक नर्थ जिओग्राफिकल नर्थभन्दा फरक हुन्छ भन्ने बुझ्न भने धेरै समय लाग्यो मानवलाई।

प्रकाशित: ९ चैत्र २०७४ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App