७ वैशाख २०८१ शुक्रबार
समाज

जनप्रतिनिधि नै बालुवा तस्करीमा

बाग्मती गाउँपालिकास्थित खानीखाेलामा अवैधरुपमा बालुवा उत्खनन् गरिँदै । तस्बिर : काष्ठमण्डप

दुई दशकपछि चुनिएका स्थानीय जनप्रतिनिधि जनताको काम गर्नुको साटो बालुवा, रोडा र ढुंगाको अवैध निकासीमा लाग्न थालेका छन्। 

ललितपुरको दक्षिण भेगका स्थानीय जनप्रतिनिधि यस्तो कारोबारमा संलग्न हुन थालेका हुन्। गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनालगायत जनप्रतिनिधि अवैध निकासीमा लागेको स्थानीयवासी बताउँछन्।  

‘खोला र सडकछेउका जग्गा उधिनेर धमाधम बालुवा तस्करी भइरहेको छ,’ वाग्मती गाउँपालिकास्थित भट्टेडाडाँका स्थानीय श्याम लोप्चनले भने, ‘यसमा मुख्य हात जनप्रतिनिधिकै छ, उनीहरूले कडाइ गरेको भए यसरी बालुवा र ढुंगा तस्करी हुने थिएन।’

‘खोला र सडकछेउका जग्गा उधिनेर धमाधम बालुवा तस्करी भइरहेको छ, यसमा मुख्य हात जनप्रतिनिधिकै छ, उनीहरूले कडाइ गरेको भए यसरी बालुवा र ढुंगा तस्करी हुने थिएन ।’

स्थानीय जनप्रतिनिधिकै संलग्नतामा ललितपुरका खानीखोला, ठोस्ने खोला, टुंगुन खोलासहित स्थानीय साना खोलाबाट बालुवा तथा ढुंगाको अवैध उत्खनन र निकासी हुने गरेको छ। 

प्रहरी र जनप्रतिनिधिसँग सेटिङ मिलाएर दैनिक २० टिपरभन्दा बढी बालुवा र ढुंगा निकासी भइरहेको स्थानीयवासी बताउँछन् । ललितपुरमा उत्खनन गरिएको बालुवा र ढुंगा काठमाडौं, मकवानपुर, धादिङलगायत जिल्लामा पुर्‍याइन्छ । 
ढुंगा र बालुवा निकासीमा प्रयोग हुने टिपर र उत्खननमा प्रयोग गरिने स्काभेटर तथा डोजर समेत जनप्रतिनिधिकै भएकाले अवैध कार्यमा उनीहरूको संलग्नता पुष्टि हुन्छ।   

वाग्मती गाउँपालिका वडा– ३ का वडाध्यक्ष तिमिल्सिनाको नाममा रहेको बा.२ख ९८१६  नम्बरको टिपरसहित उनकै नाममा रहेका स्काभेटर र डोजर अवैध बालुवा उत्खनन् र निकासीमा प्रयोग भइरहेका छन् । तिमिल्सिना स्वयं आफ्ना नामका सवारीसाधन र उपकरण बालुवा उत्खनन र निकासीमा प्रयोग भएको स्विकार्छन् । तर, उनी बालुवा उत्खनन र निकासी गैरकानुनी नभएको दाबी गर्छन्। 

उनले बगरमा खेर गएको बालुवालाई विकास निर्माणमा प्रयोग गरेको बताए । ‘हामीले मात्रै बालुवा झिकेका छैनौँ,’ उनले भने, ‘अरुले पनि खोलाको बालुवा झिकेर तस्करी गरेका छन्, यसलाई सबै मिलेर रोक्नुपर्छ ।’ उनका अनुसार गाउँपालिकाले प्रतिटिपर ६ रुपैयाँ कर उठाएर निकासी गर्न छुट दिएको बताए। 

तिमिल्सिना मात्र होइन, दक्षिणी ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले सञ्चालन गरेका २० वटाभन्दा बढी टिपर बालुवा निकासीमा प्रयोग भइरहेका छन् । गत साता भट्टेडाँडा पुग्दा बा.४ख ५१०६, बा.४ख २५२६, बा.४ख ४५५१, बा.२क ३४६७ लगायत नम्बर प्लेट भएका टिपरले विभिन्न खोलाबाट बालुवा तस्करी गरिरहेको भेटिएको थियो।
दक्षिणी ललितपुरबाट गोदावरी नगरपालिकास्थित चापागाउँ हुँदै विभिन्न क्षेत्रमा बालुवा र ढुंगा तस्करी हुने गरेको छ। एउटा टिपरले दैनिक चार पटकसम्म बालुवा र ढुंगा तस्करी गर्ने गरेको स्थानीयवासी बताउँछन्। 

दक्षिण ललितपुरबाट गुडेका मालवाहक टिपर तथा अन्य सवारीसाधनको मुख्य चेकपोस्ट महानगरीय प्रहरीवृत्त चापागाउँ हो । अवैध रूपमा भइरहेको बालुवा र ढुंगा निकासीलाई भने प्रहरीले समेत बेवास्ता गरिरहेको छ। 

दक्षिणी ललितपुरबाट गोदावरी नगरपालिकास्थित चापागाउँ हुँदै विभिन्न क्षेत्रमा बालुवा र ढुंगा तस्करी हुने गरेको छ । एउटा टिपरले दैनिक चार पटकसम्म बालुवा र ढुंगा तस्करी गर्ने गरेको स्थानीयवासी बताउँछन्। 

प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले रातिको समयमा आउने टिपरलाई निगरानी बढाएको जानकारी दिए । उनले पछिल्लो समय दक्षिण ललितपुरलाई जोड्ने अरु बाटा पनि खुलेकाले ती बाटोबाट बढी तस्करी हुने गरेको बताए । ‘हामीले सक्दो निगरानी गर्ने हो,’ उनले भने, ‘तर, अधिकांश टिपरमा जनप्रतिनिधिकै नाम जोडिएर आउँछन्, त्यसैले पनि काम गर्न अप्ठेरो परेको छ ।’  

अरु सुत्छन्, तस्कर जाग्छन्  
वाग्मती गाउँपालिका– ३ मा पर्ने खानीखोला, ठोस्नेखोला र टुंगुन खोलामा रात परेपछि ढुंगा, गिटी र बालुवा उठाउनेको भीड लाग्छ । खोला किनारमा टिपर लामबद्ध हुन्छन्। जनप्रतिनिधिको सहारामा टर्चलाइट बालेर खोलाको बालुवा उठाउन ५० भन्दा बढी व्यक्ति सक्रिय छन्। 

ढुंगा, गिटी र बालुवाले भरिएका ती टिपर काठमाडौं, ललितपुर, हेटौँडा, धादिङलगायत ठाउँसम्म पुग्छन् । स्थानीयले विरोध गर्लान् भनेर रातको समयमा सञ्चालन गरिएका १५ भन्दा बढी टिपर छन्।  

दक्षिण ललितपुरबाट यसरी ल्याइएको बालुवा ललितपुरको चापागाउँ, नख्खु, एकान्तकुना हुँदै काठमाडौं तथा धादिङसम्म पुग्ने गरेको चापागाउँका स्थानीय अजयमान महर्जनले जानकारी दिए । उनले यो भेगका सबै जनप्रतिनिधिको ध्यान र आँखा अहिले गिटी, बालुवा र ढुंगामा रहेको बताए । ‘गोदावरी नगरपालिका र वाग्मती गाउँपालिकाको सेटिङमा अहिले दक्षिण ललितपुरबाट बालुवा, गिटी सहरमा भित्रिने गरेको छ,’ उनले भने, ‘यसमा जनप्रतिनिधिको ठूलो चलखेल छ।’  

गाउँका खोलाबाट सित्तैमा उठाएको बालुवा तस्करले १५ देखि २० हजारसम्म बेच्ने गरेका छन् । भट्टेडाँडाबाट काठमाडौं पुग्न करिब तीन घन्टा लाग्छ । काठमाडौंलाई हेटौँडासँग जोड्ने मुख्य सडक कान्ति लोकमार्ग फराकिलो भएसँगै टिपरमा यसरी बालुवा, गिटी र ढुंगा तस्करी हुन थालेको भट्टेडाँडाका स्थानीय सुवासराम तिमिल्सिनाले जानकारी दिए। 

‘यहाँका प्रहरी, जनप्रतिनिधि र ठूला व्यवसायी मिलेर बालुवा र ढुंगा तस्करी गरेका छन्,’ उनले भने, ‘हामीले विरोध गरेको हो, तर टेरेनन्।’ 

त्यसो त दक्षिण ललितपुरको गिटी, बालुवा र ढुंगा गोदावरी नगरपालिका हुँदै सहरमा भित्र्याइन्छ । गोदावरी गाउँपालिकाका मेयर गजेन्द्र महर्जनले भूकम्पपछिको पुनर्निर्माणलाई सहयोग गर्ने उद्देश्यले बालुवा र गिटी सहरमा ल्याइएको स्विकारे । ‘पहिले–पहिले बन्द भएका केही खानी पनि हामीले अहिले सञ्चालन गरेका छौँ,’ उनले भने, ‘सस्तोमा खोलाको किनारमा भएको वस्तुलाई बजारसम्म ल्याएर बिक्री गर्नु राम्रै त हो नि।’  

मनपरी कर संकलन
वाग्मती गाउँपालिकाले मनपरी रूपमा सवारीकर असुल्ने गरेको छ । गाउँपालिका अध्यक्ष र वडाध्यक्षकै मिलेमतोमा बोर्ड टाँसेर सवारीकर उठाउन थालिएको हो । यसरी उठाएको कर कहाँ जान्छ भन्ने स्थानीयलाई थाहा छैन । गाउँपालिकाले पनि यसको कुनै लेखाजोखा राखेको छैन । यहाँ दैनिक चार हजारभन्दा बढी सवारी कर उठ्ने गरेको भट्टेडाँडाका स्थानीय सुन्दर तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘यसमा वडा कार्यालय र गाउँपालिकाका अन्य कर्मचारीको मिलेमतो छ, हामीले धेरैपल्ट विरोध पनि गर्‍यौँ, तर हटेन।’ 

वडा– ३ का वडाध्यक्ष विष्णु तिमिल्सिनाले भने हालसम्म कति कर उठ्यो भन्नेबारे आफूलाई थाहा नभएको बताए । गाउँपालिकाले स्थानीयलाई ठेक्का दिएको उनले बताए । ‘गाउँपालिकाका सबै गतिविधि हामीलाई जानकारी हुन्न,’ उनले भने, ‘मेरो वडामा पर्ने भए पनि मैले यसबारे बोल्न मिल्दैन ।’ उनले गाउँपालिकाकै अनुमतिमा स्थानीयले कर संकलन गरेको दाबी गरे । ‘यसलाई खराब भन्न मिल्दैन,’ उनले भने, ‘दुई वर्षको निश्चित मूल्य तोकेर स्थानीयलाई ठेक्का दिइएको हो, यसबाट उठेको रकम गाउँपालिकामा संकलन हुन्छ  ।’

प्रकाशित: ९ चैत्र २०७४ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App