राजधानीको जमलस्थित मुख्य सडक छेउमा फलफूल र चटपटे बेच्दै आएका सुविराम यादव बिहीबार ग्राहक नियाल्दै थिए । उनको अगाडि महानगर प्रहरीको ट्रक आइपुग्यो । ट्रकमा आएका एक हुल नगर प्रहरीले ठेला खोसेर ट्रकभित्र हाले । बारा घर भएका यादव प्रहरीलाई हात जोड्दै सामान नखोस्न आग्रह गर्दै थिए । त्यसपछि नगर प्रहरीले घिसार्दै उनलाई ट्रकभित्र हुले।
हिजोआज काठमाडौं महानगर अन्र्तगतको नगर प्रहरीले साना व्यापारीहरूलाई यसरी नै हातपात गर्न थालेका छन् । बिहान बेलुकी दुई छाक टार्न सडकमा पुगेका यी व्यापारीहरू प्रहरीले सामान जफत गरिदिएपछि निराश हुँदै सामान फिर्ता लिन टेकुस्थित कार्यान्वयन महाशाखा प्रशासनमा पुग्छन् । तर, सामान फिर्ता नपाउने उनीहरूको गुनासो छ । ‘सडकको कुना र भुइँमा राखेर नाङ्लो व्यवसाय गर्दै दुई छाक खाँदै आएकी छु, त्यही सामान पनि प्रहरीले खोसेर लगिदियो,’ बिहिबार सामान फिर्ता लिन टेकुस्थित कार्यान्वयन महाशाखा प्रशासनमा पुगेकी गंगा पाण्डेले भनिन्, ‘सामान हटाउनुस् भनेर नगर प्रहरी जवानले लौरीले कुटे ।’ उनले प्रहरीले राम्ररी सम्झाउनुको साटो हातपात गर्नु निन्दनीय भएको गुनासो पोखिन्।
उनीसँगै काठमाडौंमा सुन्धारामा नाङ्लोमा काफल, कागती, मकै बेच्दै आएका सुन्तली तामाङ पनि थिइन्। सुन्तलीले पनि प्रहरीले जफत गरेको सामान फिर्ता पाउने आशमा महाशाखामा आएको बताइन् । उनीहरूको सामान प्रशासनभित्रको बन्द कोठामा राखिएको थियो । ‘ठुल्ठूला व्यापारीहरूले ठूला सडक नै कब्जा गरेर व्यवसाय गरेका छन् र पनि उनीहरूलाई कारवाही हुँदैन,’ उनले भनिन्, ‘सडकको कुनातिर भुइँमा सामान राखेर व्यवसाय गर्दा पनि नगर प्रहरीले हातपात ग¥यो ।’ उनले बिहीबार नगर प्रहरीले हातपात गर्दा पाखुरामा निलडाम बसेको गुनासो गरिन्।
काठमाडौंको विभिन्न स्थानमा स्ट्रिट व्यवसाय गर्दै आएका व्यापारीहरूबाट जफत गरेको सामान अहिले टेकुस्थित प्रशासनको कोठामा राख्ने गरिएको छ । प्रहरीले जफत गरेका स्याउ, काफल, केरा, सुन्तला, अनार, चटपटे बनाउने सामग्री, मकैलगायत खानेकुरा फिर्ता नदिँदा कुहिने गरेको व्यवसायीहरूको गुनासो छ।
उनीहरू तीन–चार दिन हुँदासम्म पनि प्रहरीले सामान फिर्ता नदिएको बताउँछन् । ‘एक हजार जरिवाना तिराएर पनि तीन दिनसम्म सामान फिर्ता हुँदैन,’ टेकुमै भेटिएका मनोज बस्नेतले भने, ‘हामीले त्यति ठूला गल्ती गरेजस्तो लाग्दैन, पेट पाल्नका लागि दुःख गरेको हो ।’ उनका अनुसार प्रहरीले व्यवसायीहरूलाई प्रशासनमा ल्याएर थुन्ने गरेको छ । उनले फुटपाथ हटाउन नसक्ने, पार्किङलाई व्यवस्थित गर्न नसक्ने महनगरले साना व्यवसायीहरूलाई दुःख दिनु गैर कानुनी रहेको गुनासो गरे।
नगर प्रहरीले अभद्र र अशोभनीय व्यवहार गर्दा पनि नगर प्रहरी प्रमुख डिएसपी विष्णु जोशीले आफूहरूले नगर प्रहरीलाई नैतिकता र मानवीयता सिकाएर ड्युटीमा खटाएको दाबी गर्छन् । ‘कुनै पनि नगर प्रहरीले हातपात गर्छ भने हामीले त्यहाँ कारवाही गर्छौं,’ उनले भने, ‘अहिलेसम्म त्यस्तो गुनासो आएको छैन, यदि गुनासो टिपाएको भए सम्बन्धित प्रहरीलाई कारवाहीको दायरामा ल्याउँछौं ।’ उनका अनुसार अहिले फुटपाथ नियन्त्रण गर्न महानगरले इन्सपेक्टरको नेतृत्वमा महानगरका चार ठाउँमा नगर प्रहरीको टोली खटाएको छ । नयाँ बानेश्वर, कालीमाटी, महाराजगन्ज र सुन्धारामा खटाइएको टोलीले फुटपाथ नियन्त्रण गर्ने र पार्किङ व्यवस्थित बनाउने उनले बताए । तर, टोलीले फुटपाथ हटाउने र पार्किङ व्यवस्थित गर्ने विषयमा खासै चासो दिएको देखिन्न।
महानगरका प्रवक्ता ज्ञानेन्द्र मल्लले सडक किनार खाली गर्न यसो गरिएको बताए । ‘महानगरमा भर्खरै जागिर खाएका प्रहरीहरू अली काचा स्वभावका छन्,’ उनले भने, ‘हामीले उनीहरूलाई हातपातसम्म नगर्न निर्देशन दिन्छौं ।’
प्रकाशित: ९ चैत्र २०७४ ०६:२० शुक्रबार