काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीका विभिन्न तहका नेतालाई स्पष्टीकरण सोधेको छ । तल्लो तहबाट आएका तीन सयभन्दा बढी उजुरीका आधारमा दुई सय नेता तथा कार्यकर्तालाई कांग्रेसले स्पष्टीकरण सोधेको हो ।
पार्टी केन्द्रीय सदस्य रमेश रिजाल नेतृत्वको अनुशासन समितिले काटेको स्पष्टीकरण पत्रअनुसार विभिन्न तहका एक सय आठ नेता तथा कार्यकर्ताले पहिलो चरणको जवाफ पठाएका छन् । जवाफको अध्ययन गरी अनुशासन समितिले दोस्रो चरणको पत्र लेख्न सुरु गरेको समिति संयोजक रिजालले जानकारी दिए । ‘उजुरीका आधारमा स्पष्टीकरण सोध्ने काम भइरहेको छ,’ रिजालले भने, ‘वद्मासी नै भएको रहेछ भने पार्टीले दण्ड गर्नेछ ।’
पहिलो चरणको स्पष्टीकरणबाट चित्त बुझाउने अवस्था नभएर समितिको सचिवालयले दोस्रो चरणको स्पष्टीकरणको पत्र काटेको जानकारी दिँदै उनले भने, ‘अन्तिम टुंगोमा पुग्न अझै ४/६ महिना लाग्न सक्छ ।’
६० भन्दा बढी जिल्लाबाट अन्तर्घात गरेको भन्दै केन्द्रीय अनुशासन समितिमा तीन सय भन्दा बढी उजुरी परेको छ । तीमध्ये पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा दुई, नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा नौ नेतालाई स्पस्टीकरण सोधेको छ । काठमाडौंमा १०, चितवनमा ७, कैलालीमा ९ भक्तपुरमा ११, नुवाकोटमा १७ जनासँग स्पमष्टीकरण सोधेको छ ।
स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै अनुशासन समितिले स्पष्टीकरण सोधेका केही नेता प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको उम्मेदवार हुनुको साथै केही सांसदसमेत रहेको एक नेताले जानकारी दिए।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको किटानीसहित अनुशासन समितिमा उजुरी आइरहेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। पार्टी केन्द्रीय समितिको माघ ५ गते निर्णयअनुसार निर्वाचन समीक्षासहित जिल्ला समितिले पठाएको प्रतिवेदनमा पनि विभिन्न तहका नेताले असहयोग गर्दा पार्टी पराजित भएको नाम किटान गरेका छन्। नेताहरूको नामै किटान गरे पनि जिल्ला समितिले कारबाहीको सिफारिस भने गरेका छैनन्।
जिल्लाले पठाएको प्रतिवेदनका आधारमा पनि अनुशासन समितिले छानबिनको दायरामा ल्याउन सक्नेछ । यद्यपि रिजाल नेतृत्वको अनुशासन समितिमा नेता रामचन्द्र पौडेल पक्षबाट सहभागी हृदयराम थानी र कमला पन्त अहिलेसम्म सहभागी नभएको पार्टी केन्द्रीय कार्यालय स्रोतको दाबी छ । समितिमा सुरेन्द्रराज पाण्डे र उमाकान्त चौधरी पनि सदस्य छन्।
प्रत्यक निर्वाचनपछि अन्तर्घात गर्नेलाई अनुशासनको दायरामा ल्याउने भन्दै छानबिनसहित अनुशासन समितिले कारबाहीको सिफारिस गर्दै आएको छ । दोस्रो संविधानसभा निर्वाचनमा अन्र्तघात गरेको भन्दै आमोदप्रसाद उपाध्याय नेतृत्वको समितिले ३ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो तर केन्द्रीय समितिले सबैलाई उन्मुक्ति दिएको थियो।
प्रकाशित: ९ चैत्र २०७४ ०६:३३ शुक्रबार