७ वैशाख २०८१ शुक्रबार
शिक्षा

टहरामै एसइई

गोरखा नगरपालिका १० को बिरेन्चोकस्थित रत्नराज्य माविको अस्थायी टहरामा एसइई परीक्षा दिँदै गरेका विद्यार्थी ।  तस्बिर: नरहरि/नागरिक

गोरखा– हिमालय मावि बारपाकमा एसइई परीक्षामा सहभागी एक सय ११ जना विद्यार्थीले निर्धारित समय बिहान ८ बजेदेखि परीक्षा दिन पाएनन् । समयभित्रै परीक्षा केन्द्र प्रवेश गरेका परीक्षार्थी प्रश्नपत्र नपाएर, उत्तरपुस्तिका नभएर यी आदि कारणले होइन, अस्थायी टहरामा परीक्षा सञ्चालन भएका कारण केहीबेर अलमलिन पुगे ।

उच्च हिमाली भेग, भूकम्पको केन्द्रबिन्दु बारपाकमा बिहीबार बिहान हावाहुरीसहित पानी पर्यो । हुस्सु लागेर बादल डम्म ढाकेपछि अस्थायी टहरामा रहेको परीक्षा कोठा पूरै अँध्यारो भयो । राम्रोसँग देख्न, लेख्न नसक्ने गरी अँध्यारो भएपछि एकाएक टहराको जस्ता झिकेर खुला बनाएर परीक्षा सञ्चालन गरिएको केन्द्रध्यक्ष चेतनाथ पन्तले बताए । 

गाउँगाउँका विद्यालयमा मात्रै होइन गोरखा नगरपालिका–९ बिरेन्चोकको रत्नराज्य माविमा पनि अस्थायी टहरामा परीक्षा दिएका छन् । जिल्लाका २६ वटा परीक्षा केन्द्रमध्ये आधाजसो विद्यालयले अस्थायी टहरामा परीक्षार्थी राख्नुपर्ने बाध्यता छ ।

उनले भने, ‘अस्थायी टहरा मात्रै थियो, परीक्षाको सबै तयारी गरेका थियौं, तर एक्कासि पूरै अँध्यारो भएपछि टहराको जस्ता उप्काएर परीक्षा गर्नुप¥यो ।’ पक्की भवन भएको भए त्यहाँ रहेको झ्याल र बिजुलीबत्तीले सहजै उज्यालो बनाउन सकिने उनले बताए । अन्तत परीक्षाको समय केहीबेर थप गरेर विद्यार्थीलाई साहानुभूति दिइएको केन्द्राध्यक्ष पन्त बताउँछन् । 

२६ वटा परीक्षा केन्द्रमध्ये आधाजसो विद्यालयले अस्थायी टहरामा परीक्षार्थी राख्नुपर्ने बाध्यता छ । गाउँगाउँका विद्यालयमा मात्रै होइन गोरखा नगरपालिका–९ बिरेन्चोकको रत्नराज्य माविमा पनि अस्थायी टहरामा परीक्षा दिएका छन् ।

महिलाले मात्रै सञ्चालन र व्यवस्थापन गरेको उक्त केन्द्रमा अस्थायी टहरामा परीक्षार्थी राख्नु बाध्यता रहेको केन्द्राध्यक्ष  सरला देवकोटाले बताइन् । ‘टहरामा सञ्चालन गर्दा समस्या हुन्छ, बाहिरबाट हावाहुरी, घाम छिर्ने, सीधै देखिने हुँदा परीक्षार्थीमा हतोत्साहित मानसिकता हुने, व्यवस्थापनमा समेत समस्या भएको  छ,’ उनले भनिन् । 

सो परीक्षा केन्द्रमा १० जना बहिरा विद्यार्थी र तीनजना दृष्टिविहीनले परीक्षा दिएका छन् । जिल्लामा चार हजार आठ सय १३ जना सहभागी एसइई परीक्षामा विभिन्न विद्यालयका ५२ जना भने नियमित विद्यालय नगएका कारण परीक्षा दिनबाट वञ्चित भएका छन् । 

पहिलो दिनको परीक्षामा ३७ जना परीक्षमा सहभागी नरहेको जिल्ला शिक्षा कार्यालय परीक्षा शाखाका कृष्ण सिग्देलले बताए । भूकम्पको तीन वर्ष पुग्नै लाग्दा विद्यालय पुनर्निर्माण अझै सकिएको छैन । पुनर्निर्माण पूरा नहुँदा परीक्षा मात्रै होइन पठनपाठन पनि अस्थायी टहरामा सञ्चालन गर्नुपर्ने बाध्यता छ । चार सय ४३ विद्यालयमध्ये दुई सय ३१ विद्यालय निर्माण सकिएको छ । यीमध्ये ८० विद्यालय निर्माणको टुंगो भने अझै लागेको छैन । 

‘अन्य जिल्लामा भन्दा पुनर्निर्माणको गति निकै अगाडि देखिन्छ, तर पनि सन्तोष मानेर हामी बसेका छैनौं, निरन्तर पुनर्निर्माणमा खटिएका छौं,’ जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले भने । 

सुवेदीका अनुसार स्रोत सुनिश्चित हुने हो भने अबको एक वर्षभित्र गोरखाका सबै विद्यालय पुनर्निर्माण भइसक्नेछन् । गैरसरकारी संस्थाको भर पर्नुपर्ने, सरकारबाट सबै विद्यालय पुनर्निर्माण गर्न बजेट निकासा ढिलो हुने, सबैलाई एकैपटक बजेट नआउनेजस्ता कारणले पुनर्निर्माणलाई एकैसाथ लैजान नसकिएको उनले बताए । 

पुनर्निर्माण हुनुपर्ने विद्यालयमध्ये दुई हजार तीन सय ७३ कक्षाकोठा निर्माण सकिएको छ भने दुई हजार नौ सय ९५ कक्षाकोठा भवन निर्माणाधीन छन् । चार सय ४३ मध्ये तीन सय ११ विद्यालयमा शौचालयको सुविधा पनि छ । ९७ विद्यालयमा आइसिटी ल्याब, ४४ विद्यालयमा साइन्स ल्याब, ३९ विद्यालयमा श्रव्यदृष्ट कक्ष रहेको छ । 

विद्यालय पुनर्निर्माण तीन वर्षसम्म पूरा नहुँदा पठनपाठन, परीक्षा र विद्यालयलाई अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समेत असुविधा भएको छ । टहरामा परीक्षा सञ्चालन र पठनपाठनले नतिजामा समेत असर गरेको भूकम्पमा क्षति बेहोर्नुपरेका विद्यालयको अनुभव छ । 

प्रकाशित: ९ चैत्र २०७४ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App