८ वैशाख २०८१ शनिबार
समाज

पराजुलीलाई हटाउने निरौलाको ‘त्यो स्टाटस’...

फागुन १३ गते (फेब्रुअरी २५) निरौलाले लेखेको फेसबुक स्टाटस ।

काठमाडौं– तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्तीको पत्र काट्ने न्याय परिषदका सचिव नृपध्वज निरौलाले पराजुलीले राजीनामा गर्नुभन्दा १७ दिन अघि मध्यरातमा एउटा रहस्यमय स्टाटस लेखि एक घन्टामै फेसबुकबाट हटाएको भेटिएको छ । 

हामीलाई ढिलोगरी प्राप्त निरौलाको सो स्टाटस फागुन १३ गते (फेब्रुअरी २५) राती पोष्ट भएको समाचार स्रोतको दावी छ ।
पराजुली विरुद्ध विषवमन गरिएको सो स्टाटसमा उनले न्यायपालिका जोगाउन आफू एक सक्षम र निर्भिक सिपाहीको रुपमा उभिन तयार भएको र त्यसका लागि आवश्यक कागजात समेत सार्वजनिक रुपमा माग गरेका थिए । पराजुलीजस्ताबाट न्यायालय जोगाउन आफू मर्न समेत तयार रहेको उल्लेख गरेका छन् । 

न्यायपालिकामा निरौलाको फेसबुक स्टाटस भूसको आगो झै सल्किएको थियो तर उनका सहयोगीहरुको सुझावमा उनले फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ गरेका छन् ।  

सुशिला कार्की प्रधानन्यायाधीश हुँदा निरौला सर्वोच्च अदालतको रजिष्ट्रार थिए । गोपाल पराजुली प्रधानन्यायाधीश भएपछि निरौलालाई रजिष्ट्रारबाट वेपत्ता छानविन आयोगको सचिवमा सरुवा गरेर त्यसवेला न्याय परिषदको सचिव रहेका नहकुल सुवेदीलाई सर्वोच्च अदालतको रजिष्ट्रारमा सरुवा गरेका थिए । सुवेदी भन्दा बरिष्ठ रहेको दावी गर्ने निरौला यही सरुवा देखि नै तत्कालिन प्रधानन्यायाधीश पराजुलीसँग सन्तुष्ट थिएनन् । पराजुलीले आफ्ना भाञ्जी ज्वाई सुवेदीलाई छोटो अवधिमै मुख्य रजिष्ट्रार र त्यसको छ महिनामा मुख्य न्यायाधीश बनाएका थिए । 

वेपत्ता छानविन आयोगबाट निरौलालाई दुई महिना अघि मात्र पराजुलीले नै न्याय परिषदको सचिवमा ल्याएका थिए । यद्यपी निरौला आफू भन्दा कनिष्ठ राजन भट्टराईलाई मुख्य राजिष्ट्रार बनाइएपछि झनै असन्तुष्ट बनेको चर्चा न्यायवृत्तमा चलेको छ ।
स्मरणीय के छ भने निरौलाले फागुन ३० गते अपरान्ह तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्र लेखेर उमेरको रेकर्ड अनुसार २०७४ साउन २१ गते देखि नै पदमुक्त भएको जानकारी गराएका थिए । पराजुलीले सो पत्रको व्योहोरा त्यस्तो बेलामा थाहा पाएका थिए जतिखेर उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालको सपथ दिलाउन शीतल निवासको विशेष समारोहमा सरिक थिए । पदमुक्तिको सूचना पाएका पराजुली सपथ समारोहमा निकै हतासिएका देखिएका थिए । त्यसपछि सार्वजनिक रुपमै न्याय परिषदको सचिवलाई पत्र लेख्ने अधिकार नभएको बताएका पराजुलीले भोलीपल्ट पदवाट राजीनामा गरेका थिए ।   

प्रकाशित: ९ चैत्र २०७४ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App