coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्यटन राज्यमन्त्रीको ठाडो आदेशमा गुठीको जग्गामा डोजर

डोल्पा- पर्यटन राज्यमन्त्रीको  ठाडो आदेशमा निजी स्वार्थका लागि यहाँस्थित प्राचिन गुठीको जग्गा मासेर सडक बिस्तार गरिएको छ। पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको ठाडो आदेशमा श्रीबाला त्रिपुरासुन्दरी भगवती मन्दीरको नाममा रहेको कोट खौलास्थित सेरा नजिकको हलिफोप्टा नामको जग्गा सडक बिस्तारको लागि भन्दै नीजि स्वार्थका लागि मासिएको हो।

त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड नम्बर ७ पहाडामा रहेको मसिनेचौर विमानस्थल निमार्णको ठेक्का समेत लिएका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो ठेक्काको निमार्ण सामाग्री जुफाल विमानस्थल हुँदै पहाडासम्म ओसारपसार गर्ने प्रयोजनका लागि भगवतीको नाममा रहेको गुठीको जग्गामा स्काईभेटर लगाएर ट्रयाक खोल्न लागेका हुन्।

‘दुई साता देखि सडक ट्रयाक खोल्ने बिषयमा सम्बन्धित जग्गाधनी र गुठीजग्गाका अधिकारी मानिएका श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरका पूजारीबीच बिवाद भएकोमा मन्दिरलाई गुठी जग्गा मासिएवापत अचल सम्पतिको नाममा सुनचाँदी चढाउने र जग्गाधनीहरुलाई मुअब्जा बापत क्षति मूल्याँकनका आधारमा मुअब्जा उपलब्ध गराउने उधारो सर्तमा जवरजस्त सडक खनिएको छ यसमा हाम्रो सहमति छैन’, मन्दीरकै सरोकारवाला पूजारी लक्ष्मीप्रसाद शर्माले भने।

कुन योजना र कुन समिति मार्फत कतिको बजेटको लागतमा कुन प्रयोजनको लागि गुठीको जग्गा मासेर सडक खनिएको हो कुनै जानकारी भएन, त्रिपुराकोटका स्थानीय बासिन्दा बिष्णुप्रसाद न्यौपानेले प्रश्न गरे। त्रिपुराकोटका रबिप्रसाद न्यौपानेले भने “हेर्दा मन्त्रीले जनताकै भलाइको लागि सडक खनि दिएको जस्तो देखिएपनि पर्यटन मन्त्रीको नीजि स्वार्थका लागि सडक खनिएकाले अहिले जनता र गुठीको जग्गा मासे बापतको पछि क्षतिपुर्ती उपलब्ध नगराएमा यसले ठूलो रुप लिन सक्ने र सडक खनिएपनि पछि निमार्ण सामाग्री ओसारपसारमा अवरोध आउने छ ।”

सडक खोन्ने नाममा भगवती मन्दीरको गुठीको जग्गामा र जनताको जग्गामा लगाइएको वाली उखेर फ्याँकिएको छ। ‘आफ्नो जग्गाको नाममा एउटा मात्र गह्रा थियो तैपनि सडक खोल्नै पर्छ भनेर जवरजस्ती रुपमा डोजर लगाएर भत्काए क्षतिपुर्ती दिने भनेका छन् दिने हुनकी होइनन्’, आँखाभरी आँसु खसाल्दै त्रिपुराकोटकी देबी सार्कीले भनिन्। राज्यमन्त्री बुढाको आदेशमा सडक खन्ने जिम्मेवारी लिएका जनक बिसिले आफुले सडक खन्न लागेको रकम पाउँछौ भनेकाले दिएको जिम्मेवारी मात्र पुरा गरेको बताए।

प्रकाशित: ९ चैत्र २०७४ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App