coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सर्लाहीद्वारा भुटानको ड्रुक स्टार पराजित

सर्लाही – सर्लाहीको बागमतीमा आयोजित दोस्रो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दोस्रो दिन भएको खेलमा सर्लाही–११ ले भुटानको ड्रुक स्टार फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको छ। दुई जना अफ्रिकन खेलाडीलाई समेत मैदानमा छिराएको सर्लाहीले मध्यान्तर पछि लगातार गोल गर्दै पाहुना टोलीलाई स्तब्ध बनायो।

मध्यान्तरसम्म गोलरहित प्रतिष्पर्धात्मक रहेको खेल अन्तर्गत सर्लाहीको तर्फबाट ६३औं मिनेटमा ९ नं. जर्सीका अफ्रिकन खेलाडी गीब्रल कबोरीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। जर्सी नं. ११ का सनिल लामाको क्रस पासमा कबोरीले डिबक्स भित्रबाट प्रहार गरेको बल भुटानका गोलकिपर अनुप गालेले भेउ नै नपाउँदा गोलमा परिणत भयो। 

७८औं मिनेटमा पुनः कबोरीले नै सर्लाहीका लागि दोस्रो गोल गर्दै खेललाई २–० को स्थितीमा पु-याए। जर्सी नं. १३ का देव गुरुङले मिलाईदिएको बललाई एक्लै अगाडी बढाएर कबोरीले गोल गरेका थिए। 

३ मिनेटको ईन्जुरी टाईम अन्तर्गत १ मिनेटमात्र बाँकी छँदा सर्लाहीको तर्फबाट जर्सी नं. १३ का देव गुरुङले गोल गर्दै टिमको जीत सुनिश्चित गरे। पहिला नै २ गोल गरेका कबोरीको पासमा गुरुङले गोल गरेका हुन्। पहिलो खेलमै नमिठो हार व्यहोर्दै विदेशी टोली घर फर्कन बाध्य भएको छ।

भुटानका खेलाडीले पटक–पटक गोलपोष्ट प्रहार गरेपनि सर्लाहीका गोलकिपर अरुण लामाले विफल पारेका थिए। टिमको जितमा २ गोल गर्ने र अर्को गोलका लागि समेत बल मिलाईदिएका सर्लाहीको तर्फबाट अफ्रिकी खेलाडी कबोरीले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैंया हात पारे। 

पहिलो खेल जितेको सर्लाहीको भेट बाईमा परेको नेपाल आर्मी क्लबसँग चैत १३ गते मंगलबार हुनेछ। चैत १७ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत शनिबारको खेल जावलाखेल युथ क्लब ललितपुर र सुदूरपश्चिम–११ बीच हुने आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। 

उपाधी विजेताले ४ लाख रुपैंया लागतमा निर्माण गरिएको रनिङ शिल्ड सहित नगद ५ लाख रुपैंया तथा दोस्रो हुनेले ३ लाख रुपैंया नगद प्राप्त गर्ने प्रतियोगितामा दुई विदेशी सहित १० वटा टिम सहभागि छन्। हरेक दिनको म्यान अफ दि म्याचलाई १० हजार रुपैंया दिईने प्रतियोगितामा हरेक विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई १५ हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएका छन्। त्यस्तै प्रतियोगितामा जुनसुकै टिमबाट उत्कृष्ट खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राईजिङ अफ दि ईयर घोषणा गर्दै यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल प्रदान गरिने अध्यक्ष मैनालीले जानकारी दिए। 

राजर्षि जनक कपको गतवर्ष सम्पन्न पहिलो संस्करणको उपाधी भने नेपाल आर्मी क्लबलाई पराजित गर्दै मनाङ मर्स्याड्दी क्लबले चुमेको थियो। 

प्रकाशित: ९ चैत्र २०७४ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App