coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कमरेड जय नेपाल!

रामेश्वर फुयाल

काठमाडौं – नेपाली समाजमा कसैले ‘जय नेपाल!’ भन्यो भने त्यसलाई कांग्रेसी ठान्ने मनोविज्ञान छ। हुन पनि कांग्रेसका नेता÷कार्यकर्ता भेट हुनेबित्तिकै भनिहाल्छन्–जय नेपाल! उनीहरू भाषणको बिट पनि तिनै दुई शब्दबाट मार्छन्। 

खासमा ‘जय नेपाल’ शब्द कुनै दलको पेवा होइन, मातृभूमिको जय गान हो। त्यसैले हरेक नागरिकले आत्मैदेखि जय नेपाल बोल्नु पर्छ । हाम्रोमा गैर कांग्रेसीले जय नेपाल भनेको सायदै सुनिन्छ।

बामपन्थी नेताहरू दाहिने मुठ्ठी उठाएर अभिवादन गर्छन्–लालसलाम! तर, नेकपा एमालेका एक जना जिम्मेवार नेता रामेश्वर फुयालले चाहिँ एउटा अभियानै चलाएका छन्–‘घरघरमा राष्ट्रिय झण्डा । जनजनले बोलौं जय नेपाल!’

एमाले नेता रामेश्वर फुयालको अभियान– ‘घरघरमा राष्ट्रिय झन्डा, जनजनले बोलौं जय नेपाल!’ 

उनलाई भेट्दा, फोन गर्दा वा सार्वजनिक समारोहमा सुन्दा उनी भन्छन्–जय नेपाल! काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रदेश सभा सदस्य बनेका फुयाल जुनसुकै कार्यक्रममा पनि जय नेपाल सम्बोधन गर्छन्। यो सम्बोधनले उनको मनमा शान्ति छाउँछ। मुलुकप्रति केही गरौं भन्ने भावना हरपल जाग्छ।

‘जय नेपाल भन्दा’, उनी भन्छन्, ‘मेरी आमाको नाम लिँदैछु भन्ने लाग्छ । मनैदेखि आमाको जय गरौं भन्ने भावना जाग्छ।’

त्यस्तै बामपन्थीहरूले प्रयोग गर्ने शब्द ‘कमरेड’ गैर बामपन्थीले प्रयोग गरेको सुनिँदैन। कमरेडको अर्थ साथी न हो, त्यसैले नजिकका साथीसँगीबीच प्रयोग गर्न किन हिच्किच्याउने?

काठमाडौं उपत्यकाको सुन्दर काँठ आलापोटबाट उदाएका नेताको रूपमा फुयाललाई धेरैले चिन्छन्। उनको अभियानले तारिफ पाएको छ । यो अभियानमा विसं २०५९ देखि हिँडेका उनी। उनको अभियान चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा प्रवद्र्धनमा पनि प्रभावकारी देखिएको छ। 
 
कसरी सुरु भयो त यो अभियान? 
जनयुद्धमा हिँडेका बेला माओवादीले राष्ट्रिय झण्डा परिवर्तन गर्नु पर्छ भन्ने कुरा उठायो । उनी दुःखी भए । ‘चन्द्र सूर्य रहेसम्म नेपाल’ भन्ने सन्देश दिन सकिने संसारकै सुन्दर झण्डा किन फेर्ने? 

त्यसताका (०५९ सालमा) उनी एकिकृत कम्युनिष्ट पार्टी (एमाले)को काठमाडौं जिल्ला कमिटी सचिव थिए। उनको मनले भन्यो, ‘राष्ट्रिय झण्डाको पक्षमा आवाज उठाउने बेला यही हो।’

उनले जिल्ला कमिटीमा निर्णय गराएर पार्टीका हरेक कार्यक्रममा तीन किसिमका झण्डा प्रयोग गर्न थाले–सबैभन्दा पहिले चन्द्र सूर्य अंकित झण्डा, त्यसपछि हँसिया हथौडा भएको झण्डा र चुनाव चिन्ह सूर्य अंकित झण्डा। 

अनि त आन्दोलनहरूमा समेत राष्ट्रिय झण्डा प्रयोग हुन थाल्यो।

‘पहिला पहिला राष्ट्रिय झण्डा बोक्नेको जुलुसलाई मण्डलेको जुलुस भनिन्थ्यो,’ फुयाल आफ्नो अभियान सफल हुँदै गएकामा खुसी छन्, ‘राष्ट्रिय झण्डाले राष्ट्रिय भावना प्रवद्र्धन गर्ने भएकाले हामीले चन्द्र सूर्य अंकित झण्डा बोकेका हौं।’ 
फुयालले व्यक्ति र संस्थाहरूलाई राष्ट्रिय झण्डा बाँड्ने अभियानै चलाए। आजसम्म साना ठूला ३० हजार ५ सय ७२ वटा झण्डा बाँडिसकेको उनी बताउँछन्। कुनै सार्वजनिक कार्यक्रमको निम्तो आउँदा त्यहाँ अनिवार्य राष्ट्रिय झण्डा राख्न सुझाउँछन्। 

‘राष्ट्रिय झण्डा देख्दा राष्ट्रिय भावनाले निथ्रुक्क बनाउँछ,’ उनले भने, ‘राष्ट्रिय झण्डा नराखिएका कार्यक्रममा म सहभागी हुन्न।’

एमालेभित्र राष्ट्रिय झण्डा प्रयोग गर्न निकै कसरत गर्नु परेछ उनले। उनी नेतृत्वको काठमाडौं जिल्ला कमिटीले त तीनथरि झण्डा प्रयोग गर्न थालिसकेको थियो। जब उनी ०६५ मा पहिलोपटक पार्टीको केन्द्रीय सदस्य बने। त्यसको वर्ष दिनपछि काठमाडौंमा एमालेको राष्ट्रिय परिषद बैठक बस्यो। त्यो बैठकअघि केन्द्रीय समितिमा उनले तीन वटा झण्डा प्रयोग गर्न लिखित प्रस्ताव राखेछन्। तर, प्रस्ताव पास भएन।

त्यतिबेला पार्टीका अध्यक्ष कमरेड झलनाथ खनाल थिए। तर, त्यही परिषदको घोषणा सभामा दुइटा ठुल्ठूला झण्डा फर्फराए केही एमालेजनले।

पछि जब केपी ओली एमाले संसदीय दलका नेता बने, तब उनले बरिष्ठ नेता माधव नेपालको कोटमा राष्ट्रिय झण्डाको ब्याच लगाइदिए। त्यसपछि लाइनबद्ध सबै सभासदहरूले कोटमा ब्याच लगाए। 

अचेल एमाले वृत्तमा कोटमा राष्ट्रिय झण्डा लगाउने फेसनै बनेको देखिन्छ। 

ठाउँ–ठाउँमा ठुल्ठूला राष्ट्रिय झण्डा फर्फराउने अभियानमा समेत फुयाल अभियन्ताका रूपमा सक्रिय छन्। उनकै निर्वाचन क्षेत्रको तारेभीरमा मोटर बाटो पु-याइएको खुसीयालीमा ०७१ माघ १ गते १८ फिट अग्लो राष्ट्रिय झण्डा फहराइयो। त्यसैगरी गागलफेदी माथि निर्माण थालिएको लोकतान्त्रिक सहिद उद्यानमा ७ फागुन ०७२ देखि २० फिट अग्लो झण्डा फर्फराइरहेको छ। 

सार्वजनिक ठाउँमा राखिएको देशकै ठूलो झण्डा चाहिँ काठमाडौंको माइतीघर मण्डलाको हो। विसं ०७३ मा त्यहाँ एमाले अध्यक्ष केपी ओलीले १० मिटर अग्लो झण्डा फहराएका थिए।

फुयालको सुझाव छ– माइतीघर मण्डलामा राखिएको झण्डाको जिम्मा सेनाले लिनु पर्छ। त्यहाँ सूर्योदय हुँदा साइरन बजोस् । अनि सूर्यास्त हुँदा झण्डा बन्द गरियोस्।’  

उनी गुहेश्वरीदेखि गोकर्णसम्मको बाग्मती किनारलाई राष्ट्रिय झण्डा उद्यानका रूपमा विकास गर्न लागिपरेका छन्। पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका दिनदेखि ०७३ पुस २७ देखि झण्डा उद्यान अभियान थालिएको। झण्डा उद्यान देख्दा मान्छेको मनमा सधैं देशप्रतिको दायित्वबोध हुने उनको ठहर छ। हरेक नेपालीले घर–घरमा राष्ट्रिय झण्डा राख्नु पर्नेमा उनी जोड दिन्छन्। 

साँच्चै कुनै पनि देश बन्न त्यहाँका नागरिकमा बलियो राष्ट्रिय भावना हुनु पर्छ। हाम्रा नेताहरूले मनैदेखि जय नेपाल भनेर राष्ट्रप्रतिको दायित्व निर्वाह गरे भने हामी नेपाली चाँडै समृद्ध बन्न सक्छौं। 

प्रकाशित: १० चैत्र २०७४ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App