coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

नारायणगोपालले चुनेकी कमला

महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई कृति मुनामदन र म्हेन्दु दार्जिलिङमा मञ्चन भएपछि यसलाई नेपालमा मञ्चन गर्ने प्राभ्यास धेरैले गरे तर असफल भयो।

दार्जिलिङकै कुमुदिनी होम्स्को मुनामदन मञ्चन भएको घटनाबाट प्रभावित भएर काठमान्डुमा यसको मञ्चनका तयारी गरे, नाट्यकर्मी कोकिल गुरुङले ।

कोकिल गुरुङको यो साहसिक काम पोखरामा गएर विफल भएपछि उनी ऋणपान गरेर पोखराबाट फर्के, यसपछि मुनामदनमा कसैले हात हालेनन् ।मुनामदन भारतमा कुनै समय बन्दै रोकिएको ‘लभ एन्ड गड’जस्तै भयो, असफलताको प्रतीक।

केही समयको अन्तरालमा फेरि सांस्कृतिक संस्थानको प्रयासमा ‘मुनामदन’ मञ्चनको तयारी भयो, यसलाई नेपाल कलाभूषण चन्द्रराज शर्माले संगीत निर्देशन गरे । चन्द्रराज शर्माको महाकवि देवकोटासित अलि परको नाता पनि थियो ।मुनामदन यसपालि पनि फ्लप खायो ।विक्रमाब्द २०३७ मा फेरि सांस्कृतिक संस्थानकै पहलमा पुनः मुनामदन मञ्चन गर्ने तयारी भयो, यसपालि यसको संगीत निर्देशन सांस्कृतिक संस्थानकै कर्मचारी नारायणगोपालले गर्ने भए।

नारायणगोपालका निम्ति यो दुई कारणले चुनौती थियो, यसअघि यो गीति नाटकमा दुई भेट्रानले संगीत गरिसकेका थिए, अम्बर गुरुङ र चन्द्रराज शर्माले । दुवैको सांगीतिक आरेख अरु कुनै संगीतकारको भन्दा कम थिएन।

नारायणगोपालले गायकका रूपमा धेरै ख्याति कमाए पनि यस्तो मेजरवर्कमा पहिल्यै हात हालेका थिएनन् । यो पहिलो चुनौती थियो ।दोस्रो चुनौती उनका निम्ति झन् ठूलो थियो, त्यो हो, यस गीति नाटकमा मदनकी दिदीको पृष्ठगायनका निम्ति । सांस्कृतिक संस्थानले सुरुवातमा गायिका तारादेवीलाई अस्थायी रूपमा सेवामा नियुक्त गरेको भए पनि सांस्कृतिक संस्थानले अब त्यो क्रम दोहोर्‍याउने छाँट थिएन।

नारायणगोपालका निम्ति गायिका छान्नु महाभारत भयो, तारादेवीसित उनको शीतयुद्ध जारी थियो अथवा बोलचालको क्रम नै बन्द थियो । अर्की गायिका अरुणा लामा नेपालबाहिर भारतको दार्जिलिङमा बस्थिन्, उनलाई पाश्र्वगायनका निम्ति निम्त्याउनु संस्थानको नीतिविरुद्ध थियो । ‘घ’ श्रेणीको संस्थानसित त्यति बजेट पनि हुँदैनथ्यो।

नारायणगोपालले यसको वैतरणी पार गरे, गायिका कमला श्रेष्ठलाई चयन गरेर । कमला श्रेष्ठ त्यतिवेला सांस्कृतिक संस्थानमा काम गर्न थालेको दश वर्ष भइसकेको थियो ।कमला श्रेष्ठमा भएको प्रचुर सम्भावना नारायणगोपाललाई ज्ञात थियो, नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटमा कमला श्रेष्ठले करामत गरिसकेकी थिइन्।

मीतज्यू नाइटमा कमलाको गायनलाई लिएर साहित्यकार पारिजातले समेत प्रशंसा गरेर गोरखापत्रमा लेखिसकेकी थिइन् ।नारायणगोपालको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना गाउने पाउने भाग्यमानी गायिका कमला श्रेष्ठले कुनै दाग छाडिनन्–
हे मेरा भाइ, ती तिम्रा मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरूप लिएर तिनी बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती... ।
नारायणगोपालसित कमला श्रेष्ठको सहगायन गुञ्जिँदा नाचघरभित्र ईश्वर प्रकट भएको महसुस गर्छन्, नारायणगोपालका भाइ मनोहरगोपाल गुरुवाचार्य ।संगीतका गुरु मनोहरगोपालले नारायणगोपालका सबै गीत राम्रा हुन्, तर मुनामदनमा उनलाई ईश्वरीय वरदान मिलेको एक रेडियो कार्यक्रममा जानकारी दिएका छन् ।  सच्चा अर्थमा भन्ने हो भने नारायणगोपालले त्यतिवेलाका एकसेएक नाम चलेका गायिकालाई छोडेर कमला श्रेष्ठलाई चुन्नु एउटा अग्निपरीक्षा नै थियो।

यो अग्निपरीक्षामा नारायणगोपालले अघिल्लो इतिहास मेटिदिए, असफलताका सारा पाठलाई पल्टाइदिए। यसअघि मुनामदनमा उर्मिलाकुमारी श्रेष्ठ, तारादेवी, अरुणा लामा, निर्मला श्रेष्ठले गाइसकेको भए पनि कमला श्रेष्ठको आवाज नै अहिलेसम्म सुनिँदै छ, यसको कारण हो, गीतिनाटकको सफलता।

नारायणगोपालसँगै २०१८ को हाराहारीमा रेडियो नेपाल प्रवेश गरेकी कमला श्रेष्ठ संयोगले २०२४ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा नारायणगोपालले सर्वोत्तम गायकको पुरस्कार पाउँदा त्यही साल कमला श्रेष्ठले सर्वोत्तम गायिकाको पुरस्कार पाएकी थिइन्, यादव खरेलको शब्द अनि नातिकाजीको संगीतमा– नौगेडीको मेरो माला मेरो कता हरायो... ।

अज्ञात कारणवश कमला श्रेष्ठ प्रथम भएको यो गीत पछि तारादेवीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएपछि कमला श्रेष्ठको नाम मेटियो ।गीतकार यादव खरेलले यस गीतका संगीतकार नातिकाजीबारे यस्तो लेख्नुभएको छ, ‘नातिकाजी एकजना संगीतकार मात्र नभएर आफैँमा एउटा संस्था र घराना हुनुहुन्छ।

नारायणगोपालले यसको वैतरणी पार गरे, गायिका कमला श्रेष्ठलाई चयन गरेर । कमला श्रेष्ठ त्यतिवेला सांस्कृतिक संस्थानमा काम गर्न थालेको दश वर्ष भइसकेको थियो । कमला श्रेष्ठमा भएको प्रचुर सम्भावना नारायणगोपाललाई ज्ञात थियो, नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटमा कमलाले करामत गरिसकेकी थिइन्।

उहाँले आधुनिक, लोकगीत, राष्ट्रिय गीत, भजन आदि समेत गरी करिब दुई हजारभन्दा बढी गीतका साथै २० गीति नाटकमा संगीत दिनुभएको छ ।’तर दुर्भाग्यवश नातिकाजीको त्यो आरेखमा कमला श्रेष्ठको नाम पछि समेटिएन, कारण इतिहासमै पुरिए वा निःशब्द भइसकेकी कमला श्रेष्ठमै दबियो कि ?कमला श्रेष्ठ यसपछि गोपाल योञ्जन क्याम्पकी प्रिय गायिका भइन्, गोपाल योञ्जनको संगीतमा उनले ईश्वरवल्लभको शब्दमा एउटा कालजयी गीत गाइन्–
कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा...।
यो गीत पछि कमलाले आफ्नो परिचयका निम्ति नाम दोहोर्‍यारहन परेन । भारतको पश्चिम बंगालको दार्जिलिङबाट गोपाल योञ्जन नेपालीमा एमए गर्न नेपाल आएपछि यहाँ सुरुवातमा उनको प्रिय गायिका कमला नै थिइन्, कमला श्रेष्ठले गोपाल योञ्जनको शब्द संगीतमा प्रस्तुत गीत गाइन्–
म बाँच्ने उमेरहरू सारा हजुरलाई,
मेरा भागका सारा खुसीहरू सारा हजुरलाई... ।

रेडियो नेपालबाहिर रत्न रेकर्डस्को इएसआर २९ का निम्ति उनले योञ्जनको संगीतमा दुई गीत रेकर्ड गरिन्, यो त्यतिवेलाका मानक गीत भए।पछि कमलाले गोपालकै शब्द संगीतमा ‘म सपनाभरि छु, छातीभित्र मुटु, आकाशबाट’ जस्ता यादगार गीत गाइन् । यी सबै गीत गाउन्जेल गोपाल योञ्जनका चमकदार गीत बन्दै थिए।

लामो समयपछि (करिब दश वर्षपछि मात्र) संगीतकार योञ्जनले उनलाई मायाप्रीति फिल्ममा दोहोर्‍याए, उनले यस चलचित्रमा कल्याण शेरचनको संकलनमा गायिका ज्ञानु राणा र मीरा राणाका साथ रत्यौली गीत गाइन्।संगीतकार नातिकाजीसित पनि उनले लामो अन्तरालपछि २५ वसन्तमा एउटा भोजपुरी गीत गाएकी थिइन्, यो नातिकाजीसित उनको कम्पेनसेसन हो वा सुधारको संकेत ? तर यात्रा यसअघि बढ्न सकेन।
नातिकाजीबाहेक उनले शिवशंकरको संगीतमा पनि गाएकी छन्, युवराज ज्ञवालीको शब्दमा शिवशंकरको संगीतमा यो उनको यादगार गीत मानिन्छ–
तारे भीरमा बाबियो लसरी
लाको माया छुट्ने कसरी
सल्लै हो जोवन कल्लाई हो
आधुनिक गीत गायनमा बाहेक कमलाको गायनमा लोकगीत, भाषाभाषीका गीतमा अत्यन्त ठूलो उपस्थिति छ, उनले भोजपुरी मैथिली र आफ्नै मातृभाषा नेपालभाषा समेत उनले कमालका गीत गाएकी छिन्।

त्यसमध्ये ल्याय्म्हम्क दाजु तंचाया ला छु, छितः जिं ला छु है धैगु मदु (जवान मेरा दाजु रिसाउन भयो कि क्या हो मैले त तपाईंलाई केही भनेकै छैन) लोकप्रिय मानिन्छ । त्यसबाहेक गुलित फसाद बियेत्यना कृष्ण र वाउँगु सिमाचाय् म्हासुम्ह झँगचा (हरियो रूखको हाँगामा पहेंलो चरी) पनि लोकप्रिय मानिन्छ ।यो बाह्रमासे र वसन्त नामक अल्बम उनका पति तारारत्न स्थापितले नै प्रकाशन गरेका हुन् ।सांस्कृतिक संस्थानमा उनीसित १८ वर्ष सँगै काम गरेकी गायिका निर्मला श्रेष्ठ उनलाई सम्झिँदै भन्छिन्, ‘कमला मभन्दा अग्रज हुन् ।

म मोहनसुन्दर श्रेष्ठसित शास्त्रीय गायन सिक्न जाँदा कमला नाचघरमा आएकी थिइनन्, तर पछि उनी जागिरे कलाकारका रूपमा आएपछि हाम्रो परिचय बढ्यो । उनी खानपिनमा धेरै सोखिन थिइन्, अहिले उनी बितिन् भन्ने सुन्दा उनले खानाको कुरा गरेको अनि विशेष गरेर बोसो भुटेर खाएको प्रसंग भन्ने गरेको खुब सम्झेँ । उनी साह्रै प्रतिभाशाली तर साह्रै सादा र साधारण महिला हुन् । म त स्तब्ध छु।

अमेरिकामा बस्दै आएकी निर्मलाले उनको निधनको खबर फेसबुकबाट थाहा पाएको बताइन् ।
अग्रज नृत्यकार भैरवबहादुर थापाको सहयोगमा सांस्कृतिक संस्थानमा मासिक एक सय ५० रूपैयाँ तलबमा प्रवेश गरेकी कमलालाई अधिकृत कलाकार हुन धेरै समय लाग्यो । २०३३ सालमा गायक नारायणगोपाल सञ्चालक समितिको सदस्य भएर आएपछि उनलाई अधिकृत कलाकार बनाइएको थियो ।
२०३६ सालदेखि २०४० सालमा सांस्कृतिक संस्थानमा कमलाको एक सालीन युग बित्यो, गायनमा, विदेश भ्रमणमा अनि, नयाँ–नयाँ सिर्जनामा । यस समय सांस्कृतिक संस्थानमा नारायणगोपाल महाप्रबन्धक भएर आइसकेका थिए।

आफूभन्दा आठ वर्ष जेठा गायक नारायणगोपालसँगै रेडियो नेपाल प्रवेश गरेकी कमलाले नारायणगोपालसँगै रेडियो नेपालको प्रतियोगितामा विजयी हुने मौका पाइन् भने नारायणगोपालकै संगीतमा मुनामदनमा गाउने अवसर पाइन् । नारायणगोपाल र कमलाको निकटताका कारण संगीत र सांस्कृतिक संस्थान मात्र नभएर अर्को विशेष कारण पनि छ, त्यो हो फुटबल।

नारायणगोपाल फुटबलका फ्यान । अनि, कमलाका पति तारारत्न स्थापित फुटबलका नामी खेलाडी ।नारायणगोपालसित यति निकटता भए पनि वा नारायणगोपालसित २०औँ वर्ष सहकार्य गरे पनि गायिका कमलालाई नारायणगोपाल संगीत कोषले कहिल्यै स्वरसम्राट नारायणगोपालस्मृति पुरस्कारले पुरस्कृत गर्न सकेन । वा, नारायणगोपाल संगीत कोषको गल्ती हो वा गायिका कमलाको नम्रता वा अल्पभाषी हुनुको पीडा ?

गीत–संगीतका निम्ति दिइने दुईवटा ठूला पुरस्कार छिन्नलता गीति पुरस्कार र स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कारबाट त उनी टाढै रहिन् भने अन्य ठुल्ठूला धनराशिका पुरस्कारबाट उनले निकट हुने कुनै मौका नै पाइननन् ? यसबारे उनले आफ्ना सहपाठी एवं छिमेकी शान्ता सिंहलाई अस्पताल भर्ना हुनु केही दिनअघि भनेकी रहिछिन्, खै कता निवेदन हाल्न, बिन्ती गर्न पनि जान सक्दिनँ, कसैले सम्झने पनि होइन । पुरस्कारका निम्ति त म कतै धाउन पनि जान सक्दिनँ।

काठमान्डु चावहिल मैजुबहालमा उनलाई हिँडिरहेकोे देख्ने टेलिभिजनकर्मी शैलजा सिंह न्यौपाने, संगीतकार शुभबहादुर सुनाम, प्रभा सुनाम अब उनको आवाज मात्र सम्झिन्छन् ।२०७४ सालको अन्तिम महिनाको पाँचौँ दिन गंगालाल अस्पतालमा प्राण त्यागे । ६९ वर्षअघि कात्तिक ९ गते पिता रामबहादुर श्रेष्ठ र माता इन्द्रमाया श्रेष्ठकी छोरीका रूपमा जन्मेकी कमलाले करिब १५ वर्षको उमेरदेखि गायनमा प्रवेश गरेकी हुन्।

संगीतकार हुतराज शर्मा, सिके रसाइली, गणेश रसिकको संगीतमा गीत गाएकी छन्, गणेश रसिकको शब्द र संगीतमा सहिदिन्छु कुट बरु बोलीले नकुट, मरिदिन्छु मार बरु वचनले नमार निकै लोकप्रिय मानिन्छ ।
आधुनिक, भजनबाहेक लोकगीतमा कुमार बस्नेतसित गाएका प्रायः लोकगीत चर्चित छन्, तर मादलवादक प्रेमदेव गिरीको संकलनका लोकगीत ‘सरर मलेवा घुम्छ बादलमुनि मायालाई’ सर्वाधिक चर्चित मानिन्छ, यो गीत पश्चिामाञ्चलको एक प्रतिनिधि लोकगीत मानिन्छ।

स्वरमा मुलायमपन, गायकीमा सादगीपन भएकी कमला श्रेष्ठ गत केही वर्षदेखि ओझेलमा बस्न थालेकी थिइन्, आफ्ना तीन छोरा उदय, विनय र बबिनका साथ सुखमय परिवारमा रमिरहेकी कमलालाई मुटुको रोगको समस्याले केही समयदेखि आक्रान्त बनाएको थियो । उनीसितको समय र काललाई सम्झिँदै गायक रोबिन शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँसित धेरैजसो कार्यक्रममा सँगै मञ्चमा उत्रने मौका पाएको छु ।

सरल सादा जीवन भएकी कमला दिदीसितको मेरो सम्झना आजन्म सँगै रहनेछ ।गायिका कमलालाई धेरैले गायिकाका रूपमा सम्झे पनि उनी एक कुशल नृत्यांगना पनि हुन्, उनले नेपालीमा बनेको दोस्रो चलचित्र ‘हिजो आज भोलि’मा नृत्य पनि गरेकी थिइन् ।औपचारिक शिक्षामा कक्षा ९ सम्म अध्ययन गरेकी कमलाले इलाहाबादको प्रयाग संगीत समितिबाट स्नातक उत्तीर्ण गरेकी थिइन्।

आफ्ना अग्रज संगीतकार चन्द्रराज शर्मादेखि आफूपछिका गायक द्वारिकालाल जोशी, प्रवीण गुरुङ, लोकबहादुर क्षेत्रीसित सांगीतिक सहकार्य गरेकी गायिका कमलालाई महाकवि देवकोटाको कालजयी रचनाकै शब्दमै समर्पण छ–
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती...।

 

प्रकाशित: १० चैत्र २०७४ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App