७ वैशाख २०८१ शुक्रबार
अन्य

उडायो घर हुरीले

सरस्वती ज्ञवाली

किनबेच भएको एक महिनामा घरधनीले घर छोड्नुपर्ने सर्त थियो । तर दुई महिना बित्दा पनि छाडेका थिएनन् । मानवीय कारणले गर्दा धेरै कर गर्न पनि सकिनँ।

‘हामी वैशाखको अन्तिमसम्म सर्छौं । तपाईंहरूले त्यति बेला छाडिदिनुपर्छ ।’घर पास गरेको पनि दुई महिना भइसकेको थियो । उनीहरूले छाड्नुपर्ने दिन आयो । अघिल्लो दिन छाडेछन् । गएर हेरे“ । त्यो दिनभरि त्यहाँ के–के गरेछन् भनी साध्यै छैन । मान्छेभित्रको लोभपाप र कपट त पहिलोचोटि त्यही“ देखे“।

अर्को दिनदेखि घर मर्मत गर्ने, रङरोगन गर्ने भनेर सातजना लेबर लिएर जाँदा त त्यहाँ दुई–चार भारी फोहोरको डंगुरबाहेक केही छैन । सबैभन्दा पहिले पानी चाहिने । पानी चढाउने मोटर छैन । मोटर किनेर ल्याइयो । इनारमा भित्र गाडेको पाइप छैन । पाइप किनियो।

माथिको ट्यांकी छैन । सबै जोडियो । भित्र बल्ब, ट्युबलाइट केही छैन । सबै लगेछन् । तर आफूले गरेको फोहोरको डंगुर भने जताततै छाडेर गएछन् । यता गयो फुटेको सिसा असरल्ल । उता गयो थांना भोटा उस्तै फोहोर । लाजको थोपो रहेनछ । बाहिर भने असाध्यै धार्मिक, ज्ञानी र राम्रो !सरसफाइ गर्दा मेरो हातको छाला गएका थिए । यति फोहोर त अन्त कतै देखेकै थिइनँ । त्यति बेलासम्म मानिसहरू कसरी बसेका थिए होलान् ! एक दिन लक्ष्मी भाउजू र म सफा गर्न लागेका थियौ“ । मलाई उक्उक् लागिरहेको थियो।

भाउजूले एउटा झ्याल देखाउनुभयो, ‘सरस्वती हेर्नुस् त, किन होला यो झ्यालमा कालो पर्दा राखेका ?’ यसो झ्यालको सिसाजस्तो लाग्यो । पर्दा होइनजस्तो लाग्यो, नङले कोट्याएँ । सिसा रहेछ ! अनि साबुन दलेर सफा गरियो । सिसा सेतो भयो । हामी दंग प¥यौ“ । मान्छेको जात भएर पनि त्यस्तो फोहोरमा बस्न सक्ने !भित्र अलिअलि काम सकेर हामी त्यो घर स¥यौ“ । संकटकाल अलि सेलाएजस्तो हुँदै थियो । त्यसैबीच उनी र कृष्ण सिटौला दिल्लीमा पुगेर माओवादी नेताहरूसँग प्रारम्भिक वार्ता गरेर फर्केका थिए।

संयुक्त आन्दोलन गर्ने तयारी हुँदै थियो जस्तो लाग्छ । माओवादीको आक्रमण भने चर्किरहेको थियो । मलाई असाध्यै धपेडी भयो, सबै काम सक्न र फोहोर स्याहार्न । घर भन्नु त स्वस्थानीको कथामा गोमा बाहुनीको जस्तै थियो । त्यहाँकी छिमेकी बैनीले साह्रै धेरै सहयोग गरिन् ।घर सफा गर्दै थिएँ, अर्की एक छिमेकी आइन् । ‘हजुर आज अफिस गैसे’न, बिदा बसिस्या ?’ सहानुभूति देखाइन्।

‘कठै ! शिवजीले गोमाजीलाई छाडेजस्तो यस्तो ठाउँमा एक्लै छाडेर आफू गैसे’छ । भुरा कति छन् ?’ अरु पनि धेरै कुरा सोधिन् उनले ।‘स्यो’ लगाएर बोलेको कुरा कति बुझे“, कति बुझिनँ, त्यसमा पनि भुरा कति छन्, भनेको त झनै बुझिनँ । पछि थाहा पाएँ, यतातिर मान्छेको बच्चालाई पो भुराभन्दा रहेछन् । हामीले त माछाका बच्चालाई भुरा भन्थ्यौ“, आ–आफ्नो ठाउँको भाषा होला।

करिब १५ दिनमा लेबर लगाएर काम सकियो । मेरो सरसफाइको काम त एक महिना भयो होला । घर सफा थियो । निकै मेहनत गरे“ । बारी खने“ । मकै, तरकारी लगाएँ । आँगनभरि गमलामा फूल फुलाएँ । सबैले नमुना घर भन्न थाले । मैले मेरो आदर्शको घर माने“ । पार्टीमा लाग्दाको आदर्शको मेरो नमुना घर ! मेरै जोडबल र मेहनतले सजिएकाले मैले पटकपटक ‘मेरो घर’ भने“।

यो नमुना कटेजमा बस्न लागेको नौ महिना भएको थियो । बाहिर गणतन्त्र ल्याउने आन्दोलन चल्दै थियो । उनी निकै व्यस्त थिए । कसैले फोन गरेर घरको लोकेसन माग्यो । उनलाई सोध्यो ‘स्यो’ लगाएर । मलाई शंका लाग्यो ।अलि झर्केर जवाफ दिएँ, ‘कहाँ घरमा बस्नुहुन्छ र बल्खु हुनुहोला नि यति बेला । घरमा भेट हुँदैन ।’ तैपनि लोकेसन त दिनैपर्‍यो, दिएँ।

जानकारी गराउन फोन गरे“, मोबाइल स्विच अफ भन्यो । ठिमीमा कायक्रम रहेछ । सकेर राति घर आए । दिउँसोको कुरा बताएँ, शंका लाग्यो । पुलिसजस्तो छ भने“ । धेरै ढिला भइसक्यो । राति नै उठेर हि“ड्नुपर्ला भनेर सुतियो ।राति त कहाँ हि“ड्न भ्याउनु ! तीन बजे नै आए एक हुल सशस्त्र प्रहरीहरू । नौजनाको टिम रहेछ । लिएर हि“डे ।पार्टीलाई जानकारी गराउन फोन गर्छु भन्दा त फोनको लाइन काटिसकेको ! छिमेकी कोही उठेका छैनन् । उठे पनि सबै आफ्नै काममा । फोन भए पो सबैलाई थाहा हुन्थ्यो।

फोन नभएपछि सबै अन्धकार । मेरो संकटका दिन फेरि सुरु भए । उनलाई कहाँ लगेको थाहा थिएन । यत्तिकैमा राजेन्द्र अर्याल आए । शंका लागेको ठाउँमा खोज्न गयौ“ । भक्तपुरको दुवाकोट सशस्त्र प्रहरी ब्यारेकमा लगेको रहेछ । भेट्न दिएन । त्यहाँ सयौ“को संख्यामा साथीहरू थिए होलान्, कांग्रेस, एमाले र अन्य पार्टीका समेत । लामो समय बसेर मात्रै रिहा भए ।चैत २४ बाट जनआन्दोलनको तयारी थियो । ‘घरमा बस्न भएन । मेरै नेतृत्वमा कोटेश्वरको कमान्ड छ । २४ गते कोटेश्वरबाट ¥याली छ । म बाहिर बस्छु,’ उनी बाहिर बस्न थाले।

अघिल्लोपटक घरैबाट गिरफ्तार भएकाले अलि बढी सतर्कता अपनाइएको थियो । आफू सहभागी हुन नमिले पनि मेरो पूर्ण सहयोग र समर्थन थियो । छोरीलाई छाडेर हि“ड्ने अवस्था थिएन मेराे।आन्दोलनमा होमिने मेरो उत्कट अभिलाषा दबाएर बस्न बाध्य थिएँ । यो गणतन्त्र ल्याउने आन्दोलन थियो । आन्दोलन सफल होला या नहोला ? यही कुरा मनमा खेलिरहन्थ्यो।

चैते दसै“को दिन थियो । छिमेकमा खसी काटे । मेरा बच्चाले हेरेरै बसे । ‘आमा हाम्रोमा मासु किन्ने होइन ?’ पटकपटक सोधिरहे । कसैले सोध्न पठाए होलान् । मेरो मन अमिलिएर आयो । हाम्रो परिवारमा कहिले चाडबाड आउँछ र ? कहिले सँगै बस्नु छैन । सँगसँगै भए मासु किन्ने पैसा छैन । त्यस दिन पनि सम्झाएँ, ‘बुबा हुनुहुन्न, बुबा आएपछि मासु खाने है ।’ बच्चाहरू माने।

बुबा भएको बेला मासु खाने भन्ने त्यही सोचाइ भएर होला, त्यसको दस वर्षपछि पनि सानो छोराले भनिरहन्छ, ‘बुबा नहुँदा किन मासु पकाउनुभयो ? बुबा आएपछि खाँदा हुन्छ नि !’ यो सम्झेर ल्याउँदा आज पनि आँखा भरिएर आउँछ । सबै नेताहरू सांसद, मन्त्री भएका परिवारहरूको घरको व्यथा मेरैजस्तो हुन्छ कि ? फरक ?सानो–सानो कुरा पनि पूर्ति गर्न नसकिने हाम्रो अवस्था छ, तर हामी सन्तोषले बाँचेकै छौ“ । खोक्रो आडम्बर देखाउनु छैन । मेरा छोराहरूलाई अझै पनि बुबा आएपछि सबै समस्या समाधान हुन्छ जस्तो लाग्छ । सबै कुरा बुझेका छैनन् होला।

के–के सोचेर बसिरहेकी थिएँ, बाहिरको मौसम अलि अँध्यारो लाग्यो । छोराहरू खेल्न गएका थिए । छोरीलाई भित्र ल्याएँ । हावाले धुलो उडाउँदै थियो । फोहोर आउँछ भन्दै ढोका लगाएर भित्र पसे“, आकाश छ्यांग देखियो ! आकाश सफा थियो र तल मात्र अलिअलि बादल लागेको । हुरीले एकै झट्कामा घरको सिंगै छानो उडाइदिएछ।

‘छाना उडायो ।’ सबैले हल्ला गरेपछि म झस्के“ र दौडेर बाहिर निस्के“ । बाटोमाथि पुगे“ । पूरै छाना छैन । डाँडाभाटा केही छैन । मेरो आदर्श घर हुरीले उडायो । ‘उडायो सपना सबै हुरीले’ भनेजस्तो भयो । अरुको त सपना उडाउँदो रहेछ, मेरो भने घरै उडायो । फेरि मेरो बिचल्ली भयो।

जहाँ पनि ठूलाले सानोलाई हेपेकै हुँदोरहेछ । हावाहुरीले पनि हाम्रो सानो र कमजोर घर उडाएको रहेछ । वरिपरि पक्की घरको बीचमा हाम्रो एकतले कच्ची घर । त्योभन्दा तल खेत थियो । खेतमा हावाहुरीसँगै भुमरी परेर हाम्रो घरको छाना पुगेको थियो । हामी अत्यन्त सोझो मान्छे । सबैको विश्वास गर्ने । हामीलाई घर बेचेपछि घरबेटीले छानो अड्याउन राखेका, मिलेसम्मको डाँडाभाटा उप्काएर आफूले घर बनाउन लगेका रहेछन् । टिन र अड्याउने काठ नदेखेपछि छिमेकीहरूले मुख खोले । सबैले सहानुभूति दिए । गाली लाग्ने भए सबैले उनैलाई गाली गरे।

फेरि भित्र पसे“ । फोन गर्न खोजे“ । फोनको लाइन पहिलेदेखि काटिएकै थियो । छिमेकीको घर फेरि गएँ । उभिएँ । बोली छुटेन, हेरिरहे“ । अवाक् भएँ म । कहाँ र कसलाई पहिले फोन गरुँ ? आफ्नो श्रीमान् या साथीभाइलाई ? पहिले पुतलीसडक विष्णु प्रभात दाइकहाँ गरे“ । अनि बहिनी सुमित्रालाई । श्रीमान्लाई फोन गरे“ सेल्टर बसेको ठाउँमा, ‘बूढो, घर त उडायो !’छोटो जवाफ दिए, ‘मर्मत गर न, कसैलाई खोजेर ।’

घरमा गएँ । छोरीले खाना खाने बेला भएको थियो । भान्छामा पुगे“, इँटा मात्र छ । कोठाहरू हेरे“ । सुत्ने कोठाको बिस्तरा इँटा र माटोले पुरिएको छ । मेरो हातमा केही काम आएन र आँखामा आँसु पनि आएन । मुख सुकेको थियो । केवल बान्ता आउला जस्तो मात्र भयो ।चैते दसै“को बिदाको दिन । सबैका घरमा उमंग छ । सबै परिवार जुटेर रमाएका बेला मेरो हालत यस्तो छ । यसैलाई त होला ‘जो हो“चो उसैको मुखमा घोँचो’ भनेको !

‘प्रदीप ज्ञवालीको घरको पूरै छाना उडायो’ भन्ने खबर हावा सरी फैलिएछ । भ्याए र थाहा पाएसम्म सबै चिनजानका मानिस आए, गठ्ठाघरसम्मबाट । आफ्नो सबै काम थाती राखेर । छिमेकीको बन्दै गरेको घरमा सामान सारे । सबैले बोके, मिलाए, मलाई केही काम गर्न दिएनन्।

आन्दोलनमा लागेको नेता भएर पनि होला, धेरैको सहानुभूति पाएँ । बुद्धनगरबाट पैदल हि“डेर भाइ बौद्धराज र ज्वाइँ टेकबहादुर राना पनि सहयोगका लागि आइपुगे । सबै सामान कही“कतै हराएनन्, जस्ताको तस्तै नयाँ डेरामा राखिदिए । सबै मिलेर गरेको त्यो सहयोगप्रति म सधै“ आभारी रहनेछु ।
त्यसको पर्सिपल्ट मेरो नयाँ डेरामा फोन आयो, जिल्लातिरका कमरेडहरूको जमघट भएको ठाउँबाट रहेछ । एक नेता बोले, ‘सरस्वती कमरेड, घर त उडाएछ है ? गाउँमा भएको भए एउटा मुठो खर र एउटा खाँबो लिएर आउनुहुन्थ्यो । त्यहाँ त के गर्ने र !’ पछाडि गलल हाँसेको सुनियो।

मैले पनि जवाफ दिएँ, ‘मन भए त यहाँ पनि एक मुठा छड र एक बोरा सिमेन्ट लिएर आउन सकिन्छ नि।’
फेरि उही हाँसो दोहोरियो । मैले असाध्यै पीडा र हेपिएझै“ महसुस गरे“ । एउटा सहयोद्धा भूमिगत छ, भोलिको आन्दोलनलार्ई नेतृत्व गर्दै छ । घर त्यस्तो भयो । परिवार कहाँ–कहाँ, घरमा के थियो । के खाए होलान् ! जस्ता सहानुभूतिका शब्दसम्म बोल्न सकेनन्, केही साथीहरूले, नेताहरूले । उल्टै हाम्रो गरिबीको खिल्ली उडाए, खुसी मनाए ।मेरो लोग्नेको पनि नियत त्यस्तै भए, हाम्रो पनि हावाले नउडाउने घर हुँदो हो । तर हुनेहरूबाट हाम्रो इमानदारीमाथि, हाम्रो आदर्शमाथि खिल्ली उडाइयो । मलाई यसको पीडा जीवनभर रहनेछ । उनीहरूले त सायद जाँडको घुट्कोसँगै निलेर पचाए होलान्।

आन्दोलन सफल भएपछि, गणतन्त्र आएपछि मेरो लोग्नेको नाम पत्रिकामा आयो । मन्त्री बन्ने लिस्टमा, फोटोसहित । अनि स्वार्थका कुभिन्डाहरू साखुल्य हुन रातिराति धाउन थाले । चाकडीमा हाजिर हुन थाले र भन्न थाले, ‘घरमा यस्तो भएको रहेछ, मेडमले केही भन्नुभएन त हामीलाई !’

मेरो दुःख मैले नै व्यहोर्ने हो, उपेक्षाका हाँसो हाँस्नेहरूले होइन । मेरो व्यथा मसँगै छन्, खुराफातीहरूलाई किन भन्ने ? मैले भनिनँ । भीख मागिनँ कसैसँग । जो मेरा थिए, ती आए । बन्दको बेला पनि पैदल हिँडेर।

घरको छाना उडाएको राति जे त पर्ला, यस्तो समस्या परेको बेला साथ दिनुपर्छ भन्ने सोचेर होला, उनी नयाँ डेरामा आए । खाना खाने पकाउने मनै थिएन । हाम्रो समस्या बुझेर होला छिमेकी भाइले अतिथि सत्कार गर्नुभयो । अरु पकाउने सामान पनि थिएन । छोरीलाई जाउलो खुवाएर सुताएँ।

उनलाई देखेपछि थोरै आशा पलायो । मलाई अहिलेसम्म थामेर राखेको बोझले थिच्यो । उनकै समीपमा बसेर भक्कानो फेरेर सकुन्जेल रोएँ । केही क्षण हलुंगो भयो । के निद्रा लाग्थ्यो त रातभरि ! मुसलधारे पानी परिरह्यो । आकाश जोडतोडले गर्जिरह्यो । हामी सुत्न सकेनौ“ ।३ बजेतिर पानी अलि कम भएपछि उनी राति नै हि“डे । बिहान कोटेश्वरबाट निस्कने विशाल र्‍यालीको नेतृत्व गर्नु थियो ।

म फेरि कति दिनका लागि हो, एक्लै हुँदै थिएँ । बच्चाहरू मात्र थिए साथमा । त्यहाँ मन खोलेर दुःख पोख्ने कोही थिएनन् । अरु पार्टीका समर्थकहरू मात्रै । अझ एकजनाले भने पनि, ‘आन्टी, खै तपाईंहरूको एमाले त यस्तो बेला पनि देखापरेनन् ? कस्तो पार्टी हो ?’ म केही बोलिनँ, मन भारी भएर आयो ।कोटेश्वरको जुलुसबाटै पक्रेछ उनलाई । त्यो दिन केही थाहा भएन । पक्रे पनि कहाँ राखेको छ भन्ने थाहा नहुने । चिनेजानेको सबै आन्दोलनमै थिए । त्यसै बेला गुल्मीबाट दिदीले रुँदै फोन गर्नुभयो । ‘भाइलाई त पक्रेछ, कहाँ राखेको छ ?’‘थाहा छैन ।’

‘त्यहाँ बसेर पनि तिम्ले थाहा छैन भन्ने ? खोजी गर्नुपर्दैन ?’मलाईभन्दा दिदीलाई पीडा रहेछ क्यारे । सबै यातायात बन्द, त्यस्ती छोरी कहाँ छोडेर खोज्न जाऊँ ? घर उडाएपछि छोरी झनै बिरामीजस्तै भई । भत्केको घरतिर हेर्छे । डराएजस्तो गर्ने, रुने गरिरहेकी थिई । दिदीको फोन आएपछि त मेरो दुखिरहेको मन झनै चहर्‍याएर पो आयो ।

उहाँहरूको नजरमा मैले श्रीमान्को वास्ता नगरेजस्तो पो परेछ कि क्या हो ! हुन त घरको सबै अवस्थाबारे दिदीहरूलाई थाहा पनि थिएन होला।उनको खोजीमा हि“डे“ । कौशलटारको मेनरोड आएँ । जताजतै टायर बालेर बाटो कालै थियो, कोही हि“डेको थिएन । बिनामेसो कहाँ जाने ? अन्योल मन लिएर गोमा बैनीका पसलमा रोकिएँ । भने“, ‘उनलाई कहाँ राखेको छ, पत्ता लगाउन हि“ड्दै छु । कहाँ कसरी जाऊँ ?’ उनले चिनेको एकजना भाइको मोटरसाइकलमा मलाई तीनकुने चौकीमा पठाइन् । त्यही“ राखेको रहेछ । तर, भेट गर्न दिएन ।

मैले घरको अवस्था र छोरी बिरामी भनेर कर गरेपछि भेट्न त दियो, तर दुई मिनेट मात्रै । म अलि ढुक्क भएर फर्कें । त्यसपछि उनलाई महाराजगन्ज एकेडेमीमा लगेछ । १९ दिनसम्म फोनसोन केही भएन । भेटेका केही साथीभाइले सन्चै हुनुहुन्छ भन्थे, त्यति हो । मेरा हरेक क्षण यस्तै गरी बितिरहे।हाम्रो घरको सबै छाना उडाएपछि सहयोगका लागि आएका सबै सहयोगीले सल्लाह गरेछन् । चन्दा उठाएर भए पनि सरको घरको छाना हालिदिनुप¥यो । उहाँले के भन्नुहुन्छ भनेर केही मान्छेहरू सोध्न आएका थिए।

‘ठिकै छ, अहिले केही गर्नुपर्दैन । सर आएपछि के गर्ने भन्ने सल्लाह हामी आफै“ गर्छौं,’ मैले भने“ ।
हामीले फाइदा लिन चाहेकै भए त त्यति बेला पनि लिन सकिने रहेछ नि ! आफ्नो आदर्शलाई बन्धकी राखेको भए । उनी थुनामा रहेको बेला सबैको सहानुभूति हुने थियो मैले हात थापेको भए । तर मेरो आदर्शले त्यो गर्न दिएन । आफ्नो स्वार्थका लागि कसैसँग झुक्न मानेन ।
(शनिबार राजधानीमा विमोचन हुने ‘लालिटिनको उज्यालो’बाट)
    

 

प्रकाशित: १० चैत्र २०७४ ०३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App