१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

टौदहको देश

  टङ्क भट्टराई                                 

टौदहमा
एकाबिहानै बालसूर्य आएर चोबलिन्छ
दिव्य प्रकाशको आभाले पुलकित हुँदै
सलबलाउँछन् पानीका तरङ्गहरू

आकाश चन्द्रागिरिमा घ्वाप्लाक्क झरेको देखेर
सगर थाम्न खोज्छ
टौदहको किनारमा उभिएर हुटिट्याउँ

हरेक रात
माछाहरूको मोहिनी नृत्यले लोभिँदै
ताराहरू दहमा पौडी खेल्न झर्छन्
धर्तीमा श्वेत किरणहरू पठाएर
आकाशको बार्दलीबाट जून
एकतमासले हेरिरहन्छ टौदहको चमत्कार

निर्मल छ टौदहको पानी
जादुगरी छ टौदहको आकृति
हरेक कुनाबाट जोकोहीले जति नै आँखा तन्काए पनि
एउटा कुनो आफ्नै पोल्टामा लुकाएर फिस्स हाँसिदिन्छ यो

किनारामा बसेका मायालु जोडीहरूको मनको बह
चुपचाप सुनिदिन्छ टौदह
हरदिन हजारौँ आँखाहरूले घोच्दा पनि
पूmलझैँ मुस्कुराइदिन्छ टौदह

टौदहको देशमा
कर्कोटक नाग-नागिनी
राता-पहेँला-सेता माछाहरू
जलहाँस र पानी सर्पहरू
सबै सबै मिलेर बसेका छन्
मायाले भिजेको मन
र जिन्दगीका सपनाहरू फिँजारिएका छन् पानीका लहरसँगै

एउटा आश्चर्य
दहको बीचमा पनि उभिएको छ एउटा रूख
जहाँ, विविध थरीका चरा
पखेटामाथि सिंगै आकाश बोकेर ओर्लन्छन्
र चिरबिराउँछन् ‘वसुधैव कुटुम्बकम’का वैदिक ऋचाहरू
रूखका जराले ओगटेको माटो
कृतघ्न भएर खोतलेको छैन पानीले

टौदहको यो नागराज्य
समावेशी- संघीय राज्यको सर्वोत्तम नमुना हो
सबै जाति बाँधिएका छन् यहाँ प्रेमको धागोले
सबै अडिएका छन् यहाँ एकताको बलले
सबै समाहित छन्
सह–अस्तित्वको सुनौलो इन्द्रेणी रङ्गमा ।

                        

 

 

 

 

 

 

 

प्रकाशित: १० चैत्र २०७४ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App