फुटपाथमा फिँजाइएका बग्रेल्ती अखबारहरूले
एउटै शीर्षकमा समाचार पस्किएका छन्
थप हजारजना सहिद घोषणा ।
सहिदगेटका सालिकहरू
मौनतामै प्रश्न गर्छन्
ती नवघोषित सहिदमा बलिदानी भाव कति होला ?
निष्ठा र समर्पणको इतिहास कस्तो होला ?
कति साहसी थिए होलान् तिनीहरू ?
मृत्य, हत्या र सहादतको
एकैखाले अर्थ लागिरहेको यो समयमा
शिलामा ठडिएका सपुतहरूले
गजुरमा राखिएका महाराजको
सत्ता ढलेको अनुभव गरेका छन्
पञ्चायत, प्रजातन्त्र र लोकतन्त्र सबै कालमा
आदेशमा चल्ने सिपाहीहरू
टुँडिखेलमा कबाज खेल्नमै व्यस्त देखेका छन्
हेडक्वार्टरका जर्साबहरू पल्टनको कडा पहराबीच
व्यापारमा दत्तचित्त रहेको दृश्य
नजिकबाटै नियालिरहेका छन् ।
रत्नपार्कको सदावहार यौनलीला देखेर
लजाइरहेका सालिकहरू
देह व्यापार र बर्दीधारीको
अन्तर्मिलनको भेद खोलिरहेका छैनन् ।
भूकम्पले धर्तीमा मिल्न पुगेको
धरहरा ठडिन नसकेकामा उनीहरू खिन्न छन्
फोहोर, धुलोमैलोमा रमाउने बागदरबार
महानगरको बोझले थिचिएकामा चिन्तित देखिन्छन् उनीहरू ।
स्मृतिमा खेलिरहेको
अग्ला पर्खालभित्र
जेहादीहरूको जमात हुन्थ्यो उसबेला
उनीहरूमध्ये कतिले गोली थापे
कतिपय पासोमा झुन्ड्याइए
र, कतिपय नेता बनेर गलामा माला झुन्ड्याइरहेका छन् ।
त्यहीँ छ अग्लो पर्खाल र
जहाँको त्यहीँ छन् सालिकहरू
पर्खालभित्र
सेन्ट्रल र भद्रगोल जेल
अपराधी उत्पादन गर्दै छ
एकपछि अर्को डन पैदा भइरहेका छन् सहरमा
मौन सहिदहरू रमिता हेरिरहेका छन् ।
प्रकाशित: १० चैत्र २०७४ ०३:४६ शनिबार