७ वैशाख २०८१ शुक्रबार
खेल

इब्राहिमोभिच एलए ग्यालेक्सीमा आबद्ध

लन्डन – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले ओल्ड ट्राफोर्ड बसाई टुंयाउदै अमेरिकी मेजर लिग सकरको टोली एलए ग्यालेक्सीसँग २ वर्षको सम्झौता गरेका छन्। तर उनको सम्झौता रकमका बारेमा भने केही खुलाइएको छैन।

‘महत्वपूर्ण उपलब्धिको पनि समय हुँदो रहेछ । जुन कुनै दिन समाप्त हुन्छ,’ इब्राहिमोभिचले ट्विट गरेका छन्,’ ‘मैले म्यान्चेस्टर युनाइटेडमा बिताएका दुई सिजन अविस्मरणीय बने । यस अवधिमा युनाइटेडबाट खेल्दा साथ र सहयोग गर्ने क्लब व्यवस्थापन, प्रशिक्षक, टिम सहयात्री, क्लब पदाधिकारी र समर्थकलाई धन्यवाद दिन चाहन्छु।’

स्विडेनबाट १ सय १६ खेल खेल्दै ६२ गोल गरेका ३६ वर्षे इब्राहिमोभिच सात वटा क्लबबाट च्याम्पियन्स लिग खेल्ने पहिलो खेलाडी हुन् । २०१६–१७ को सिजनअघि फ्रान्सेली लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) छोडेका इब्राहिमोभिच जुलाईमा २० पटकको प्रिमियर लिग विजेता युनाइटेडसँग आबद्ध भएका थिए।

अप्रिल २० मा दायाँ घुँडामा चोट लागेपछि केही समय मैदान बाहिर बसेका इब्राहिमोभिचले त्यसपछिका दुई खेलमा पहिलो रोजाईमा र अन्य पाँच खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । युनाइटेडबाट ५३ खेल खेलेका इब्राहिमोभिचले २९ गोल गरेका छन्।

क्लबसँगको सम्झौता सकिन तीन महिनामात्र बाँकी भए पनि इब्राहिमोभिचले सम्झौता अन्त्य गर्दै एलए ग्यालेक्सी जान राखेको चाहना युनाइटेडले स्विकारेको थियो। ‘इब्राहिमोभिचको योगदानप्रति क्लब उनलाई धन्यवाद दिन चाहन्छ,’ युनाइटेडले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘क्लब उनको आगामी दिन सुखद होस् भन्ने कामना गर्दछ ।’

यसै महिनाको सूरुमा प्रशिक्षक जोजे माउरिन्होले इब्राहिमोभिच सिजन नसकिइकनै सरुवा हुने संकेत गरेका थिए ।
‘इब्राहिमोभिचसँग आफ्नो भविष्य रोज्ने अधिकार सुरक्षित छ,’ माउरिन्होले भने, ‘उनी प्रतिभावान खेलाडी हुन् । पहिलो सिजन उत्कृष्ट रहे पनि घुँडाको चोटका कारण दोस्रो सिजन उनका लागि सुखद बन्न सकेन । त्यसैले उनले क्लब बसाई टुंगाउन चाहेका हुन्।’

प्रकाशित: १० चैत्र २०७४ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App