८ वैशाख २०८१ शनिबार
खेल

एन्फा चुनाव सर्ने निश्चित

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले निर्धारित समयमै निर्वाचन गर्न निर्देशन दिए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव बुधबार नहुने भएको छ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अदालतको अन्तरिम आदेशका कारण निर्धारित मिति चैत १४ मा चुनाव गर्न निर्वाचन कमिटी तयार नभएकाले केही समय सर्न सक्ने बताए । ‘हामीले आज निर्वाचन कमिटीलाई अदालतको कागज दिएर सल्लाह गर्यौं । उहाँहरुले उच्च न्यायालयको निर्देशन अटेर गर्न नसक्ने बताउनुभयो । उहाँहरुले भक्तपुर र मकवानपुरलाई पनि समावेश गरेर चुनाव गर्नुपर्ने विचार राख्नुभयो,’ श्रेष्ठले शुक्रबार नागरिकसँग भने, ‘जवरजस्ती चुनाव गर्न बाध्य पारे निर्वाचन कमिटीका सदस्यहरुले छोड्छौं भन्नुभयो । भोली फेरी निर्वाचन कमिटीसँग छलफल गरेर निर्णय लिन्छौं । तर चैत १४ को मितिमा गर्न सम्भव नहोला।’

फिफा र एएफसीले निर्धारित मितिमै चुनाव गर्ने ‘सुझाव’ दिएको बताउँदै श्रेष्ठले  थपे, ‘फिफा र एएफसीले मिति नसार्न सुझवा दिएर नियमित अपडेट गर्नु भनेको छ । हामीले सबथोक आज अपडेट गरेर पठाएका छौं । त्यहाँबाट जवाफ आएको छैन । आज विहान निर्वाचनमा उम्मेदवारी दिएका सबै पक्षका साथीहरुसँग राम्रो कुराकानी भएको छ । हामी जति सक्यो चाढो चुनाव गर्ने सोचमा छौं।’

एन्फा साधारणसभाका लागि गठित निर्वाचन कमिटीमा अधिवक्ता सुमन केसी, अधिवक्ता लक्ष्मण थापा र राजभाई मानन्धर छन् ।
चैत १४ बुधबारका लागि तय भएको एन्फाको निर्वाचन रोक्न बिहीबार ललितपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।

निर्वाचन समितिका सदस्यहरुले उच्च न्यायालयको निर्देशन अटेर गर्न नसक्ने बताउनुभयो । जवरजस्ती चुनाव गर्न बाध्य पारे उहाँहरुले छोड्छौं भन्नुभयो

                                                                  – एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ

अदालतले भनेको छ त्यो मान्नै पर्यो । फिफाले पनि भनेको छ त्यो पनि मान्नै पर्यो । फिफाको कुरा मान्ने हो भने एन्फाले मकवानपुर र भक्तपुरको अधिवेशन गर्नुपर्छ

                                                                              – अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पा

भक्तपुर जिल्ला फुटबल संघको अपिलका आधारमा न्यायाधीश राजकुमार बनको एकल इजलासले तत्कालका लागि निर्वाचन रोक्दै बाटो म्यादबाहेक १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । भक्तपुरसँगै मकवानपुर जिल्ला फुटबल संघले पनि आफूलाई सहभागी नगराई साधारणसभा गर्न लागेको भन्दै उजुरी दिएको थियो ।

भक्तपुरमा चुनाव भएको तथा मकवानपुरको चुनाव निर्वाचन निर्देशिकाअनुसार नभएको भन्दै एन्फाले दुई जिल्लालाई समावेश नगरी मतदाता सूची सार्वजनिक गरेको थियो । आगामी चार वर्षे कार्यकालका लागि हुन लागेको आसन्न एन्फा निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा छन्।

अध्यक्ष पदका उम्मेदवार शेर्पाले एन्फा नेतृत्वबाट फिफा र एएफसीको निर्देशनबारे जानकारी पाएको बताउँदै समयमै निर्वाचन हुनेमा आशावादी रहेको बताए । ‘चुनावको बारेमा मलाई केही थाहा छैन । एन्फाले बताउने कुरा हो । उहाँहरुले भनेरै फिफाबाट पत्र आएको थाहा पाएको हो र त्यही आधारमा चुनाव हुन्छ भनेको हुँ,’ शेर्पाले थपे, ‘अदालतले भनेको छ त्यो मान्नै पर्यो । फिफाले पनि भनेको छ त्यो पनि मान्नै पर्यो । फिफाको कुरा मान्ने हो भने एन्फाले मकवानपुर र भक्तपुरको अधिवेशन गर्नुपर्छ । एन्फाले मकवानपुर र भक्तपुरमा अधिवेशन गराउन प्रतिनिधि पठाए हुन्थ्यो।’

प्रकाशित: १० चैत्र २०७४ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App