७ वैशाख २०८१ शुक्रबार
खेल

मैत्रीपूर्ण फुटबलमा ब्राजिल,अर्जेन्टिना,पोर्चुगल र इङल्याण्ड विजयी

काठमाडौं – मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र इङल्याण्ड विजयी भएका छन्।

प्रतियोगिताअन्र्तगत शुक्रबार राति सम्पन्न खेलमा ब्राजिलले रुसलाई ३–० ले हराएको छ। ब्राजिलको जितमा ५३ औं मिनेटमा मिराण्डा, ६२ आैं मिनेटमा फिलिप कौटिन्होले ६२ र ६६ औं मिनेटमा पाउलिन्होले गोल गरेका थिए। ब्राजिलले १३ मिनेटमा ३ गोल गरेको हो।

यस्तै अर्जेन्टिनाले इटालीलाई २–० ले पराजित गर्यो। इङल्याण्डमा भएको खेलमा अर्जेन्टिनालाई विजयी गराउन ७५ मिनेटमा बेनेगा र ८५ औं मिनेटमा लान्जिनीले गोल गरे।

त्यस्तै नाटकीय खेलमा कप्तान क्रिष्टियानो रोनाल्डोको २ गोलको मद्धतले पोर्चुगलले इजिप्टलाई २–१ हरायो। खेलको ९० मिनेटसम्म १–० ले पछि परेको नतिजा उल्ट्याउदै नतिजा आफ्नो पक्षमा पारेको हो। इजिप्टका लागि मोहम्मद सलाहले ४५ मिनेटमा गोल गरेका थिए। पोर्चुगलका लागि ९० मिनेटपछिको इन्जुरी समयमा रोनाल्डोले दुई गोल गरेका थिए।

यता इङल्याण्डले नेदरल्याण्डसलाई १–० ले पाखा लगायो। इङल्याण्डको जितमा एकमात्र निर्णयक गोल खेलको ५९ औं मिनेटमा जेसी लिंगार्डले गरे। गएराति नै भएको अर्को खेलमा जर्मनी र स्पेनले भने एक–एकको बराबरी खेलेका छन्।

खेलको छैटाैं मिनेटमै रोड्रिगोको गोलमा स्पेनले अग्रता लिएपनि ३५ औँ मिनेटमा मुलरले जर्मनीका लागि बराबरी गोल फर्काए।
यसैगरी कोलम्बियाले फ्रान्सलाई ३–२ ले स्तब्ध बनाएको छ।

कोलम्बियाका लागि लुइस मुरिएल, राडामेल फाल्काओ र जुवान कुइन्टेरोले गोल गरे। फ्रान्सका लागि ओलिभर जिरोउड र थोमस लेमरले गोल फर्काएपनि जित दिलाउन सकेनन्।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा टर्कीले आयरल्याण्ड र कोष्टारिकाले स्कटल्याण्डलाई समान १–० ले पराजित गर्दा जापान र माली तथा सेनेगल र उज्वेकस्थानले एक–एक गोलको बराबरी खेलेका छन्।

प्रकाशित: १० चैत्र २०७४ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App