७ वैशाख २०८१ शुक्रबार
अन्य

तारकेश्वरको उकालोमा...

छाती ठूलो पारौं है, पेट सानो गरौं है !

राम्रो भलो कामको लागि दिल खोलौ है!

ललितपुर, मंगलबजारका शेरबहादुर महर्जन भट्टयाउदै गीत गाउन थाले। ११ बर्षे आलोक महर्जन मादल बजाउन थाले भने सबै पदयात्री हात उठाई कम्मर मर्काई मर्काई नाच्न थाले। यसरी हात माथि उठाएर नाच्दा मानिसमा रहेको संकोच र लाज हटी आत्मबल बढाउँछ।

पदयात्रामा खाना खाने वित्किै हिँड्दा समस्या हुन्छ। त्यसैली हामी पदयात्रामा खाजा पछि केही समय अन्तरक्रिया गछौं। अनि स्वास्थ्य सञ्देश दिने गीतमा नाचगान गर्छौं। गत फागुन २६ गते तारकेश्वर क्षेत्रमा त्यसैगरी नाचगान ग¥यौं हामी। हामी प्रकृतिप्रेमी समूको १३० औं पदयात्रामा तारकेश्वर पुगेका थियौं। तारकेश्वर भन्दा दुई सय मिटर माथिको धौलेश्वर मूनि चौर (२००० मिटर) मा बसेर हामीले लन्च खायौं।

काठमाडौंको शिवपूरी राष्ट्रिय निकुञ्जको जंगलमा बसेका छन् महादेव (१८५० मिटर)। तलको फराकिलो बाटोबाट ठूलो चट्टाने ओढार छेउबाट ढुुँगा ओच्छयाइएको सिँढी चढेर पुग्नु पर्छ। त्यहाँ सानो खुल्ला चौरमा शिवलिंग, त्रिशुल र चिसो पानी बग्ने धारा छन्। यसैलाई तारकेश्वर महादेव भनिन्छ।

तपाइँ पनि लालीगुँरासको सौन्दर्यमा रमाउन तारेकश्वर जाने कि?

मन्दिर नजिकै श्रीनाथ बाबाको आश्रम छ। उनी बस्न थालेको ०५९ सालदेखि। उनी भन्दा पहिल्यैदेखि त्यो ठाउँमा कालीबाबा बस्दै आएका थिए। चौरबाट काठमाडौं उपत्यकाको झलमल्ल दृष्य देखिन्छ। मौसम सफा हुँदा उत्तरतिर हिमाल मुस्कुराउँछन्।

स्थानी ब्रत कथासँग जोडिएको छ तारकेश्वर। कथा अनुसार महादेव मृत सतिदेवीको जलेको शरीर च्यापेर हिँड्ने क्रममा यहाँ आइपुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको थियो। त्यहीँ पछि महादेव उत्पन्न भए। यहाँ लक्ष्मीले पनि तपस्या गरेको विश्वास गरिन्छ।

महादेव बसेको ठाउँ भन्दा माथि पनि भिरमा ढुँगे ओढारमा महादेव छन्। तिनको दर्शन गर्न भर्याङ चढ्नु पर्छ। ती महादेव नजिकै अर्को ओढार छ, जहाँ गणेश, महादेव, त्रिशुल, घन्ट आदि छन्। तलका महादेवलाई बुढा महादेव भनिन्छ। किँवदन्ती अनुसार उहिले गाउँमा कुनै भोजभतेर वा शुभकार्य हुँदा बुढा महादेवले गाउँलेलाई भाँडावर्तन दिन्थे। एकपटक एक व्यक्तिले पन्यू फिर्ता दिएनछ। त्यही दिनदेखि महादेव रिसाएर भाँडा दिन छाडेछन्।  

मन्दिरमा शिवरात्री, जनैपूर्णिमा, स्वस्थानी ब्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ। खडेरी पर्यो भने वरपरका गाउँले बाजागाजासाथ तारकेश्वर पुगेर पानी माग्छन्। त्यसरी मागेपछि पानी पर्ने जनविश्वास छ।तारकेश्वरबाट माथि धौलेश्वर महादेव छन्। धौलेश्वर पुग्न डेढ घन्टा ठाडो जंगलको उकालो चढ्नु पर्छ। कोलाहल र प्रदूषणमुक्त तारकेश्वर वर्षैभरि शितल हुन्छ। जंगल क्षेत्र भएकाले हरपल चिरबिर सुनिन्छ। जंगलमा बँदेल, मृग, चितुवा, बाघ आदि जनाबर छन्।   

सरकारले २०७१ मंसिरमा साविकका गोलढुँगा, जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङला, मनमैजु र फुटुङ गाविस मिलाएर तारेकेश्वर नगरपालिका बनाएको छ। जितपुरफेदी र काभ्रेस्थलीको शिरमा तारकेश्वर पर्ने भएकाले स्थानीय महादेवलाई इष्ट देव मान्छन्।

ध्यान र योगका लागि तारकेश्वर पूण्यभूमि हो। त्यहाँ कविर आश्रम पनि छ। बोली र व्यवहारमा एकरुपता ल्याउने, मन र इन्द्रियलाई आफ्नो वशमा राख्न सक्ने मान्छे नै कविर हो। भारत, उत्तरप्रदेशका विशालदेवको इच्छाले त्यहाँ वि.सं. २००४ मा आश्रम बनाइएको। उनी जिवित छँदा बेलाबेला तारकेश्वर आएर योग तथा ध्यान गर्थे। पहिला आश्रमले शिविर चलाउँथ्यो, अचेल चलाउँदैन।     

तारकेश्वर पदयात्रा तीन पिप्लेबाट शुरु गर्ने। पासाङ ल्हामु राजमार्गको तीन पिप्ले बजार हो। पहिला तीनवटा पिपलको बोट थियो रे त्यहाँ, अहिले एउटा मात्र छ। यहाँबाट सोझै उकालो चढ्दा ४ किमिमा तारकेश्वर पुगिन्छ । हामी भुवनेश्वरी, श्यामबाबा आश्रम हुदै पाँचमाने पुग्यौं। श्याम बाबाले दक्षिण एशियाकै अग्लो देवीको मूर्ति सहित भुवनेश्वरी बनाएका थिए। १२ वैशाख ०७२ को भुकम्पले त्यो मन्दिर ढाल्यो। त्यसको पुनःनिर्माण हुँदैछ।   

गाउँमा ब्रदर्श होमस्टे रहेछ। जहाँ ८ जना बस्न सक्छन् । ‘तारकेश्वर गएर आएका पर्यटक हाम्रोमा खाना खान्छन्’, होमस्टे सञ्चालक रोशन भन्छन्, ‘हामी लोकल खाना दाल, भात र अग्र्यानिक तरकारी खुवाउँछौं।’ उनीहरु पाहुनालाई तारकेश्वर पनि घुमाइदिन्छन्। विदाका दिनमा परिवारै आउनेहरु पनि हुन्छन्।

तारकेश्वर मुन्तिरको पाँचमानेको छुट्टै इतिहास छ। उहिल्यै तिब्बत र नेपालको लडाइँ हुँदा तिब्बतीहरु यहीँसम्म आएका थिए। उनीहरु काठमाडौं भित्र पस्न नसकेपछि यहाँसम्म पुगेको चिनोस्वरुप ५ वटा माने बनाएर फर्केछन्। त्यसैले यो ठाउँलाई पाँच माने भन्न थालियो। पुराना माने भत्केकाले ३ बर्ष अघि फेरी नयाँ ढाँचामा पुनः निर्माण गरिएको छ। अचेल ४ वटा मात्र माने छन्।

यहिँबाट निकुञ्ज क्षेत्र सुरु हुन्छ । पाँचमानेबाट २ किमि उकालो चढेपछि तारकेश्वर र त्यसको २ किमिमा धौलेश्वर। पृथ्वी राजमार्ग र त्रीशुली बाटो बन्नु अघि नुवाकोट र गोरखाबाट हिँड्ने बाटो यही थियो। यहाँबाट पश्चिम दुई घन्टामा ककनी र पूर्व सभा घन्टामा काभ्रेस्थली पुगिन्छ।

पाँच मानेबाट जंगलको बाटो, हरियाली, चिरबिर, किरा फटयाङग्राको आवाजले मोहित पार्छ।  तीन पिप्लेबाट तारकेश्वर उक्लेर अल्ले हुँदै गुर्जे भञ्ज्याङसम्म हाइकिङ गर्न सकिन्छ। तीनपिप्ले–तारकेश्वर ५ किमि। तारकेश्वरबाट गुर्जे भञ्ज्याङसम्म मोटर बाटो छ। साइकल र मोटरबाइक चलाउन मिल्छ। तारकेश्वरबाट गुर्जे जाँदा बीचमा निकुञ्जको चेकपोष्ट छ। त्यहाँ प्रबेश टिकट काट्नु पर्छ। पाँच मानेमा सामान्य खाजा पसल छन्, बस्ने सुविधा छैन। तारकेश्वरमा बसेर खाजा खान सकिन्छ।
 
हामीले तारकेश्वरबाट गएकै बाटो फर्केर पाँचमानेसम्म पदयात्रा गर्यौं। तारकेश्वरबाट गुर्जेभञ्याङ पदयात्रा पनि राम्रो छ । तारकेश्वर यात्रा चैत–वैशाखमा रोमाञ्चक हुन्छ। कोइलीको कुहुकुहुसँगै वनैभरी फूलेका गुराँसको लाली हेर्दै पदयात्रा गर्दा प्रकृतिको न्यानो अँगालोमा परिन्छ। डाँडामा गुराँस फूल्न थालिसक्यो। तपाइँ पनि लालीगुँरासको सौन्दर्यमा रमाउन तारेकश्वर जाने कि?  

कसरी पुग्ने : काठमाडौंको बालाजु बाइपासबाट पासाङ ल्हामु राजमार्गको तीन पिप्लेसम्म गाडीमा ९ किमि। तीन पिप्लेबाट भुवनेश्वरी, श्यामबाबा आश्रम हुँदै पाँचमाने। पाँचमानेबाट एक घन्टा  निकुञ्जको उकालो चढेपछि तारकेश्वर। तीनपिप्ले– तारकेश्वर ४ किमि। तारकेश्वरबाट ५.५ किमिमा गुर्जे भञ्ज्याङ पुगिन्छ। पदयात्रा दुरी १०.५ किमि । समय: ४ घन्टा।

निकुञ्जमा ध्यान दिऔं
निकुञ्ज राष्ट्रिय सम्पत्ति भएकाले यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो। त्यहाँका बोटबिरुवा चुँड्ने वा अन्य चिज टिपेर ल्याउने गर्नु हुँदैन।
त्यहाँ ठूलो स्वरले कराउने, चिच्याउने, होहल्ला गर्ने काम गर्नु हुँदैन। यसले जंगलका जनावरलाई असर गर्छ।
जंगली जनावर, पन्छीलाई जिस्क्याउने र हानी पुर्याउने काम गर्नु हुँदैन।
जंगली इलाका भएकाले एक्लै यात्रा नगर्ने, समूहमा हिँड्ने। समूहसंग छुट्टिएर टाढा नजाने, बाटो बिराउन सकिन्छ।
अनुशासित र सभ्य भएर हिँड्ने। आफुले बोकेका खाजा प्याकेट, प्लास्टिकका खोल र कागज आफैंसँग बोकेर ल्याउने, जथाभावि नफयाँक्ने।  
टिकट काटेर र अनुमति लिएर मात्र प्रवेश गर्ने। साँझ ५ नबज्दै निकुञ्जबाट बाहिरिने।

प्रकाशित: १० चैत्र २०७४ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App