काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी हारबारे नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। जारी बैठकमा शनिबार बोल्ने नेताहरुले आफ्नो पक्षको बचाउ गरे।
नविन्द्रराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा विधान विपरित चल्ने गरेको आरोप लगाए। उनले विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरे। उनले सभापतिलाई विधान सम्मतरुपमा अघि बढ्न आग्रह गरे।
हार स्वभाविक : नरहरि
नरहरि आचार्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको हार स्वभाविक भएको टिप्पणी गरे। ४ बुँदे प्रस्तावसहितको लिखित धारणा प्रस्तुत गर्दै नेता आचार्यले वाम गठबन्धनको रणनीति चिर्न नसक्दा कांग्रेसले हार व्यहोरेको र दुई पार्टी मिलेको सन्दर्भमा यो स्वभाविक भएको तर्क गरेका हुन्।
निर्वाचनमा कांग्रेसले राम्रो गर्न नसकेको र प्रतिकुल परिस्थितीको सामना गर्न सक्ने संरचना बनाउन पार्टी चुकेको गुनासो गर्दै उनले भनेका छन्– ‘चुनावको मुखमा पार्टी एकता गरेर जाने वाम गठबन्धनको निर्णयलाई हामीले अवसरका रुपमा लिएर रणनीति बनाउनुपर्थ्यो। वाम गठबन्धनको रणनीतिलाई चिर्न सकेनौं। हामीले लोकतान्त्रिक गठबन्धन भनेपनि कांग्रेस एक्लै भयो। त्यसैले कांग्रेस दोस्रो हुनु स्वभाविकै थियो।’ अस्वस्थ भई २६ महिनापछि पार्टीको बैठकमा उपस्थित नेता आचार्यले अब कांग्रेस पुरानो ढर्रामा अल्मलिन नहुने भन्दै दीर्घकालिन विषयलाई हेरेर कार्ययोजना अघि बढाउनुपर्ने र सत्तापक्षका गल्ती कमजोरी केलाएर आफूलाई जिम्मेवार प्रतिपक्षको रुपमा उभ्याउनुपर्नेमा जोड दिएका छन्।
‘सत्तापक्षका गल्ती कमजोरी केलाउनुका साथै आफैंले विकास र समृद्धिका सकारात्मक एजेण्डा अघि ल्याउनुपर्छ’, उनले नेतृत्वलाई सुझाव दिएका छन्। पार्टीको संरचनालाई छिटो पूर्णता दिनुपर्ने, संविधानअनुसार थप संघीय संरचनामा लैजानुपर्ने उनको माग छ। संघीय गणतन्त्रको दीर्घकालिन पूर्णताका लागि कांग्रेसले बौद्धिक बहस चलाउनुपर्ने उनले उल्लेख गरेका छन्।
सभापतिले विधान पालना गर्नुपर्छकी पर्दैन : कल्याण
कल्याण गुरुङले पार्टी विधान पल्ट्याउँदै आफ्ना कुरा राख्न थालेका थिए। ‘संसदीय समिति, कार्यसम्पादन समिति विधान विपरित किन गठन गरियो?’, उनले प्रश्न गरे, ‘सभापति पार्टीको विधान अनुरुप चल्नुपर्दैन ?’
१० वर्ष क्रियाशिल सदस्य नपुगेको व्याक्तिलाई समेत केन्द्रीय समितिमा ल्याएको भन्दै गुरुङले सभापति देउवाको आलोचना गरे। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट दिँदा पनि योगदानको ख्याल नगरिएको उनको भनाई थियो। ‘स्थानीय चुनाव लडेकालाई टिकट नदिने भनियो तर आफ्ना मनपरेकाहरुमा त्यो लागु भएन’, बैठकमा गुरुङले भने।
पार्टी विधानमा अधिवेशन भएको २ महिना भित्र पदाधिकारी प्रस्ताव गर्नु व्यवस्था भए पनि सभापतिले २ वर्षमा पनि पदाधिकारी प्रस्ताव नगरेर विधानको खिल्ली उडाउको गुरुङको भनाइ थियो। ‘दुई वर्षसम्म पदाधिकारी प्रस्ताव गर्न सक्नु भएन’, उनले भने ‘अब पदाधिकारी प्रस्ताव गर्नु पर्दा विधान संशोधन गर्नु पर्छ कि पर्दैन ?’
गुरु घिमिरेले हारको जिम्मा सभापति र महामन्त्री सशांक कोइरालाले पनि लिनु पर्ने बताए। महामन्त्री संधै चुप लागेर आफ्नो सक्रियता नदेखाई बस्दा पनि यस्तो परिणाम आएको उनको भनाई थियो।
यता देउवा पक्षका वीरबहादुर बलायरले देउवा सभापतिमा आएपछि गरेका कामले कांग्रेसको पराजय नभएको बताए। किसुनजी (कृष्णप्रसाद भट्टराई) लाई हराउन पार्टीमा भएको अन्तरघातदेखि कै यसको विजारोपण भएको तर्क गरे। बैठकमा हरि नेपाले हारको दोष सभापतिको मात्र नभइ सबैको कार्यशैली भएको बताउँदै देउवाको बचाउ गरे।
प्रकाशित: १० चैत्र २०७४ १४:३७ शनिबार