६ वैशाख २०८१ बिहीबार
समाज

अझै त्रसित छन् खाँडोपीडित

गत असार १७ को बाढीले घर कटान गरेपछि  चन्द्रनहरको डिलमा बनाइएको विरक्ष मुखियाको झुप्रो  । तस्बिर : जितेन्द्रकुमार /नागरिक

राजविराज – फेरि वर्षायाम आउनै लाग्यो । नेपाल हुँदै भारततर्फ बग्ने खाँडो र जिता खोलाको अवस्था भने उस्तै छ । खाँडो नदी नियन्त्रण हुन नसक्दा पछिल्लो चार दशकदेखि जिल्लाको दक्षिणी भेगका सर्वसाधारण  डुबानमा पर्दै आएका छन्।

‘बर्सेनि उत्पात मच्चाउँछन् यी नदीले, घर बगाउँछन्, खेत बगरमा परिणत हुन्छ, लगाइएको बाली पनि घरमा ल्याउन पाइँदैन’, तिलाठी निवासी ८० वर्षीय उग्रकान्त झा भन्छन्, ‘०४६ सालपछि खाँडोले यसरी उत्पात मच्चाउँदै आएको हो। नेता, मन्त्री, कर्मचारीदेखि लिएर छिमेकी राज्य सरकारसम्मलाई गुहारेर हामी थाक्यौं।’

झाका अनुसार खाँडो, जितालगायतका सामान्य खहरे खोला नियन्त्रण गर्न नसकिँदा यस भेगका सर्वसाधारणको जीवनस्तर उकासिन सकेको छैन। ‘प्रत्येक वर्ष उस्तै पीडा छ’, उनले भने, ‘किसानका लागि असार भनेको जीविकोपार्जन र उन्नतिको बाटो खोल्ने समय हो। हाम्रो असार त पीडा, समस्या, जोखिम र अभावमै बित्छ।’ 

खाँडो नदी नियन्त्रण हुन नसक्दा पछिल्लो चार दशकदेखि जिल्लाको दक्षिणी भेगका सर्वसाधारण डुबानमा पर्दै आएका छन्।

त वर्षायाममा आएको बाढीले तिलाठीलाई निकै प्रभावित पारेको थियो। जिल्ला विपत् व्यवस्थापन समितिको तथ्यांकअनुसार बाढीले १४ करोड ६४ लाख ७१ हजार सात सय बढीको व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको थियो। बाढीकै कारण एकजनाको मृत्यु भएको थियो भने तीन हजार ९ सय ९७ वटा घर क्षतिग्रस्त बनेको थियो। 

चुरेक्षेत्र भएर बग्ने महुली खोलामा आएको बाढी बाँध फुटाएर गत साउन अन्तिम साता तिरहुत गाउँपालिकाका मैनाकडेरी, लोहजरा, बुधेवालगायतका गाउँमा पस्दा १८ घर बग्यो । तीन सय घरपरिवार विस्थापित भए। ‘गत वर्ष त जसोतसो ज्यान जोगियो तर, यस वर्ष पनि उस्तै अवस्था छ’, स्थानीय उपेन्द्र मुखियाले भने, ‘अझै बाँध बनाउन सकिएको छैन । यो वर्ष मरिन्छ कि बाँचिन्छ भन्न गाह्रो छ।’ 

स्थानीय बासिन्दा अझै गत साउनमा गएको बाढीको त्रासमा छन्। ‘एक्कासि आएको बाढीले घरविहीन भइयो’, मुखियाले भने, ‘मुलुकमा हामी विपन्नका लागि सोचिदिने कोही रहेन।’ 

बाढीले घरविहीन भएका भेडियाका विरक्ष मुखिया र जिवछ मुखिया परिवार विगत ९ महिनादेखि चन्द्र नहरको डिलमा छाप्रो बनाएर बसिरहेका छन्। असार १७ मा आएको बाढीले उनीहरुको घर भत्काएको थियो। 

बाढीले विरक्षको दुइटा घर, भान्छा, गाईगोठ सबै बगायो। उनको परिवार पछिल्लो समयदेखि गाउँकै ऐलानी जग्गामा घर बनाएर बस्दै आएको थियो। छोराहरु कमाउन थालेपछि चार वर्ष बल्ल एक कट्ठा नम्बरी जग्गा खरिद गरेर जसोतसो घर बनाएको विरक्षले बताए। ‘दुई पैसा जोगाएर जसोतसो जग्गा किनेर आफ्नो घर बनाएँ, त्यो पनि बाढीले बगायो’, उनले भने, ‘पछिल्लो सात महिनादेखि झुप्रोमा दिन काट्नुपरिरहेको छ।’

विरक्षकै छेउको झुप्रोमा ६५ वर्षीय जिवछ पत्नी दुलरीदेवी, बुहारी र दुई नातिनातिनीको साथमा बसोबास गर्दै आएका छन्। बाढीले जिवछको घरसँगै १६ कठ्ठा खेतीयोग्य जग्गा पनि कटान गरेको थियो। भारतमा मजदुरी गर्ने एक्लो छोराको भरमा दुई छाक टार्नसमेत धौधौ भएपछि नहरको डिलमा बनाइएको त्यही झुप्रोभित्रै उनले चियापसल सञ्चालन गर्दै आएका छन्। ‘बिहानबेलुका चिया बेच्छु, दैनिक २÷३ सय जति आम्दानी हुन्छ’, जिवछकी पत्नी दुलरीले भनिन्, ‘नानाथरीका दुःखपीडा सहेर जसोतसो जीवन निर्वाह भइरहेको छ।’

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्यांकअनुसार गत वर्षायामको बाढीले तिरहुत गाउँपालिकाका एक सय ३० बढी कच्ची घर पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। एक सय बढी परिवार चार महिनाजति विस्थापित भएका थिए।

बाढीपीडितको अवस्था दयनीय रहेको तिरहुत गाउँपालिका–२ का वडा अध्यक्ष जयप्रकाश यादवले बताए। विस्थापित जसोतसो घर फर्किए पनि जनजीवन सामान्य हुन नसकेको यादवको भनाइ छ। 

असार १७ मा बाढीले बस्तीमा क्षति पुगेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासहितको उच्चस्तरीय टोली भेडिया बस्ती अनुगमनमा आएको थियो। टोलीले सप्तरीको समग्र बाढी प्रभावित क्षेत्रको हवाई अनुगमन गरेको थियो। तर नदी नियन्त्रणका लागि कुनै पहल भएको छैन।

तिरहुत २ मैनाकडेरी तथा वडा नं. ५ का लोहजरा र बुधेवाका बासिन्दा अझै ढुक्क छैनन्। अस्थायी बाँध बनाएर खोलो पहिलाकै स्थानमा फर्काए पनि चार महिनापछि पुनः घर छोड्नुपर्ने चिन्ता उनीहरुलाई छ। 

कतिपय परिवारले उतिबेला टाँगेको त्रिपाल अझै हटाएका छैनन्। ‘पानी नभएको खहरे खोलालाई बालुवाको बाँध बनाएर फर्काइएको छ,’ यादवले भने, ‘असार नलाग्दै बाढी फेरि बहुलाएर आउने निश्चित छ।’

खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायतका खोलामा आएको बाढीका कारण गत वर्ष सप्तरीमा ५ जनाले ज्यान गुमाएका थिए भने ३१ हजार १७० घरपरिवार पीडित भएका थिए। कुल १ अर्ब ४० करोडको क्षति भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। समितिका अनुसार ९ सय ८९ चौपाया मरेका थिए। 

यसैगरी ४ हजार ३ सय ६७ परिवारको ३ हजार ३ सय हेक्टरमा लगाइएको धानबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस्तै ४ करोड १७ लाख ५९ हजार ५ सय बराबरको माछापालन व्यवसायमा क्षति पुगेको थियो।

यी बस्तीमा आगामी असारमा समेत बाढीले क्षति पु¥याउन सक्ने सम्भावना टरेको छैन। तर यसतर्फ सम्बन्धित निकाय गम्भीर नदेखिएको नागरिक समाजका अगुवाको गुनासो छ। ‘यी सबै खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा बलियो तटबन्ध आवश्यक छ,’ नागरिक समाजका अगुवा बद्रीनारायण झा भन्छन्, ‘सम्बन्धित निकाय  सुस्त देखिन्छ। बाढी आएपछि राहत संकलन र वितरणलाई मात्रै उनीहरुले आफ्नो जिम्मेवारी ठानेका छन्।’ बाढी आएका बेला अनुगमनका लागि प्रधानमन्त्री दलबलसहित आउने तर नदी नियन्त्रण र पीडितलाई राहत उपलब्ध गराउन चासो नदिने सरकारी कार्यशैलीप्रति सर्वसाधारण आक्रोशित छन्। 

सरकारले आर्थिक वर्ष २०७२/०७३ मा डिपिआर बनाएर सुरु गरेको खाँडो खोला नियन्त्रण कार्य सन्तोषजनक रुपमा अघि बढेको छैन। तोकिएको समयमै काम सक्ने उद्देश्यले तत्कालीन सिँचाइमन्त्री उमेशकुमार यादवको विशेष पहलमा ‘खाँडो नियन्त्रण आयोजना’ कार्यालय स्थापना गरिएको थियो। तर, स्थानीय स्तरमा भइरहेको अवरोध र डिपिआरअनुसार रकम निकासा नहुँदा तोकिएको समयभित्र काम पूरा हुनेमा कार्यालयकै कर्मचारी शंका व्यक्त गर्न थालेका छन्।

खाँडो नदीको दुवै किनारामा १२.५ किलोमिटर गरी कुल २५ किलोमिटर तटबन्ध बनाउन दुई अर्ब २५ करोड ८२ लाख ३३ हजार रकम आवश्यक पर्ने अनुमान गरिएको छ। आयोजना प्रमुख विष्णुदेव यादवका अनुसार डिपिआर अनुसार ०७८/०७९ सम्म खाँडो नदी नियन्त्रण आयोजनाअन्तर्गतका काम सक्नुपर्ने हो। तर समयमै रकम निकासा नहुँदा र स्थानीयको अवरोधका कारण काममा ढिलाइ भइरहेको छ। 

खाँडो नदीको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भारतीय सीमा कुनौलीसम्म ५० किलोमिटरमध्ये कुनौलीबाट सुरु गरिएको माटो भर्ने काममा स्थानीयले अवरोध गरेका थिए। सकरपुरा, तिलाठी र लौनियाँ क्षेत्रका स्थानीयले ०२८ को नापीका आधारमा बाँध बनाउनुपर्ने भन्दै अवरोध गरेपछि काम अघि बढ्न नसकेको आयोजना प्रमुख यादवको गुनासो छ। 

तिलाठीबासी भने दुई वर्षदेखि उक्त मुद्दा उठाइरहँदा पनि राज्यबाट पहल नभएको आरोप लगाउँछन्। ‘सरकारी जग्गा हुँदाहुँदै पनि नियतवस हाम्रो नम्बरी जग्गा खोस्ने प्रयास भइरहेको छ’, स्थानीय कृषक रामलखन यादवले भने, ‘हामिले तीनवटा प्रस्ताव अघि सारेका छौं, कि त ०२८ को सर्भेमुताबिक काम होस्, कि त किसानलाई जग्गाबापतको मुआब्जा दिनुप-यो, नभए हाम्रो जग्गाको बदलामा ०२८ को सर्भेअनुसार खाँडो नदीका नाममा जुन जग्गा छुट्याइएको छ, त्यो हामीलाई दिनुप-यो।’

प्रकाशित: ११ चैत्र २०७४ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App