coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डोकोमा ल्याइएका हिँडेरै फर्के

आँखाको शल्यक्रियापछि आराम गरिरहेका वृद्धवृद्धा । तस्बिर : दमन राई/नागरिक

खोटाङ – वर्ष दिनअघि दुवै आँखाको ज्योति गुमाएकी खोटाङको साकेला गाउँपालिका–३ खिदिमाकी ७५ वर्षीया डल्लीमाया तामाङ उपचारपछि पुनः देख्न सक्ने भएकी छन्। दिक्तेलमा सञ्चालित निःशुल्क आँखा उपचार शिविरमा डोकोमा बोकेर ल्याइएकी तामाङको आँखाको शल्यक्रियापछि गुमेको ज्योति फर्किएको हो। एकै दिन शल्यक्रिया गर्न नमिल्ने भएकाले उनको बिहीबार दाहिने र शुक्रबार देब्रे आँखाको शल्यक्रिया गरिएको हो। भित्रबाहिर गर्न र शौचालय जान समेत अरूको सहारा लिँदै आएकी तामाङ देख्न सक्ने भएपछि केहीबेर शिविरस्थल र अस्पतालवरपर आफै हिँडिन्। ‘आँखा नदेख्दा हातमा समाएर हिँडाउनुपथ्र्यो,’ बुहारी प्यारीमायाले भनिन्, ‘अप्रेसनको पट्टी खोलेपछि आफै हिँड्न सक्नुहुन्छ। डो-याउनु पर्दैन।’ पैदल एक दिनको बाटो हिँडेर खिदिमाबाट आँखाका चार बिरामी उपचार शिविरमा आएका थिए। 

पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ खोटाङले जिल्ला अस्पतालमा आयोजना गरेको निःशुल्क आँखा शल्यचिकित्सा शिविरमा शल्यक्रिया गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी ७४ वर्षीया तीर्थमाया राईले पनि गुमेको ज्योति पाइन्। ‘फेरि छ्यांगै देख्न सक्ने भएँ,’ शल्यक्रिया गरेको पट्टी खोलेपछि उनले भनिन्, ‘डाक्टरसाबलाई मेरो आशीर्वाद छ।’ महिना दिनअघि दाहिने आँखाको दृष्टि धमिलो भएपछि उनको आँखाको शल्यक्रिया गरिएको थियो। 

यस्तै डोकोमा बोकेर उपचारमा ल्याइएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ८६ वर्षीय नरभक्त राई पनि शल्यक्रियापछि देख्न सक्ने र आफै हिँड्न सक्ने बनेर फर्किए। बिहीबारदेखि सुरु भएको तीनदिने निःशुल्क आँखा उपचार शिविरमा आँखामा जालो पर्ने, मोतियाबिन्दुलगायत समस्या भएका ७६ जनाको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ दिक्तेलका सचिव इन्द्र कसजुले बताए। शिविरमा ७५१ जनाको आँखा जाँच गरिएको छ। आँखाको शल्यक्रिया गराउनेमा अधिकांश वृद्धवृद्धा छन्। आँखाको समस्या भए पनि कतिपय वृद्धवृद्धा शल्यक्रिया गर्न डराउने गरेका थिए। तर, पछिल्लो समय शल्यक्रियाको डर हट्दै जाँदा शिविरमा आँखाको शल्यक्रिया गर्ने वृद्धावृद्धा बढ्न थालेका छन्। दृष्टि धमिलिएको लामो समयपछि आँखाले सामान्य देख्न थालेपछि अधिकांश वृद्धवृद्धा र उनका आफन्त हर्षित भएर फर्किएका छन्। ‘आँखाकै उपचारका लागि धेरै खर्च गरेर अन्यत्र जानुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर आँखा शिविर गरिएको हो,’ कसजुले भने, ‘सदरमुकाममै आँखाको शल्यक्रिया गर्ने अवसर मिल्दा सबैको २०/२५ हजार खर्च जोगिएको छ।’

जिल्लाबाट आँखाको शल्यक्रियाका लागि लहान वा काठमाडौं पुग्नुपर्ने बाध्यता छ। जाँदाआउँदा लाग्ने गाडी भाडा, खाना, टिकटलगायतमा उत्तिकै खर्च हुन्छ। कतिपय बिरामी खर्चकै कारण मोतियाबिन्दुको पीडा सहेर बस्न बाध्य छन्। शिविरमा सहज ढंगले आँखाको शल्यक्रिया गरिएको साकेला गाउँपालिका–२ रतन्छाका ७८ वर्षीय भीमबहादुर राईले बताए । शिविरमा डा. टि छिरिङवाङचुङ भुटियालगायत १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको छ। यसअघि चैत ४, ५ र ६ गते ऐसेलुखर्कमा गरिएको निःशुल्क आँखा उपचार शिविरमा  ३८ को अप्रेसन र ४८१ को जाँच गरिएको थियो।

प्रकाशित: ११ चैत्र २०७४ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App