अकल्यान्ड – हेनरिक निकोलाजले छैटौं टेस्ट अर्धशतक पूरा गरे पनि वर्षाका कारण तेस्रो दिन १७ बल मात्र सम्भव भएपछि शनिबार पहिलो दिवा–रात्रि टेस्टमा इङ्ल्यान्डविरुद्ध पहिलो इनिङमा अग्रता बढाउने न्युजिल्यान्डको लक्ष्यले पूर्णता पाउन सकेन।
बिहीबार तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र टिम साउथीले एकआपसमा १० विकेट बाँडेपछि इङ्ल्यान्डको पहिलो इनिङ ५८ रनमा समेट्दै खेलमा पूर्ण रूपमा हाबी हुने संकेत गरेको न्युजिल्यान्डको लक्ष्यमा लगातार दोस्रो दिन वर्षा बाधक बन्यो।
वर्षाका कारण दोस्रो दिन (शुक्रबार)२३.१ ओभरको मात्र खेल सम्भव हु्ँदा पहिलो दिन १ सय १७ रनको अग्रता लिएको न्युजिल्यान्डले दोस्रो दिन थप ५४ रन जोड्दै उक्त अग्रता १ सय ७१ रनमा पु¥याएको थियो।
तर शनिबार इडन पार्कमा खेल सुरु भएको १० मिनेटपछि नै भारी वर्षा भएपछि खेल स्थगित भएको थियो। तेस्रो दिनको समाप्तिमा न्युजिल्यान्ड २३३–४ मा खेलिरहेको छ। न्युजिल्यान्डले दोस्रो दिनको अग्रतामा थप ४ रन जोड्यो।
दोस्रो दिनको खेलसमाप्तिमा अविजित ४९ रनमा खेलिरहेका हेनरिक निकोलाजले थप ३ रन जोडे। त्यस्तै विजे वाट्लिङ अविजित १८ रनमा खेलिरहेका छन्। १ सय ५२ बल खेलेका निकोलाज र २८ बलको सामना गरेका वाट्लिङले समान ३ चौका प्रहार गरे।
प्रकाशित: ११ चैत्र २०७४ ०२:२३ आइतबार