coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गोलभेंडामा टुटा प्रकोप

जिबजिबेमा लगाइएको गोलभेंडामा देखिएको टुटाको प्रकोप । तस्बिर / नागरिक

रसुवा – रसुवाको तीनवटा गाउँपालिकामा व्यावसायिक रुपमा लगाइएको गोलभेंडा खेतीमा टुटा एब्सोलुटा प्रकोप देखिएको छ । जिल्लाको कालिका, उत्तरगया र नौकुण्डका विभिन्न स्थानमा लगाइएका गोलभेंडामा पात तथा फलमा जोतुवा किराको प्रकोप फैलिएको हो।

टुटा प्रकोपका कारण गोलभेंडाको बोट सुक्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् । ‘उत्पादन हुने समयमा गोलभेंडाको बोट मर्न थाल्यो, कालिका गाउँपालिका–५ का अगुवा कृषक भवनाथ पौडेलले भने, ‘अब एक साताभित्र जिबजिबे क्षेत्रमा रहेका गोलभेंडाको अवस्थाबारे तथ्यांक संकलन गर्छौं ।’ अन्य क्षेत्रमा पनि तथ्यांक संकलनका लागि समन्वय गर्ने उनले बताए।

टुटाको प्रकोप फैलिँदा २५ प्रतिशतदेखि शत प्रतिशतसम्म क्षति हुने जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ । प्रकोप फैलिँदै जाँदा यसको नियन्त्रणका लागि कार्यालयले अभियान सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा गोलभेंडा खेतीको अवस्थाबारे कृषक समूह र कृषि सहकारीमार्फत तथ्यांक संकलन गरिने वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले जानकारी दिए । तथ्यांक संकलन गरेपछि कार्यालयबाट प्राविधिक प्याकेज दिने तिवारीको भनाइ छ।

राहत कार्यक्रम अन्तर्गत आकस्मिक बाली संरक्षण सेवाबाट आएको रकम प्रकोप नियन्त्रणका लागि खर्च गरिने छ । ‘राहत कार्यक्रमबाट दुई लाख रुपैयाँ आएको छ, अधिकृत तिवारीले भने, कार्यक्रमबाट आएको रकमले अपुग भएमा कृषक र स्थानीय तहले बेर्होन पर्ने छ ।’ टुटाले गोलभेंडा, भान्टा, खुर्सानी र आलुमा समेत क्षति पुर्‍याउने कृषि प्राविधिक बताउँछन् । यसको समयमा नै रोकथाम गर्न नसके जिल्लामा यी बाली लगाउन नसकिने कार्यालयले जनाएको छ ।चैत अन्तिम साताबाट टुटा नियन्त्रण अभियान जिल्लाभरि नै सञ्चालन गर्ने तिवारीले बताए । कार्यालयले अभियान सञ्चालन गर्न लाग्दै जाँदा कार्यालय भने चैत २८ गतेपछि नरहने गरी खारेज हुन लागेको छ ।

 गोलभेंडा खेतीको अवस्था
रसुवामा पछिल्लो समय गोलभेंडा खेतीको उत्पादन बढ्दै गएको देखिन्छ । २०७२ मा चार सय मेट्रिक टन गोलभेंडा उत्पादन भएकामा २०७३ मा एक हजार आठ टन गोलभेंडा उत्पादन भएको थियो । जिल्लामा अहिले ६० हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती हुन थालेको छ ।कार्यालयले गरेको सर्वेक्षणअनुसार जिल्लामा अहिले एक हजार ६ सय ८० वटा प्लास्टिक घरमा गोलभेंडा उत्पादन भएको छ । प्रतिघर ६ सय केजीका दरले वार्षिक एक हजार आठ मेट्रिक टन गोलभेंडा उत्पादन भएको कार्यालयका बागवानी अधिकृत सन्न्तोष पाठकले बताए।

उनले भने, ‘जिल्लामा टमाटरका लागि पर्याप्त बजार रहेको र राम्रो मूल्य पाउने कारण कृषकले उत्पादन बढाउँदै लगेका छन् ।’ गोलभेडा खेतीबाट कृषकले वार्षिक तीन करोड ५२ लाख ८० हजार आम्दानी गर्न सफल भएको उनले बताए । प्रकोपका कारण यो वर्ष उत्पादन घट्ने सम्भावना उच्च रहेको उनको भनाइ छ।
२०६८ मा व्यावसायिक गोलभेंडा खेतीको थालनी हुँदा जिल्लामा साढे एक हेक्टर क्षेत्रफलमा गोलभेंडा खेती गरिएको थियो । जिल्लाको उच्च हिमाली भागमा गोलभेंडा उत्पादन गर्नका लागि तापक्रम वृद्धि गरी गुमोज आकारका घरसमेत निर्माण गरिएको छ।

जिल्लामा प्लास्टिक घरमा गोलभेंडा कार्यक्रममार्फत २०६८ मा पहिलोपटक २० वटा प्लास्टिक घरमा गोलभेंडा खेती सुरु गरिएको थियो । जिल्लामा उत्पादन भएका गोलभेंडा करिब ५० प्रतिशत स्थानीय बजारमा नै खपत हुने गर्छ ।बेमौसममा काठमाडौं र त्रिशुलीबाट जिल्ला भित्रने र मौसमी सिजनमा जिल्लाबाट त्रिशुली तथा काठमाडौं लैजाने गरिएको छ ।


 

प्रकाशित: ११ चैत्र २०७४ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App