coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

क्लिंकर अवरोधको निकास तीन महिनामा पनि निस्किएन

वीरगन्ज – तीन महिनादेखि भारतबाट क्लिंकर आयात ठप्प भएपछि वीरगन्ज–पथलैया करिडोरका सिमेन्ट उद्योग नराम्ररी थलिएका छन्।

गत पुस ७ देखि भारतीय रेल्वेले रक्सोल स्टेसनमा झार्ने गरी क्लिंकर ढुवानीमा रोक लगाएको थियो । यो घटनाको तीन महिना बितिसक्दा पनि सरकारले चासो नलिएको गुनासो गर्दै उद्योगीहरुले व्यवसाय नराम्रोसँग थलिएको बताए।

‘नेपाली सिमेन्ट उद्योग गम्भीर संकटमा परेका छन् । एक किसिमले सिमेन्ट उद्योग भेन्टिलेटरमा पुगेका छन्,’ शालिमार सिमेन्ट उद्योगका अध्यक्ष अशोक बैधले भने, ‘सिमेन्टको कच्चा पदार्थ भिœयाउन अहिलेसम्म रक्सोल रेल्वे स्टेसनको मालयार्ड प्रयोग हुँदै आएकाले यी उद्योग अब कसरी चलाउने भन्ने समस्या आएको छ, यो सामान्य होइन । नेपाल सरकारले यसतर्फ चासो नदिँदा उद्योगी र लगानीकर्ता बैंक सबै आत्तिएका छन्।’

सिमेन्ट उद्योग डुब्ने संकट उद्योगीको मात्र नभई समग्र मुलुककै लागि गम्भीर समस्या रहेको उद्योगीको भनाइ छ । क्लिंकर अभावमा सिमेन्टको भाउ बढ्दै जाँदा जनता मारमा परिरहेको उनले बताए ।
पूर्वाधर विकासका लागि आवश्यक पर्ने प्रमुख वस्तु सिमेन्टमा मुलुक आत्मनिर्भर बन्न लागेका बेला अप्रत्याशित रुपमा सिमेन्ट उद्योगलाई संकटले छोपेपछि आत्तिएका उद्योगीहरु सरकारको उदासीनताले झनै चिन्तित छन् ।

सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर मालबाहक रेलको बग्गीबाट झार्ने र ट्रक तथा ट्रिपरमा हाल्ने क्रममा असह्य प्रदूषण भयो भन्दै रक्सोलका स्थानीयले आन्दोलन गरेपछि भारतबाट आयात हुने क्लिंकर रक्सोलको रेलयार्डमा झार्न रोक लागेको थियो । उक्त घटनापछि नेपालका सिमेन्ट उद्योग क्लिंकर अभावमा संकटमा परेका हुन् ।वीरगन्ज करिडोरमा अर्बौं लगानीका १३ वटा सिमेन्ट उद्योग सञ्चालित छन् । यहाँका सिमेन्ट उद्योगले भारी अनुपातमा देशकै सिमेन्टको माग धान्ने गरेका छन्।

प्रतिदिन दुई सय ५० टनदेखि एक हजार ५० टनसम्म सिमेन्ट उत्पादन क्षमता भएका वीरगन्ज करिडोरका उद्योगले समग्रमा करिब १० हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने गरेको संघका उपाध्यक्ष समेत रहेका सिमेन्ट उद्योगी अनिल अग्रवाल पटवारी बताउँछन् । अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी), पोजोलोना पोर्टल्यान्ड सिमेन्ट (पिपिसी) र स्ल्याग सिमेन्ट उत्पादन गर्ने ती उद्योगले १५ देखि २० प्रतिशत मात्र स्वदेशी र बाँकी भारतबाट आयात गरेर क्लिंकर प्रयोग गर्ने गरेका छन् ।सबै थरीमा क्लिंकर मुख्य कच्चा पदार्थ हो । क्लिंकर बाहेक सिमेन्ट उद्योगलाई चाहिने अरु कच्चा पदार्थ ‘स्ल्याग’, ‘फ्लाइ–एस’ र ‘जिप्सम’ भने सबै भारतबाटै आयात हुने गरेको उद्योगी बताउँछन्।

‘डस्टी कार्गो’ भनिने त्यस्ता वस्तु ल्याउन त्यहाँ रोक लगाइएपछि नेपाल सरकारले त्यसलाई तत्कालका लागि पुनः सुचारु गराउने र विकल्प खोज्नका लागि चासो नदेखाएको वैध बताउँछन् । ‘मैले बुझे अनुसार नेपाल सरकारले डस्टी कार्गो आयातका लागि संरचना निर्माण गर्न प्रतिबद्धता जनाएपछि भारतीय पक्षले केही समयका लागि पुनः रक्सोलमै क्लिंकर ल्याउने प्रबन्ध गर्न सक्ने संकेत दिएका छन्,’ उनले भने, ‘यताबाट पहिले पहल त हुनुपर्‍यो नि !’

भारतीय रेल्वेले रक्सोलमा अनलोड हुने भनेर क्लिंकरको कुनै पनि कन्साइनमेन्ट (खेप) अब नलिने भनेपछि विकल्पमा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह नजिक संरचना बनाउन पहिलेदेखि प्रस्ताव गरेको काम अघि बढाउन ढिलाइ गर्न नहुने उद्योगीहरु बताउँछन्।

रक्सोलमा क्लिंकर आयात बन्द भएपछि उद्योगीले रक्सोलदेखि करिब सवा सय किलोमिटर टाढा मुजफ्फरपुरनजिक क्लिंकर खन्याएर तेब्बर भाडा तिरेर ल्याइरहेका छन् । यसरी क्लिंकर आयातमै लागत बढी परेपछि सिमेन्टको मूल्य बढेको वीरगन्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपाल बताउँछन् ।
भारतीय रेल्वेले नेपाली पक्षसँगको सल्लाहबिना नै वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर लैजान भनेर एकतर्फी निर्णय गरेको थियो ।

आदालतको आदेशपछि भारतको केन्द्र सरकार मातहतको भारतीय रेल्वे र त्यसको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड कनकोरले यस्तो निर्णय लिए पनि सिर्सिया सुक्खा बन्दरगाह यसका लागि उपयुक्त नभएकाले त्यहाँ क्लिंकर ल्याउन सकिएको छैन । रेलमा क्लिंकरलगायत डस्टी कार्गो भिœयाउन मिल्ने गरी छेउमै अर्को संरचना निर्माण गर्ने कार्य अघि बढ्न सकेको छैन।

क्लिंकरको प्रदूषण रोक्न भारतीय अदालतले रेल्वेका नाममा आदेश जारी गरेकामा उक्त आदेश पालना गर्नुको साटो समस्या खडा गरेर त्यो ठाउँ नेपाली आयातकर्ताले प्रयोगै नगर्ने स्थिति बनाइएपछि हुनुपर्ने कूटनीतिक पहल पनि नेपाल सरिकारको तर्फबाट भएको छैन । चाहिने संरचना नेपालमै बनाउने र तबसम्मका लागि रक्सोल रेल्वे स्टेसनमा त्यस्तो कार्गो ढुवानीका लागि अल्पकालीन व्यवस्था मिलाउन तत्काल पहल गर्न जरुरी रहेको उद्योगी बताउँछन्

 

प्रकाशित: ११ चैत्र २०७४ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App