८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडाै विश्वकै उत्कृष्ट २३ औं गन्तव्य

काठमाडौं – पछिल्लो केही समयदेखि विस्तारै गति लिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ ले यो वर्ष (सन् २०१८) का लागि छनोट गरेको विश्वका उत्कृष्ट गन्तव्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको छ । त्यसबाहेक एसियाका उत्कृष्ट २५ गन्तव्यको सूचीमा भने काठमाडौं छैठौं नम्बरमा परेको छ।

विश्वका उत्कृष्ट २५ को यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने इन्डोनेसियाको बाली सहर परेको छ । दोस्रोमा बेलायतको लन्डन सहर छ।काठमाडौंले फ्रेन्च पोलिनेसियामा रहेको बोराबोरा आइसल्यान्ड र पेरुको क्युस्को सहरलाई उत्कृष्ट गन्तव्यको सूचीमा पछाडि पारेको छ।

ट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटपछि संसारका उत्कृष्ट २५ गन्तव्य सूची सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो।
‘ट्रिप एडभाइजरको उत्कृष्ट दुईथरी गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका पूर्वअध्यक्ष वसन्तराज मिश्रले शनिबार नागरिकसँग भने, ‘यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ । हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन् । यसबाट हामी उत्साही छौं।’

ट्रिप एडभाइजरको सूचीमा पर्नु भनेको भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य प्रमाणित भएको उनले बताए । ट्रिप एडभाइजरको उत्कृष्ट सूचीलाई सम्बद्ध सबैले ‘क्यास’ गर्नुपर्ने उनको भनाइ छ । मुलुकको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार–प्रसार र प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले यसमा बढी काम गर्नुपर्ने उनले बताए।

 विश्वप्रसिद्ध ट्राभल वेबसाइट ट्रिप एडभाइजरले सन् २०१८ का लागि तयार पारेको विश्वका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौंले २३ र एसियाका उत्कृष्ट २५ गन्तव्यमा छैठांै स्थान प्राप्त गरेको हो।

‘नेपाल भ्रमणमा आउनुअघि विदेशी पर्यटकले एकपटक ट्रिप एडभाइजरको वेबसाइट हेरेर नेपालसम्बन्धी आवश्यक जानकारी लिने गर्छन्,’ भेन्चर ट्राभल्स तथा टेम्पल टाइगर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रले भने, ‘ट्रिप एडभाइजरको सूचीलाई यही मौकामा अगाडि बढाउन सक्यो भने समग्र पर्यटन उद्योगलाई उल्लेख्य फाइदा पुग्ने निश्चित छ।’

टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएनि अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोनेका अनुसार संसारका ठूला टुर तथा ट्राभल अपरेटले ट्रिप एडभाइजरको यो सूचीलाई आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्छन् । ‘यस्ते ब्रोसरदेखि ट्रिप एडभाइजरको वेबसाइट हेरेर लाखौं पर्यटक नेपाल आउने गर्छन्,’ गण्डकी ट्राभल्सका अध्यक्षसमेत रहेका कोनेले भने,‘त्यहीअनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन।’

संसारभरका पर्यटकले एक पटक वा धेरै पटक घुमेर काठमाडौंसहित उत्कृष्ट २५ गन्तव्य छनोट गरेका हुन् । ट्रिप एडभाइजर वेबसाइटको सुझाव पछ्याउँदै संसारका लाखौं पर्यटकले आफ्ना भ्रमण गन्तव्य तय गर्ने गरेको कोनेको भनाइ छ ।

‘काठमाडौं उत्कृष्टको सूचीमा पर्नुको प्रमुख कारण प्राकृतिकसँगै ऐतिहासिक, धार्मिक र सांस्कृतिक देन हो,’ उनले भने, ‘त्यसमाथि संसारका अन्य गन्तव्यको दाँजोमा काठमाडौं बस्न र खान सस्तो पनि छ । तर, सस्तोको अर्थ गुणस्तरीय छैन भन्ने होइन, गुणस्तरीय सेवामा पनि हामी कम छैनौं।’

पर्यटन व्यवसायीहरूका अनुसार समूहमा भन्दा एक्लै घुम्न रुचाउने लाखौं पर्यटकले ट्रिप एडभाइजरलाई पछ्याउने गर्छन् । यो वेबसाइट यस्तो हो, जसले विश्व पर्यटन बजारलाई ठूलो प्रभाव पार्न सक्छ।
‘उत्कृष्टको सूचीमा परेको नेपालको राजधानी काठमाडौं ऐतिहासिक सम्पदा, प्राचिन मठमन्दिर तथा चित्त हर्ने गाउँहरूले घेरिएको उपत्यका हो,’ ट्रिप एडभाइजरले काठमाडौंबारे आफ्नो उत्कृष्ट सूचीमा लेखेको छ, ‘स्थानीयसँगको घुलमिल, विश्व सम्पदा सूचीमा रहेको दरबार स्क्वायर तथा पर्यटक र पदयात्रीले छुटाउनै नहुने ठमेल काठमाडौंका थप विशेषता हुन्।’

सन् २०१८ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यो सूचीले महत्वपूर्ण सहयोग पुर्याउने ट्रिप एडभाइजरले जनाएको छ । ट्रिप एडभाइजर तयार पारेको विश्वका उत्कृष्ट २५ गन्तव्य सूचीको तेस्रो स्थानमा स्थानमा फ्रान्सको पेरिस, चौथो इटालीको राम, पाँचौं अमेरिकाको न्युयोर्क, छैठांै ग्रिसको क्रेट, सातौं स्पेनको बार्सिलोना, आठौं कम्बोडियाको साएम रिप, नवौं चेक गणतन्त्रको प्राग, दसौं थाइल्यान्डको फुकेट, एघारौं टर्कीको इस्तानबुल र बाह्रौंमा  जमैका परेको छ।

त्यसैगरी सूचीको तेह्रौं स्थानमा भियतनामको हनोई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्राैबे आइल्यान्डको रोटान, सोह्रौं मोरक्कोको माराकेच, सत्रौं बेलिज कायसको एम्बरग्रिस काये, अठारौं ब्राजिलको रियो डि जेनेइरो, उन्नाइसौं सेन्ट मार्टिनको सेन्ट मार्टिन, बीसौं मेक्सिकोको प्लाया डेल कार्मेन, एक्काइसौं युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई, बाइसौं केम्यान आइसल्यान्डको ग्रान्ड केम्यान, चौबीसौं बोराबोरा र पच्चीसौं स्थानमा पेरुको क्युस्को परेका छन्।

काठमाडौंले एसियाको उत्कृष्ट छैठौं स्थान ओगटेको २५ गन्तव्य सूचीको पहिलो स्थानमा इन्डोनेसियाको बाली, दोस्रो थाइल्यान्डको फुकेट, तेस्रो भियतनामको हनोई, चौथो कम्बोडियाको साएम रिप र पाँचौंमा जापानको टोकियो परेका छन्।

नेपालभन्दा पछाडि क्रमशः हङकङ, भारतका नयाँदिल्ली र गोवा, सुरत थानी प्रान्तको को सामुई, भियतनामको होइ आन, थाइल्यान्डको बैंकक र चियाङ माइ, वेस्ट नुसा टेनग्राको लोम्बोक, थाइल्यान्को क्राबी टाउन, भारतको जयपुर, चीनको बेइजिङ, भियतनामका हो चि मिन्ह सिटी, सिंगापुर, भिसायासको पाने आइसल्यान्ड, जापानको क्योटो, ताइवानको ताइपेइ, दक्षिण कोरियाको सोल, भियतनामको दा नाङ र चीनको सांघाई परेका छन्।   

ट्रिप एडभाइजरले संसारकै सबैभन्दा ठूलो ट्राभल समुदाय बनाउन सफल भएको छ । हाल यसका ३१ करोड ५० लाख सदस्य छन् । यसको वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गर्छन् । हालसम्म यसमा संसारका ३१ लाखभन्दा बढी होटल, रेस्टुरेन्ट, विविधि आकर्षक गन्तव्यका बारेमा ५० करोडवटा समीक्षा र विचार प्रकाशित भइसकेका छन्।

सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, एसिया, अफ्रिका, मध्यपूर्व, युरोप, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । ३ हजार ८ जनालाई रोजगारी दिएको यसले २०१५ मा १ अर्ब ४९ करोड २० लाख अमेरिकी डलर (१ खर्ब ४९ अर्ब २० करोड रुपैयाँ) आम्दानी गरेको थियो।
   

प्रकाशित: ११ चैत्र २०७४ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App