coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘पलको सिफारिसमा हिरोइन बनेकी होइन’


‘नाइँ नभन्नू ल ४’बाट नेपाली फिल्ममा डेब्यु गरेकी आँचल शर्माको तेस्रो फिल्म ‘शत्रु गते’ शुक्रबारबाट रिलिज भएको छ । रिलिजका दुई दिनमा दर्शकको राम्रो साथ पाएको फिल्मबाट आँचलले पनि तारिफ पाएकी छिन् । शनिबार हलमा दर्शकसँग अन्तरक्रिया गर्ने क्रममा सुन्धाराको सिभिल मल आइपुगेकी आँचलले नागरिकसँग कुरा गर्दै फिल्मको प्रारम्भिक प्रतिक्रियाले दंग परेको बताइन्।
तपाईंले खोजेजस्तो फिल्म भेट्नुभएको हो ?
पक्कै पनि । दुई दिनदेखि हलमा कुदिरहेका छौ । दर्शकले जसरी फिल्म रुचाइदिनु भएको छ, त्यसले एकदमै खुसी लागेको छ । आफू जोडिएको कुरालाई सबैले ‘एप्रिसियट’ गर्दा खुसी नहुने को होला र ?
तपाईंको अभिनयलाई धेरैले तारिफ गरेका छन्।

तपाईं आफैंलाई चाहिँ अभिनयमा कत्तिको परिपक्व भएँ जस्तो लागेको छ ?
पहिलो फिल्म ‘नाइँ नभन्नू ल ४’ गर्दा मैले क्यामरा पनि देखेको थिइँन । त्यहीँ पहिलो पटक देखेको थिएँ । दोस्रो फिल्म ‘जोनी जेन्टलमेन’मा पहिलोमा भन्दा अलि धेरै विषयमा जान्ने भएँ । यो फिल्म गर्दा चाहिँ मलाई ‘सट साइज’ भनेको के रहेछ, अभिनयमा कसरी इम्प्रोभाइजेसन गरिने रहेछ भन्ने थाहा भयो । फिल्ममा दिग्गज कलाकारहरू हुनुहुन्छ, उहाँहरूसँग छेऊमा बस्दा मात्र पनि धेरै कुरा थाहा हुने रहेछ । सिकाइका हिसाबले यो फिल्म मेरो लागि अहिलेसम्मको सबैभन्दा ठूलो पाठशाला रह्यो ।
केही दिनअघि मात्र आँचलले पत्रकारको प्रश्नलाई नै सिल्ली भनेर ‘एटिच्युड सो’ गरेको आरोप लागेको थियो ? के आँचल घमन्डी भएकी हो ?
वास्तवमा मेरो उद्देश्य त्यस्तो छँदै थिएन तर त्यस्तो हुन गयो । मैले आफ्नो गल्तीप्रति माफी मागिसकेँ । अनि जहाँसम्म ‘घमण्डी भई’ भन्ने कुरा छ त्यो चाहिँ सरासर निराधार आरोप हो । घमण्ड गर्ने मेरो संस्कार छँदैछैन र गर्दिन पनि । आखिर घमण्डले कहाँ पुगिने हो र ?
पलको सिफरिसमा मात्र फिल्म क्षेत्रमा टिकिरहेको आरोप पनि छ नि तपाईंलाई ?
यो आरोपले मलाई चित्त दुःखाउँछ । को निर्मातानिर्देशक यति मूर्ख छ कसैले भनेका आधारमा मात्र कसैलाई फिल्ममा खेलाउने । ‘पलको रिकमन्डेसनमा आँचलले शत्रुगते पाई’ भन्ने गाइँगुइँ मैले पनि सुनेकी हुँ । तर फिल्मका निर्देशक प्रदीप दा (निर्देशक प्रदिप भट्टराई)का लागि आँचल शर्मा कोही पनि होइन । यो फिल्ममा यति ठूला–ठूला कलाकार आबद्ध हुनुहुन्छ, उहाँहरूको तुलनामा पल (पल शाह), आँचल पनि कोही होइन । अनि उहाँले के–का लागि सम्झौता गर्ने ? कथामा सुहाउने भएकाले लिनु भएको हो । संयोग मात्र हो कि पलजी मेरो जोडी हुनुहुन्थ्यो । ‘जोनी जेन्टलमेन’मा पनि मलाई यही आरोप थियो । जबकि त्यसमा पनि मलाई निर्देशक नितिन चन्दले नै फिल्म अफर गर्नु भएको थियो ।
अब पलसँग काम गर्न विचार गर्ने कि ?

दर्शकले हाम्रो केमेस्ट्री रुचाइरहनु भएको छ । जोडी सुहाएको छ भनेर भनिरहनु भएको छ । दर्शकले रुचाउन्जेल गर्ने हो । अझ मलाई त पलजी र म जोडी भएर ४-५ वटा फिल्म गर्न मन छ । तर यसको मतलब मैले अरुसँग फिल्म नगर्ने भन्ने होइन । म जोसँग पनि काम गर्न तयार छु तर दुवैको सोच मिल्नु पर्‍यो।

‘शत्रु गते’ कै समयमा पल र तपाईं दुवैलाई लागेको अर्को पनि आरोप छ, दर्शकलाई ‘कन्फुयुज’ हुने गरी फिल्म रिलिजको मुखमा म्युजिक भिडियो रिलिज गर्नु भयो जसले फिल्मको प्रचार प्रभावित भयो ?
यो विषयमा समाचार पनि आयो । तर यो कुरामा हामीले प्रदीप दाइसँग पनि सल्लाह गरेका थियौं । उहाँले झुक्किने नझुक्किन दर्शकको आफ्नो विवेक हो भनेर भन्नुभयो । संयोग पनि त्यस्तै पर्यो कि हामी दुवैले अभिनय गरेका गीत ट्रेन्डिङमा पनि परे । अझ उहाँले गलत गीत चाहिँ नगर्नू राम्रो गीत हुँदा केही फरक पर्दैन भनेर भन्नु भएको थियो।

‘शत्रु गते’मा धेरै कलाकार भएकाले फरक पारेन होला ? तर पल र आँचल मात्र भएको फिल्म पर्‍यो भने त असर गर्ला नि ?

त्यो चाहिँ हामीलाई पनि थाहा छैन । यो पाला यस्तै भइहाल्यो । यो फिल्मपछि चाहिँ पल जी र म सल्लाह गर्छौं । म्युजिक भिडियो नै नगर्ने भन्ने त हुन्न तर फिल्म रिलिजको छेको पारेर रिलिज गर्ने पक्कै कम गर्छौं ।


 

प्रकाशित: ११ चैत्र २०७४ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App