coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हजारौं सरस्वतीको पीडा ‘लालटिनको उज्यालोमा’

काठमाडौं– पाल्पाको मदनपोखरामा जन्मिएकी सरस्वती ज्ञवालीलाई नजिकबाट चिन्नेले एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी अर्धाङ्गिनीको रुपमा चिन्छन् । शुक्रबारसम्म सरस्वतीको परिचय यहि नै थियो । तर शनिबारबाट भने उनको परिचय फेरिएको छ । एक राजनीतिज्ञको श्रीमती सरस्वती शनिवारबाट पुस्तक लेखिकाका रुपमा पाठकमाझ आएकी छन्।

उनले बाल्यकालदेखि हालको अवस्थासम्मलाई समेटेर लेखेको आत्मसंस्करण ‘लालटिनको उज्यालोमा’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ ।उनको पुस्तकलाई पूर्व सांसद डा. विन्दा पाण्डे, राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिना, प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य, लेखिका ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्मा र मन्त्री थममाया थापाले सार्वजनिक गरे।

पुस्तकको टिप्पणीकारसमेत रहेकी आयुक्त तिमल्सिनाले ज्ञवालीको पुस्तकभित्र नारीको वेदना मात्र नभई विद्रोह पनि रहेको बताइन् । ‘पुस्तकमा एउटी मात्र सरस्वती देखिएकी छन् । तर उनले आफूमार्फत हजारौं सरस्वतीको पीडालाई प्रस्तुत गरेकी छन्,’ उनले भनिन्, ‘पुस्तकमा उनको संघर्ष, विद्रोह, प्रेरणालगायतका विषय समेटिएका छन् । एउटा महिलाका लागि पुस्तक मार्गदर्शक बन्नेछ भने पाठकका लागि चासोको विषय बन्नेछ ।’ एउटा राजनीतिक गर्ने व्यक्तिको घर सम्हाल्ने जीवनसाथीको जीवन कस्तो हुन्छ भन्ने थाहा दिन पुस्तक उपयोगी हुने उनले बताइन्।

अर्की टिप्पणीकार पूर्वसांसद डा. पाण्डेले ज्ञवालीको पुस्तक पढ्दा आफ्नै जीवन लेखिएको हो कि भन्ने लागेको बताइन् । ‘पुस्तकको धेरै अंशमा मैले आफैंलाई पाएँ । पुस्तकले धेरै नारीको मन छुन्छ,’ पाण्डेले भनिन्, ‘पुस्तकको प्रत्येक पाठ पढ्दा मानिसहरुलाई जोश र जाँगर दिन्छ । सायदै त लेखिकाले आफैं लेखेको हुनाले पनि पुस्तकमा सत्यता पक्कै छ।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्णचन्द्र शर्माले साहित्यप्रति रुचि नराख्ने पाठकका लागि पुस्तकले अनिवार्य पढ्ने माहोल बनाउने दाबी गरे । ‘पुस्तकमा लेखिकाको जीवनीले आम पाठकलाई साहित्यप्रतिको रुचि अवश्य बढाउनेछ । लेखिकाले आफूलाई पुस्तकको केन्द्रविन्दुमा राखेर प्रस्तुत गर्नु नै पुस्तकको अब्बल पक्ष हो,’ उनले भने, ‘आत्मसंस्करणमा लेखिएका कुराहरु असत्य हुँदैनन् । त्यसकारण पनि यी विषयमा अध्ययन गर्न आवश्यक पनि छैन।’

लेखिका ज्ञवालीले लामो मेहनतपछि पुस्तक लेख्न पाउँदा खुसी लागेको बताइन् । ‘पुस्तकले एउटी नारीको अनेक स्वरुपमा बाँचिरहने जुझारु बिम्बलाई पाठकसामू उतारिदिने प्रयास गरेको छ,’ उनले भनिन्, ‘छोरी, बुहारी, पत्नी, आमाका साथसाथै समाजका अनेक भूमिकासँग एउटी राजनीतिक कार्यकर्ता कसरी अगाडि बढ्छे र उसको जीवन हरेक उत्तरदायित्वमा कसरी इस्पातको धार झैं तिखारिँदै जान्छ भन्ने कुरालाई पुस्तकमा पाठकले पाउनुहुनेछ ।’कार्यक्रममा परराष्ट्रमन्त्री तथा सरस्वतीका श्रीमान् प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, पर्यटन मन्त्री रविन्द्र अधिकारीलगायतको उपस्थिति थियो।

२८ उपशीर्षक रहेको पुस्तकको शुभारम्भ ‘लालटिनको उज्यालोमा’बाट सरस्वतीको शिक्षण पेसासँग जोडिएको रमाइलो क्षणसँगै पुस्तकको अन्त्य मस्तिष्क पक्षाघात भएकी २८ वर्षीया छोरी क्षितिजको जीवनलाई उज्यालोमा लिएको प्रसंगलाई प्रस्तुत गरिएको छ।ज्ञवालीले २०४० को दशक र त्यसपछिको पाल्पा, गुल्मीसहित त्यस क्षेत्र यात्राका क्रममा त्यहाँका नारीको अवस्था र तत्कालिन समयमा आफूले भोग्नुपरेका जागिरे र राजनीतिकर्मीको जीवनका यथार्थलाई पुस्तकमा प्रस्तुत गरिएको छ।

पुस्तकमा आफ्नो जिवनमा करिब एक दर्जन कार्यालयमा जागिर खाए पनि राजनीतिक पूर्वाग्रहका कारण कहिल्यै स्थायी हुन नसकेको पीडालाई पनि लेखिका ज्ञवालीले समेटेकी छन् । अक्षर क्रिएसनले प्रकाशन गरेको २ सय ४४ पृष्ठ पुस्तकको मूल्य ३ सय २० रुपैयाँ छ ।
 

प्रकाशित: ११ चैत्र २०७४ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App