८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘कान्स’मा सेल्फी खिच्न प्रतिबन्ध

पेरिस– फ्रान्सको कान्समा वर्षेनी भइरहने ‘कान्स फिल्म फेस्टिभल’ यो वर्षदेखि रेडकार्पेटमा कलाकारसँग सेल्फी लिन दर्शकलाई प्रतिबन्ध लगाइने भएको छ । फेस्टिभल प्रमुख थिएरी फ्रेमूले रेडकार्पेटमा सेल्फी लिँदा फिल्मको प्रिमियर अघि कलाकारमाथि दुव्यर्वहारसँगै कार्यक्रमको व्यवस्थापन बिग्रिने भएकाले फेस्टिभलको बैठकले सेल्फी लिन प्रतिबन्ध लगाएको बताए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थिएरीले सन् २०१५ मा पनि फेस्टिभलमा सेल्फीलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । उनले फिल्म हेर्न आउने दर्शकलाई पनि कलाकारलाई सही व्यवहार गर्न सल्लाह दिएका थिए । तर यसपटक भने सेल्फीमै प्रतिबन्ध लगाउने निर्णय लिएका छन् ।‘रेड कार्पेटमा आउने दर्शकका लागि कलाकारसँग सेल्फी लिन प्रतिबन्ध लगाइएको छ।

रेडकार्पेटमा सेल्फी लिने कामलाई रोक्न कस्तो उपाय अपनाउने भन्ने हामीलाई केही थाहा छैन,’ उनले भनेका छन्, ‘हामी प्रहरी पनि होइनौं । सेल्फी लिने मान्छेको उपस्थिति र अवस्थाबारे जानकार पनि छौं । तर पनि उनीहरूले सेल्फी लिएका कारण रेडकार्पेट अस्तव्यस्त बन्न थालेको छ । जसले गर्दा फेस्टिभलको गुणस्तरमा गिरावट आएको छ ।’ उनले फिल्मका कलाकार तथा टिमलाई यो प्रतिबन्ध फुकुवा हो या होइन् भन्ने चाहिँ केही खुलाएका छैनन् । यो फेस्टिभलमा हलिउडका स्टारले पनि सेल्फी लिने गर्दछन्।

थिएरीले फिल्मकर्मी कान्समा सेल्फी लिन नभई फिल्म हेर्न जाने गरेको बताए । ‘हाम्रो दायित्व भनेको फेस्टिभललाई मर्यादित र इज्जतिलो बनाउने हो । हामी रेडकार्पेटको माथिबाट रेडकार्पेटका गतिविधि नियालिरहेका हुन्छौं । तर दर्शक र कलाकारको सेल्फी होडबाजीले रेडकार्पेट नै अस्तव्यस्त बनेको पनि हेर्नुपरेको छ,’ उनले भनेका छन्।

उनले फिल्म समीक्षकलाई हुने समस्यालाई मध्यनजर गर्दै प्रेस स्क्रिनिङको समयलाई परिवर्तन गर्नुपर्ने मुद्दा पनि उठाएका छन् । फेस्टिभलमा प्रेस स्क्रिनिङ बेलुकाको रेडकार्पेट प्रिमियरभन्दा अघि नै राख्ने चलन परम्परादेखि नै चल्दै आएको छ । तर अब फिल्म समीक्षकलाई आधाभन्दा बढी फिल्म प्रिमियरको अघिल्लो दिन नै देखाउने व्यवस्था गरिएको उनले बताए । तर केही समीक्षकले थिएरीको यो कदमको विरोध पनि गरेका छन्।

कान्समा प्रदर्शनका लागि सूचीमा राखिएका केही पुराना धारका फिल्मप्रति समीक्षकले आलोचना गर्न थालेपछि त्यस्ता फिल्मले फेस्टिभलको भविष्यलाई असर पार्नसक्नेमा आयोजक सजग हुन थालेका छन् । थिएरीले कान्समा सहभागी हुन आउने फिल्म अनिवार्य रुपमा फ्रान्सेली थिएटरमा प्रदर्शन गर्नुपर्ने नयाँ नियम ल्याएको पनि बताए।
 

प्रकाशित: ११ चैत्र २०७४ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App