८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी हबल्दारसहित २ कोे विष सेवनले मृत्यु, १ गम्भीर

उदयपुर– प्रहरी हवल्दारसहित ३ जनाले एकैदिन विष सेवन गरेका छन्। विष सेवनबाट २ को मृत्यु भएको छ भने १ को अवस्था गम्भीर छ। विष सेवनबाट सदरमुकाम गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रहरी हवल्दार ३४ वर्षीय सुरेश हमालको मंगलबार बिहान मृत्यु भएको छ भने अर्का त्रियुगा नगरपालिका १० देउरीका गोपालबहादुर भुजेलको पनि विष सेवनबाट मृत्यु भएको छ।

हमालले घरायसी कारणले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम रानाले बताएका छन्। डिएसपी रानाका अनुसार त्रियुगा नगरपालिका ७ मोतिगडा स्थायी घर भएका हमाल सोमबार राति त्रिनपा ३ स्थित बसपार्क छेउमा विष सेवन गरी सिकिस्त अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई तत्काल परिवार र सशस्त्र प्रहरीको सहयोगमा जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरी विराटनगर पठाइए पनि मंगलबार बिहान चिकित्सकले मृत घोषित गरेको प्रहरी भनाइ छ।

पारिवारिक स्रोतका अनुसार सोमबार साँझ श्रीमतीसँग झगडा भएपछि अफिस जान्छु भन्दै निस्केका हमाल घरदेखि दुई सय मिटर उत्तर बसपार्कछेउमा बिष सेवन गरेको अवस्थामा मोटरसाइकलसहित लडेको स्थानीयले भेटेर उपचारार्थ अस्पताल लगेको तर बचाउन नसकिएको प्रहरीले जनाएको छ। सशस्त्र गुल्मपति डिएसपी माधब पौडेलका अनुसार हमाल घरायसी काम छ भन्दै केही दिनयता विदामा थिए। एक छोरा र छोरीका बाबु हमालको बाहिरकी केटीसँग प्रेम सम्बन्ध भएको खबर बाहिर आएपछि केही महिनायता श्रीमतिसँग मनमुटाव सुरु भएको छिमेकीको भनाइ छ।

अर्का विष सेवनपछि गम्भीर घाइते भएका देउरीका ५७ वर्षीय भुजेललाई जिल्ला अस्पतालमा प्राथमिक उपचार सम्भव नभएपछि बाहिर रेफर गरिएकोमा विराटनगरतर्फ लाँदालाँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनले पनि पारिवारिक विवादकै कारण विष सेवन गरेको प्रहरी भनाइ छ ।

विष सेवनबाटै घाईते भएका त्रियुगा नगरपालिका २ का १९ वर्षीय सुजन विकको विराटनगरमा उपचार भइरहेको छ। सोमबार राति नै विष सेवन गरेर गम्भीर घाइते भएका विकको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ। उनको पनि स्वस्थ्यस्थिति गम्भीर रहेको प्रहरीको भनाइ छ।

 

प्रकाशित: ७ भाद्र २०७३ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App