७ वैशाख २०८१ शुक्रबार
खेल

खेलाडी हितमा हुँदैनन् पदाधिकारी

काठमाडौं-रियो दी जेनेरियोका मैदानमा कुनै प्रभाव जमाउन नसकेको नेपाली टोली ब्राजिलबाट घर फर्किंदा पदाधिकारीहरू सबैभन्दा आलोचित भइरहेका छन्।

समुद्री बिच, पर्यटकीय ठाउँ तथा सपिङ मल घुम्नमै व्यस्त रहने तथा सेल्फी खिचाएर फेसबुकमा पोस्ट गर्न रमाउने खेल पदाधिकारीहरूमाथि खेलाडीलाई सफलताको स्वाद चखाउन कुनै सहयोग नगरेको आरोप पनि लाग्न थालेको छ।

विश्व स्तरका खेलमेलामा हुने गरेको कमजोर स्तरले यसपालि पनि निरन्तरता पाउँदा रियोको पोखरीमा शिरीष गुरुङ तथा एथलेटिक्सको ट्र्याकमा सरस्वती भट्टराईले बनाएको नयाँ राष्ट्रिय कीर्तिमान नै चर्चायोग्य उपलब्धि थिए । यस बाहेक बेलायतमा हुर्किएकी गौरिका सिंहले आफ्नै पारिवारिक सहयोगका भरमा सहभागिता जनाउँदा रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी भएर चर्चा बटुल्नु नेपालीले खुसी मान्नुपर्ने अर्को पक्ष थियो ।

आठ वर्षअघि छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने नेपालकै दोस्रो खेलाडी दीपक विष्ट नेपालीले खुसी मनाउने तरिकाबाटै सन्तुष्ट छैनन् । ‘२००४ मा संगीना (वैद्य) पदक जित्नका लागि ग्रिस ओलम्पिक गएकी थिइनँ । उनको पहिलो खेलमै विश्व च्याम्पियनसँग प¥यो । २००८ मा म पनि पदक जित्ने लक्ष्य लिएर नै बेइजिङ गएको थिएँ । दुर्भाग्य, मेरो पनि पहिलो खेलमै विश्व च्याम्पियनसँग प¥यो,’ नागरिकसँग दीपकले भने, ‘यसो भनेर हामीले एक्सक्युज लिनु हुन्न । तर अहिलेसम्म हामी खेलाडीलाई कसैले पनि पदक जित्न उत्साह दिएको छैन । यसपालि पनि हाम्रा खेलाडीलाई पदक जित्न रियो पठाइएको थिएन । पदाधिकारीहरूलाई सोध्ने हो भने उनीहरूले अनुभव लिनु नै ठूलो कुरा भएको भन्न लाज मान्दैनन् ।’

गौरिकाको चर्चामा नेपाली खेलुकद र खेलपदाधिकारीको कुनै योगदान थिएन । बेलायतमै बसोबास गर्ने उनी नितान्त परिवारको लगाव र साथका कारण १३ वर्षकै उमेरमा ओलम्पिकसम्म यात्रा गर्न सफल भएकी थिइन् । उनको सफलतामा स्वयं उनी, उनको परिवार र नेपाली समर्थकलाई गौरव गर्ने अधिकार भए पनि नेपाली खेलप्रशासकहरूले भने लाज मान्नुपर्ने सामाजिक सञ्जालहरूमा थुप्रै समर्थकले पोस्ट गरेका थिए ।

त्यसो त रियोमा नेपाली खेलाडीले पदक जित्ने सपनासम्म कसैले देखेका थिएनन् । यसअर्थमा शिरीष, सरस्वती र गौरिकाको सफलतालाई बोनसका रूपमा लिन सकिएला, तर नतिजा निरीह भइरहे पनि पदाधिकारीहरूको रियो घुमाई र फेसबुकमा पोस्ट गरिएका हसिलो मुहारका फोटोहरूले भने समर्थकमा आक्रोश भरेको छ ।

दीपकको विचारमा राष्ट्रिय कीर्तिमानको लक्ष्य बनाउनु नै गलत हो । ओलम्पिकमा कम्तीमा कांस्य पदक तथा एसियाली खेलकुदमा स्वर्ण पदकको लक्ष्य बनाउनुपर्ने उनले बताए । ‘अहिले पनि हामी राष्ट्रिय कीर्तिमानमा सुधार र कम उमेरको खेलाडी भएकैमा गौरव गरिरहेका छौं,’ उनले दुखेसो गरे, ‘गौरिका कान्छी खेलाडी हुनुमा नेपाली खेलकुदले गौरव गर्नुपर्ने कुनै कारण छैन । राष्ट्रिय कीर्तिमानमा सुधारका लागि ओलम्पिक जानुपर्दैन । त्यहाँ पदकका लागि जाने हो । अब पदकका लागि ओलम्पिक खेल्ने वातावरण बनाउनुपर्छ । पदक जितेमात्र खुसी हुनुपर्छ । अन्यथा कहाँ कमजोरी भयो भनेर त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्छ ।’

नेपाली खेलकुदका पदाधिकारीहरू खेलकुद र खेलाडीप्रति कहिल्यै गम्भीर नभएको सागका चार स्वर्णधारी दीपकको आरोप थियो । ‘पदाधिकारीहरू खेलाडीको हितमा केही गरौं भन्ने सोच्दैनन् । उनीहरू खेलाडीको सुविधाबारे सोच्नुभन्दा आफू कसरी रमाइलो गर्ने, देशविदेश घुम्ने जस्ता कुरामै केन्द्रित भइरहन्छन्,’ दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान बनाएका तेक्वान्दोका सुपरस्टार दीपक भन्छन्, ‘अरु देशले खेलकुद र खेलाडीलाई महŒव दिएका छन्, त्यसकारण सफलता पाइरहेका छन् । हामीकहाँ भने खेलाडी र खेलकुदभन्दा माथि पदाधिकारी हुन्छन् । त्यसैले सफलता पाउन गाह्रो भइरहेको छ ।’

राष्ट्रिय खेलकुद परिषद (राखेप) तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) र युवा तथा खेलकुद मन्त्रालय जस्ता नेपाली खेलकुदका ठूला निकायले चाहे नेपालले ओलम्पिकमा पदक जित्नु सम्भव भएको दीपकको दाबी छ । ‘हाम्रा पदाधिकारीहरूलाई विदेश घुम्न र सेल्फी खिचाएर फेसबुकमा पोस्ट गर्न मनपर्छ । उहाँहरूले त्यो गरे हुन्छ । साथमा खेलाडीका लागि सीमित व्यवस्थापन गरिदिए हामी आफै पाँच वर्षमा नेपाललाई ओलम्पिकमा पदक दाबेदारका रूपमा प्रस्तुत गर्नेछौं,’ उनले भने ।

दीपकका अनुसार तेक्वान्दोकै वर्तमान राष्ट्रिय टोलीका १० खेलाडीलाई चारवर्ष विशेष सुविधासम्पन्न तालिमको व्यवस्था गर्ने हो भने ओलम्पिकमा पदकका लागि प्रतिस्पर्धा गर्न सकिन्छ । संघले आफ्नो अन्तर्राष्ट्रिय माउ संस्थासँग विशेष तालिमको कोटा माग्ने, एनओसीले ओलम्पिक छात्रवृत्ति मिलाउने र राखेपले यातायात र सामान्य पकेट खर्चको मात्र व्यवस्था गरे त्यसलाई पुग्ने उनी बताउँछन् ।

नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा सहभागिता जनाउन थालेको थियो । ओलम्पिक सहभागिताको ५२ वर्ष बितिसक्दा अहिलेसम्मको उपलब्धि तेक्वान्दोबाट मात्र सम्भव भएको छ । १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिँदा विधान लामाले कांस्य पदक जितेका थिए । ओलम्पिक इतिहासमा त्यो पदकको कुनै आधिकारिकता नभए पनि नेपालले त्यो स्तरमा जितेको त्यही पदक एक्लो हो । त्यसपछि संगीनाले २००४ को ओलम्पिकलाई छनोट भएर अर्को इतिहास रचिन् । ओलम्पिकमा छनोट चरण पार गरेर सहभागि हुने उनी पहिलो खेलाडी बनेकी थिइन् । दीपकले २००८ मा संगीनाको उपलब्धिलाई निरन्तरता दिए । त्यसबाहेक नेपालले अहिलेसम्म ओलम्पिकमा सहभागितासमेत आफ्नो बलमा गर्न सकेको छैन ।

सहभागिताको ५२ वर्ष पूरा हुँदा नेपालले कुनै लक्ष्य नलिँदा समेत प्रत्येक संस्करणमा करोडौं रुपैयाँ खर्च गरेको प्रसंग कोट्याउँदै नतिजाका लागि खेल्न ढिलाइ गर्नु नहुनेमा उनले जोड दिए । ‘राज्यका लागि केही करोड रुपैयाँ भनेको ठूलो होइन । तर त्यसलाई व्यवस्थित रुपमा बर्सेनि खेलाडी तयार गर्न खर्चिने हो भने त्यो लगानीले एक दिन खेलमार्फत नै देशलाई विश्वमा चिनाउने छ,’ उनले भने।

प्रकाशित: ८ भाद्र २०७३ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App